०२ असार २०८३, मंगलबार

मेलम्चीस्थित इन्द्रावती नदीमा रोकियो अवैध उत्खनन्

स्थानीय भन्छन्– कृषकको मायाले भन्दा पनि उनीहरूको स्वार्थ नमिलेर होला
बैशाख २४, २०७८
मेलम्चीस्थित इन्द्रावती नदीमा रोकियो अवैध उत्खनन्

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित इन्द्रावती नदी आसपास सञ्चालनमा रहेका क्रसर उद्योगहरूले गर्दै आएको अवैध उत्खनन् तत्कालका लागि रोकिएको छ ।

नगरपालिकाले आज पत्र संख्या २०७७/०७८ को चलानी नं. २२३४ को पत्रमार्फत भोलि शनिवार बिहान ६ बजेबाट लागू हुने गरी नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा रोक लगाएको हो ।

नगर प्रमुख डम्बरबहादुर अर्यालको हस्ताक्षरसहितको विज्ञप्तिमा मेलम्ची नगरपालिकाभित्र पर्ने १० वटा क्रसरले गर्दै आएको अवैध उत्खनन् रोक्ने निर्णय गरेको भनिएको छ ।  

नगरपालिकाभित्र सञ्चालित मापदण्डविपरीतका तीनपिप्ले निर्माण सेवा, गंगा इन्द्रावती क्रसर उद्योग, मेलम्ची फट्केश्वर इन्द्रावती स्टोन प्रा.लि, जाल्पा इन्फ्रास्ट्रक्चर क्रसर उद्योग, पाल्चोकीमाई रोडा ढुंगा उद्योग, पाल्चोकीमाई इन्फ्रास्ट्रक्चर प्रा.लि, रक्तमाला रोडा ढुंगा उद्योग, सोना क्रसर उद्योग र मेलम्ची बालुवा प्रशोधन प्रा.लि गरी १० वटा क्रसर उद्योगलाई मेलम्ची, इन्द्रावली र सिन्धुखोला नदी क्षेत्रमा मेशिनरी औजारको प्रयोगबाट नदीजन्य पदार्थ उत्खनन् र संकलनमा रोक लगाएको हो ।  

मेलम्ची नगरपालिका अन्तर्गत रहेका सबै क्रसर उद्योगहरूले नगरपालिका क्षेत्रको इन्द्रावती, सिन्धुखोला तथा मेलम्ची नदी क्षेत्रबाट मेसिनरी औजार (स्काभेटर) को प्रयोग गरी ढुंगा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खनन गर्दै आइरहेकोमा हाल विभिन्न क्रसर उद्योगबाट संकलन भएको नदीजन्य कच्चा पदार्थको मौज्दात परिणामलाई समेत आधार मान्दै नदीजन्य कच्चा पदार्थ उत्खनन् गर्ने कार्य बन्द गर्ने निर्णयमा भनिएको छ ।

नगरपालिकाको स्थानीय अनुगमन समितिले चालू आर्थिक वर्षमा नगरपालिकाभित्र भएको अवैध उत्खनन्को दुईपटक अनुगमन गरेको थियो । 

गत फागुन १७ गते नगरपालिकाले गरेको अनुगमनमा मापदण्डविपरीत उत्खनन् गर्ने क्रसर उद्योगहरूलाई कुनै कारबाही नै नगरी सचेत मात्रै गराउने निर्णय गरेको थियो । 

अवैध उत्खनन् गर्ने क्रसरलाई नगरपालिकाले कारबाही नगरी समेत मात्रै गराएकाले क्रसर उद्योगहरूले मापदण्ड विपरीत थप अवैध उत्खनन् गरेको थिए । 

अनुगमनपछि नगरपालिकाले मापदण्ड विपरीत उत्खनन् गरेको भेटिदा समेत कारबाही नगरी सचेत मात्रै गरको कारण पनि क्रसर उद्योगहरूले थप अवैध उत्खनन् गर्ने गरेको स्थानीयको आरोप छ ।

त्यस्तै २०७८ वैशाख १६ गते मेलम्ची नगरपालिकाका मयेर डम्बर अर्याल संयोजक भएको स्थानीय अनुगमन समितिले नगरभित्रको क्रसर उद्योगले मापदण्ड पुरा गरी उत्खनन् तथा संकलन गरे/नगरेको अनुगमन गरेको थियो । 

उक्त अनुगमन पछि बगरमा अवैध पोखरी बनाएको, मापदण्ड पुरा नगरी अवैध उत्खनन् गरेको भन्दै ए कोन क्रसर एग्रिगेट प्रा.लि, मेलम्ची फट्केश्वर ईन्द्रावती स्टोन प्रा.लि, लाई ५० हजार जरिवाना भराने निर्णय गरेको थियो ।

साथै मापदण्डविपरीत अवैध खाल्डो बनाउने तीनपिप्ले निर्माण सेवा, सोना क्रसर उद्योग, जाल्पा इन्फ्रास्ट्रक्चर क्रसर उद्योग, गंगा इन्द्रावती क्रसर उद्योग, रक्तमाला रोडा ढुंगा उद्योग, पाल्चोकीमाई रोडा ढुंगा उद्योग र पाल्चोकीमाई इन्फ्रास्ट्रक्चर प्रा.लिलाई तत्काल खाल्डो पुर्न निर्देशन दिएको थियो । 

दोस्रो चरणको अनुगमनपछि मेलम्ची नगरपालिकाले उत्खनन् तथा संकलनमा रोक लगाएको हो । 

क्रसरको कारण गुनासैगुनासा 

अवैध ढंगले सञ्चालनमा आएर नदीजन्य पदार्थको दोहन गरिरहेका क्रसर उद्योगका कारण मेलम्ची नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ मा सिँचाइमा बाधा पुगिरहेको छ । सिँचाइ कुलोहरूमा पानी चढ्दैनन् ।

कृषकका खेतबारीमा बालीलाई नै नस्ट गर्ने गरी ढुंगा, रोडा र बालुवा थुप्रिएका छन् । साँधमै थुप्रिएका रोडा, ढुंगा, बालुवाका कारण आसपासमा पनि बाली प्रभावित हुने गरेको छ । 

हेलम्बु राजमार्गसँगै जोडिएका क्रसर उद्योगका कारण सडक नै भत्किने खतरा छ  । वातावरण प्रदूषण र ध्वनी प्रदूषणका कारण स्थानीय विभिन्न किसिमका सास्ती भोग्न बाध्य छन् ।  

क्रसरका कारणले झेल्नुपरेको समस्याको बारेमा मेलम्ची नगरपालिकाका प्रमुख, जिसस प्रमुख, जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो गरेपनि सुनुवाइ हुने गरेको थिएन । 

लोकान्तरसँग कुरा गर्दै एक स्थानीयले भने अहिले खै केही स्वार्थ मिलेन होला त्यसैले क्रसर बन्द गरे ।

‘हामीले पटक–पटक गुनासो गर्दा नसुनेझैँ गर्थे । हाम्रो मायाले भन्दा पनि उनीहरूको स्वार्थ बाझिएकाले बन्द भएको होला,’ ती स्थानीयले भने ।

क्रसर उद्योगहरूका कारण मेलम्ची बजारकै अस्तित्वसमेत संकटमा पर्ने अवस्था आएको छ । बजारको अस्तित्व बचाउन पनि अवैध उत्खनन् रोकिनुपर्ने स्थानीय प्रकाश श्रेष्ठले बताए । 

salt training

कमेन्ट गर्नुहोस्