०२ असार २०८३, मंगलबार
कोरोना कहर

रोकिएन अक्सिजन अभावको समस्या : पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक रातमै सुत्केरीसहित ७ संक्रमितको मृत्यु

जेठ १४, २०७८
रोकिएन अक्सिजन अभावको समस्या : पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक रातमै सुत्केरीसहित ७ संक्रमितको मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावमै गए रातिदेखि हालसम्म ७ कोरोना संक्रमितको ज्यान गएको छ ।

गण्डकी प्रदेशमा सरकारी तहको यो सबैभन्दा ठूलो अस्पताल हो । 

यस क्षेत्रको ठूलो अस्पतालमै अक्सिजन अभावमा बिरामीले ज्यान गुमाउनु परेपछि पोखरा क्षेत्रमा अक्सिजनको चर्को अभावले सन्त्रास फैलिएको छ । 

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड वार्डका फोकल पर्सन डा. शरद्चन्द्र बरालले भने, ‘गएको २/३ दिनदेखि बिरामीलाई एक्कासी हाइ फ्लो अक्सिजन लगाउनुपर्दा अभाव हुन गएको हो । हामीहरू जोहो गर्ने कोसिसमै छौं ।’ अस्पतालअनुसार सुत्केरीसहित ७ जनाको ज्यान गएको जनाइएको छ । 

‘हामीहरूसँग रहेका ९ वटा हाई फ्लोमध्ये १/२ बाहेक सबै प्रयोग भए । त्यसरी अहिलेसम्म हाई फ्लो प्रयोग भएको थिएन । हाई फ्लोले धेरै अक्सिजन खपत गर्छ । करिब ६० देखि ८० लिटर प्रति मिनेटमै युज गर्छ,’ डा. बरालले भने, ‘सामान्य बिरामी भएको भए १५ लिटरले पुग्थ्यो । हाइ फ्लोमा राख्ने वित्तिकै एकजना बिरामीलाई १ घण्टा पनि एउटा सिलिन्डरले धान्दैन । एक दिनमा २४ सिलिन्डर त एउटै बिरामीलाई जाने भो । यसरी ७ जना बिरामीलाई एक दिनमा १६८ सिलिन्डर खपत हुने गरेको छ ।’

‘गए रातिदेखि माग उच्च हुँदा समयमै आपूर्ति हुन नसकेको हो । घरिघरि दबाव महसुस भएको छ । तैपनि यताउती गरेर म्यानेज गरेका छौं । को–अर्डिनेटर गर्ने भन्नेबारे परामर्श भइरहेको छ,’ डा. बरालले भने । 

अस्पतालको कोरोना वार्डमा हाल ७० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । इमर्जेन्सी वार्डमा दिनमा १० देखि १५ जना भर्ना हुन्छन् । 

अस्पतालमा अहिलेसम्म पनि कुनै अक्सिजन प्लान्ट स्थापना गरिएको छैन । पोखरा क्षेत्रमा निजी स्तरमा २ मात्र अक्सिजन प्लान्ट उद्योग संचालित छन् । एउटा अक्सिजन उद्योगले ४५ मिनेटमा २५ भन्दा बढी सिलिन्डर भर्न सक्दैन ।

६ हजार लिटर क्षमताको सिलिन्डरमा अक्सिजनको मात्रा ४८ सय देखि ५ हजार लिटरमात्र हुन्छ । यसरी दिनमा एउटाले १४०० भन्दा बढी सिलिन्डर भर्न सक्दैनन् । 

गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय हाराहारी पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्