
नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा चालू विवादले नयाँ–नयाँ रूप लिँदैछ । संघीय र प्रदेश सभामा एमाले एक ढिक्का देखिएको छ भने पार्टीमा माधव पक्षले समानान्तर गतिविधि सञ्चालन गरिरहेका छन् ।
पार्टीमा हदैसम्मको अराजक र अनुशासनहीन गतिविधिमा सामेल भएपछि एमालेले अनुशासनको कारवाही गरेका नेता माधव नेपाल र उनका 'दास'हरूले सानातिना भेलाको आयोजना गरेर जिल्ला-जिल्लामा समानान्तर कमिटी गठन गरेका समाचार आइरहेका छन् ।
पार्टी एकता बचाउन भन्दै आयोजना गरिने त्यस्ता भेलामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको एकोहोरो विरोध र भर्त्सना गरिरहेका छन् । पार्टीको मूल नेतृत्व र नीतिको पक्षमा दृढतापूर्वक उभिएका एमालेका लाखौंलाख नेता-कार्यकर्तालाई 'केपीका दास', 'हनुमान', 'झोले', 'स्वार्थी', 'अवसरवादी'जस्ता तल्लो स्तरका गाली बर्साउँदै छन् । तर उनीहरूले आफ्नो नियतिको आकलनचाहिँ गर्न सकेका छैनन् ।
सोह्रौं शताब्दीमा विख्यात अंग्रेजी साहित्यकार क्रिस्टोफर मार्लोद्वारा लिखित 'डक्टर फस्टस' नामक वियोगान्त नाटकको प्रमुख पात्र 'डक्टर फस्टस'को नियतिजस्तै छ एमालेका निलम्बित नेताहरूको नियति ।
डक्टर फस्टसको कथा यस्तो छः डक्टर फस्टसले तन्त्र विद्या पढेको थियो । त्यही तन्त्रविद्यामार्फत ऊ मेफिस्टोफिलिस हुँदै लुसिफरको संगतमा पुग्यो । डक्टर फस्टस र लुसिफरको बीचमा एउटा सम्झौता भयो । २४ वर्षसम्म राक्षसहरूले डक्टर फस्टसलाई उसले चाहेको शक्ति, भौतिक र विषय सुखसुविधा उपलब्ध गराउने र २४ वर्षपछि उसको जीवन ती लुसिफरहरूलाई सुम्पनुपर्ने भयो ।
फस्टसले समकालीन राजाजस्तै शक्तिशाली भएको हेर्न चाह्यो । उनीहरूले त्यो इच्छा पुर्याइदिए । उसले पाइँदै नपाइने मौसममा अंगुरको झुप्पा माग्यो । उनीहरूले त्यो पुर्याइदिए । दश हजार वर्ष पहिलेकी विश्व सुन्दरी हेलेनसँग उसले मायाप्रीति गाँस्न चाह्यो । उसको त्यो अनौठो इच्छा पनि उनीहरूले जसोतसो पूरा गरिदिए ।
सम्झौताबमोजिम २४ वर्ष पुग्नै लाग्दा लुसिफरका मानिस उसलाई लिन आए । उसको त्यहीँ वियोगान्त भयो ।
मदन भण्डारीको रहस्यमय देहवसानपछि माधव नेपालले एमालेको महासचिव बन्न चाहे । पार्टीले बनाइदियो । पन्ध्र वर्ष लगातार महासचिव बनाइरह्यो । यो अवधिमा एमालेको प्रथम ९ महिने सरकारमा शक्तिशाली उप-प्रधानमन्त्री बनाइए । प्रथम संविधान सभामा दुई निर्वाचन क्षेत्रबाट शर्मनाक पराजयलगत्तै संविधानसभा सदस्य हुन चाहे । पार्टीले उनको माग पूरा गरिदियो । सोही अवधिमा करीब दुईवर्ष प्रधानमन्त्री बन्ने अवसर पनि पार्टीले नै जुटाइदियो ।
तर त्यतिले माधव नेपाललाई पुगेन । त्योभन्दा बढी प्राप्त गर्न आधुनिक जमानाका लुसिफर अर्थात प्रचण्डको शरणमा पुगे उनी ।
नेकपा(माओवादी केन्द्र)का सुप्रिमो प्रचण्डले हाल एमालेमा निलम्बित रूपमा रहेका माधव नेपाललगायतका नेताहरूसँग आफू डीप लभमा रहेको तर अदालतले छुट्याइदिएको गुनासो गरेका छन् ।
अचम्म यो छ कि प्रचण्ड जो हजारौंको वास्तविक मायाप्रेमलाई चकनाचुर पार्ने 'जनयुद्ध'का प्रमुख नायक हुन्, आज कसरी डीप लभ अर्थात गहिरो माया दर्साउन योग्य भए ? उनी कसरी माधव नेपालजस्तो कसैसँग हतपत्ती 'मायाप्रीति'मा नफस्ने व्यक्तिसँग डीप लभमा परे ? यो संगत कतै डक्टर फस्टस र लुसिफरको संगतजस्तो त हुने होइन ?
