
बिहीवार दिउँसो १२ बजेर ५७ मिनेटको समयमा कृष्ण आचार्यले आफ्नो फेसबूक वालमा एक तस्वीर शेयर गरे ।
तस्वीरमा दराज अनलाइनबाट सामान किन्दा महिलाको भित्री वस्त्र ‘ब्रा’ आएको देखाइएको थियो ।
उनले तस्वीरको क्याप्सनमा लेखेका थिए, ‘दराज एपबाट स्पिकर अर्डर गरेको महिलाले लगाउने ब्रा ल्याइदिसियो । म के गरुँ ?’
उनको यो स्टाटस केही समयमै भाइरल भयो ।
बुधवार आचार्यले दराज एपमार्फत फेनटेक गेमिङ स्पिकर अर्डर गरेका थिए । जसको मूल्य १ हजार ६६ रुपैयाँ राखिएको थियो ।
दराजले बिहीवार उनलाई सामान त डेलिभरी गर्यो तर महिलाले लगाउने ब्रा पठायो ।
स्पिकर अर्डर गर्दा ब्रा पाएपछि एकातिर अचम्मित बनेका उनले डेलिभरी ब्वाइलाई सामान फिर्ता लैजान भने । तर डेलिभरी ब्वाइले त्यो सामान आफ्नो नभएको भन्दै फिर्ता लान मानेनन् ।
लोकान्तरसँग आचार्यले भने, ‘उनले सामान फिर्ता त गरेनन् तर ढुक्कका साथ कम्पनीले नै आफूलाई सोही सामान पठाएको बताए ।’
डेलिभरी ब्वाइले सामान फिर्ता नलगेपछि तत्कालै उनले कम्पनीको बेवसाइटमा फोन नम्बर खोजे, तर भेटेनन् । पछि फेसबूकबाट कम्पनीलाई फोटोसहित म्यासेज गरे ।
दराजले अटोमेटिक सिस्टममार्फत म्यासेज पठायो, तर थप रेस्पोन्स गरेन । केही समयमै उनको सामान फरक परेको सामाजिक सञ्जालमा भाइरल भयो ।
दराज अनलाइनमा कम्पनीको सम्पर्क नम्बर नभेटेपछि उनले इन्क्वाइरी नम्बर १९७ मा फोन गरी दराजको नम्बर मागे ।
आचार्यले लोकान्तरसँग भने, ‘फोन गरेँ, सामानको बेलिबिस्तार लगाएपछि उताबाट सरी त भने तर सामान फिर्ता गर्न प्रक्रियामा आउनू भने ।’
सामान किन्दा दराजले गर्ने लापरवाही यत्तिमै सीमित छैन र यो पहिलोपटक पनि हैन ।
आचार्यले नै दराजबाट यसअघि पनि सामान अर्डर गर्ने गरेका थिए ।
आचार्य भन्छन्, ‘यसअघि पनि सामान अर्डर गर्दा सामान नपाएपछि एक महिना लगाएर रिफन्ड पाएको थिएँ ।’
उनको पर्चेज कोड २०२२१४२२७१५२०९८ रहेको छ ।
****
यो घटना प्रतिनिधि घटना मात्रै हो ।
दराज अनलाइनले उपभोक्तामाथि यसरी नै चरम लापरवाही गर्ने गरेको पाइएको छ ।
लोकान्तरसँगको सम्पर्कमा आएका अर्का एक उपभोक्ताले पनि दराज अनलाइनले सामान फिर्ता नगर्ने र गरे पनि धेरै नै समय झुलाएपछि मात्रै रकम फिर्ता गर्ने गरेको बताए ।
उनले भने, ‘हामीलाई दराजले झुलाउने गरेको छ, अनलाइनमा कुनै पनि ठाउँमा उसको फोन नम्बर समेत राखेको छैन, हामीले फोन गर्ने ठाउँ समेत पाउँदैनौं ।’
उपभोक्ता अधिकारकर्मीहरूले दराज अनलाइनले पटक–पटक उपभोक्तामाथि लापरवाही गर्ने गरेको पाइएको बताउँदै राज्य संयन्त्रको बेवास्ताका कारण यस्तो भइरहेको दाबी गरेका छन् ।
उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ जसले जे गरे पनि हुने भन्ने भएकाले यस्तो भइरहेको टिप्पणी गर्छन् ।
लोकान्तरसँग उनले भने, ‘यहाँ राज्य संयन्त्रले नै गल्ती गर्नेलाई यथेष्ट कारवाही गर्दैन, त्यसकारण यस्ता कम्पनीहरूले उपभोक्तामाथि मनलाग्दी गर्छन् ।’
उनले दराज अनलाइनले यसअघि पनि धेरै नै लापरवाही गरेको बताउँदै उपभोक्ता अधिकारका लागि सरकारी संयन्त्रले बलियो कदम चाल्नुपर्नेमा जोड दिए ।
दराज भन्छ– प्रक्रिया अनुसार चल्छौं
उपभोक्तामाथि चरम लापरवाहीको आरोप लागेको दराज कम्पनीले आफूहरूले गल्ती गरेको बताएको छ ।
लोकान्तरसँग बोल्दै दराजका एक कर्मचारीले गल्ती भएको भएपनि भेरिफाइका लागि समय लाग्ने जनाए ।
दराजले सामान फिर्ताका लागि आफ्नै अफिसमा सामान बोकेर आउनुपर्ने समेत बताएको छ ।
लोकान्तरसँग दराजका एक कर्मचारीले भने, ‘तपाईंले पुतलीसडकको स्टार मलमा रहेको हाम्रो कार्यालयमा सामान छाडिदिनुपर्ने हुन्छ, अनि मात्रै हामी छानबिनको प्रक्रियामा जान्छौं ।’
ती कर्मचारीले सामान फिर्ता गरेपनि तत्कालै रकम फिर्ता गर्न नमिल्ने बताए । उनले प्रक्रियाअनुसार चल्नुपर्ने बताउँदै १० दिनसम्ममा रकम फिर्ता गरिदिने बताए ।
के भन्छ विभाग ?
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७ दिन भित्रमा सामान फिर्ता नलिए र रकम फिर्ता नदिए दराजलाई कारवाही गरिने बताएको छ । तर कारवाहीका लागि ७ दिने प्रक्रिया भने लाग्ने विभागको भनाइ छ ।
विभागका निर्देशक सागर मिश्रले लोकान्तरसँग भने, ‘७ दिनभित्र उसले सामान फिर्ता नलिएमा र रकम फिर्ता वा मागेअनुसारको सामान उपलब्ध नगराएमा मात्रै कारवाही गर्ने अधिकार हुन्छ, ७ दिन भित्र सम्बोधन नभए कारवाही प्रक्रियामा जान्छौं ।’