युरोपेली मुलुक पोर्चुगलको लिस्बनमा शहरमा सञ्चालित लक्ष्मी ट्राभलले हवाई जहाजको नक्कली टिकट बेच्ने गरेको रहस्य खुलेको छ। सो ट्राभल एनआरएनए पोर्चुगल नेता बिक्रमजङ्ग कुँवरको भएको बताइएको छ ।
नेपाल फर्कनका लागि ठिक्क परेका दर्जनौँ यात्रुहरु विमानस्थलबाट फिर्ता हुन बाध्य भएपछि यस्तो खुलासा भएको हो।
ती यात्रुहरु आफ्नो लगेजसहित उत्साहित भएर विमानस्थल पुगेका थिए। तर बोर्डिङ पासका लागि टर्किस एयरको काउन्टरमा पुग्दा उनीहरुलाई टिकट नक्कली भएको भन्दै उनीहरुलाई फर्काइएको हो।
फर्काइएका ११ जनाले प्रति व्यक्ति ६२० युरो अर्थात नेपाली लगभग ७० हजार रुपैयाँ तिरेर टर्किस एयरलाइन्सको टिकट काटेका थिए।
भक्तपुर ३ घर भएका विजय धिमाल लगेज सहित विमानस्थल पुगेका थिए । उनको उडान ११:५ को थियो। विमानस्थलको काउन्टरमा पुगेपछि टिकट देखाउँदा नक्कली टिकट भएको भन्दै आफूलाई बोर्डिङ पास नदिइएको उनले गुनासो गरे ।

ट्राभल सञ्चालक
टिकट फर्जी भएको विमानस्थल कर्मचारीले जानकारी गराएपछि उनीसँगै गएका अन्य नेपाली यात्रुहरु समेत चकित परेर हतार हतार आफ्नो टिकट देखाएका थिए। अन्तत; सबैको टिकट फर्जी देखियो।
सोलु घर भएकी सोनु शेर्पाले भनिन्, 'युरोपमा पनि यस्तो हुने रहेछ, टिकटको पैसा लिने तर नक्कली टिकट दिने, हाम्रो मान्छे नेपालमा लिन आएका छन्, अब के भन्ने, पैसा पनि साथमा धेरै छैन, अब कता गएर बस्ने, के खाने।”
जहाजभित्र जानु पर्नेमा यतिबेला उनीहरुले लक्ष्मी ट्राभलको कार्यालय अगाडि आएर फर्जी टिकट देखाउँदै हो- हल्ला गरिरहेका छन्। विगतमा पनि यस्तै काण्डमा मुछिने गरेका कुँवर एनआरएनए पोर्चुगलका कोषाध्यक्षको भूमिकामा रहेका छन्। कुँवर हाल सम्पर्क बाहिर रहेका छन्।