नेपाली जनता प्रचण्डको मायावी चरित्रसँग त राम्रै परिचित छन् । मायारूपी चरित्र सधैँ सँगै बस्ने खालको हुन्छ, मायावी चरित्र माया गरेजस्तो गरेर डस्ने खालको हुन्छ ।
हिजो माधव नेपालसँग नजिक रहेका कसैले पनि एमाले फुटाएर मायावी प्रचण्डको छातामुनि जान इन्कार गरेको सन्दर्भमा प्रचण्डको डीप लभले माधव नेपाललाई फ्लप बनाउनेबाहेक के नै होला र ? कुनैबेला प्रचण्डसँग डीप लभमा रहेका किरण, बाबुराम, विप्लव र देउवाको हालत पत्ला भएजस्तै त होला ।
अहिले माधव नेपाललगायतका निलम्बित नेताहरू केही समय शान्तपूर्वक आफ्ना गल्ती, कमी कमजोरीको रियलाइजेसन गर्नु, आत्मालोचना गर्नु र पार्टीलाई थप एकताबद्ध बनाउन पार्टीको मूल नेतृत्वसँग हातेमालो गरेर अघि बढ्नुको सट्टा समानान्तर पार्टी बनाउने, पार्टीभित्र पार्टीको अभ्यास गर्ने र आफ्नो निहीत अभिष्टका लागि हजारौं नेता-कार्यकर्ताको खुन, पसिना र बलिदानबाट बनेको पार्टीलाई तहस-नहस बनाउने बर्बादीको बाटोतर्फ अग्रसर भएका छन् ।
नोबल पुरस्कार विजेता फ्रेन्च साहित्यकार अल्फ्रेड कामुसको एउटा पात्र छ- सिसिफस । सिसिफसलाई एउटा श्राप थियो- समुन्द्रको किनारबाट चिप्लो ढुंगो बोकेर पहाडको टुप्पोमा पुर्याउनु पर्ने । सिसिफस बढो कष्टसाध्य पाराले चिप्लो ढुंगो बोकेर पहाडको टुप्पोमा पुर्याउँथ्यो । पहाडको टुप्पोमा पुग्नै लाग्दा ढुंगो चिप्लेर पहिलेकै ठाउँ समुन्द्रको किनारमा पुग्थ्यो । हरेक दिन सिसिफस त्यही काम गरिरहन्थ्यो ।
अहिले एमालेका निलम्बितहरूको नियति पनि सिसिफसको भन्दा भिन्न छैन । साम, दाम, दण्ड, भेद गरेर एमालेका केही कार्यकर्ता बटुलेर जिल्ला-जिल्लामा समानान्तर कमिटी बनायो, फेरि एमाले एक ढिक्का हुन छाड्दैन । पार्टी विभाजन गर्न न्वारानदेखिको बल लगायो, पार्टी विभाजन हुँदैन ।
खण्ड गर्दा पनि ओली नेतृत्वको एमाले कमजोर हुँदैन । प्रचण्ड, बाबुरामलाई खेताला बोलाएर एमाले कमजोर पार्न खोज्यो, हुँदैन । छिमेकी गुहार्यो, केही लाग्दैन ।
साविक नेकपा हुँदा शुरूदेखि नै विवादका कारण बैठक, भेला सम्मेलन, अधिवेशन, गोष्ठी हुन नसकेको अवस्थामा अहिले एमाले ब्युँतिएपछि यसको रफ्तार निकै बढेको छ ।
एमालेलाई महाधिवेशन लागिसकेको छ । कार्यकर्ताको तहमा तिरस्कृत गुटगत गतिविधि महाधिवेशनसम्म पुग्दा साम्य हुने र हाल गुट बनाउन लागेका केही नेताचाहिँ 'तेल पानी एकै पिना बाहिर' हुने स्थिति देखापरेको छ ।