१० साउन २०८३, आइतबार
बजेट

निजी क्षेत्रको नजरमा बजेट : आर्थिक पुनरुत्थानमा सकारात्मक, तर कार्यान्वयनमा आशंका

निजी क्षेत्रको नजरमा बजेट : आर्थिक पुनरुत्थानमा सकारात्मक, तर कार्यान्वयनमा आशंका

आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई निजी क्षेत्रले सकारात्मक रूपमा हेरेका छन् । यद्यपी बजेट कार्यान्वयनको पक्षमा भने शंका व्यक्त गरेका छन् । सरकारले स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा उपलब्ध गराउने कुरा सकारात्मक रहेको उद्योगी व्यवसायीहरूले बताएका छन् । 

यस्तै आर्थिक पुनरुत्थानका लागि उद्योगधन्दालाई सहज हुने नीति ल्याएको भन्दै व्यवसायीहरूले बजेटको स्वागत गरेका छन् । यद्यपी बजेट कार्यान्वयन हुनेमा भने आशंका व्यक्त गरेका छन् । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट सकारात्मक र सबैलाई चित्त बुझाउने गरी आएको उद्योगी व्यवसायीहरूको तर्क छ । 

कोरोना महामारीका विरुद्धमा जुट्नका लागि बजेट आएको भएपनि कृषि क्षेत्रलाई भने अझै हेला गरिएको कतिपय उद्यमीहरूले गुनासो गरेका छन् । 

कसले के भने ? 
चन्द्र ढकाल– वरिष्ठ उपाध्यक्ष – नेपाल उद्योग वाणिज्य महासंघ
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनु राम्रो हो । यस्तै पर्यटन क्षेत्रमा अगाडि बढाउने गरी कार्यक्रम आएको छ । विदेशीका लागि भिसा  फ्री, आन्तरिक पर्यटनमा कर्मचारीहरूलाई घुम्न बिदा दिने जस्ता कार्यक्रमहरूले नीतिगत रुपमा सम्बोधन गरेको छ । 

विद्युतमा छुट, स्टार्टअप व्यवसाय जस्ता कुराहरू उद्योग वाणिज्य महासंघको माग नै थियो । यसलाई सम्बोधन गर्ने प्रयास गरिएको छ । सरसर्ती हेर्दा बजेट सकारात्मक छ । तर कार्यान्वयन भने अनिवार्य गर्नुपर्छ । यो बजेट साँच्चै कार्यान्वयनमा आयो भने राम्रो हुन्छ । 

पवन गोल्यान – कृषि उद्यमी एवम् अध्यक्ष गोल्यान ग्रुप
बजेटको पूर्णपाठ एकदमै लम्ब्याई चौडाइ छ । कार्यान्वय पक्ष भने निकै चुनौतिपूर्ण छ । यो सरकार वा अब आउने सरकारले कसरी कार्यान्वयन गर्छ भन्ने प्रश्न नै मुल कुरा हो । स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा उपलब्ध गराउने कुरा सकारात्मक रहेको छ । 

कृषि क्षेत्रलाई हेर्ने हो भने म सन्तुष्ट छैन । नीति र कार्यक्रम त राम्रै देखिन्छ । तर हरेक बजेट कार्यान्वयन भएको देखिँदैन । आयातमा भन्सार बढाइएन । २ वर्षमा कृषिमा आत्मनिर्भर हुने भनिएको छ तर कसरी हुने ? केही व्यवस्था छैन । जहिले नि भनिन्छ तर कार्यान्वयन कै समस्या देखिन्छ । कृषिमा बजेट बढेको छ तर म धेरै खुसी छैन । बजेटमा कृषिलाई हेलाँ गरिएको छ ।

भवानी राणा, निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

बजेटले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई दिएको छ । यो सकारात्मक कुरा हो । यस्तै पर्यटन क्षेत्र र अन्य क्षेत्रहरूमा पनि उद्योगहरू सरह विद्युतमा प्राथमिकता र छुट पाउने भनिएको छ, यो निकै सकारात्मक पक्ष हो । 

सांसद विकास कोष खारेज गरिएको छ, यो सबैभन्दा राम्रो कुरा हो । यस्तै कृषिमा पहिलाकै कुराहरूलाई निरन्तरता दिएको छ भने उद्योग क्षेत्रमा कर सम्बन्धि प्रभावित क्षेत्रलाई केही सुविधा दिएको छ । बजेट सकारात्मक भएपनि कार्यान्वयनमा चुनौति देखिन्छ । हालसम्मका बजेटमा समेटिएका कतिपय कुराहरू कार्यान्वयन भएको छैन । यसमा भने शंका छ । कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्छ । 

सतिश कुमार मोर – अध्यक्ष– नेपाल उद्योग परिसंघ

महामारीका बेलामा पूर्ण बजेट नै आएको छ । यसलाई के भन्ने ? बजेट भाषण सुन्दा स्टार्टअप व्यवसायीलाई समेटिएको छ, यो राम्रो शुरुवात हो । विद्युतमा छुट पनि हाम्रो ठूलो माग थियो । यसलाई सम्बोधन गरेको छ । 
समग्रमा बजेट सकारात्मक छ । यद्यपी बजेट महत्वाकांक्षी छ ।

भुवन कुमार दाहाल, सीईओ सानिमा बैंक तथा अध्यक्ष नेपाल बैंकर्स एसोसिएसन
प्रत्येक अर्थमन्त्री र अर्थमन्त्रालयको टिमलाई आफ्नो बजेट राम्रो बनाउँ भन्ने हुन्छ । उहाँहरू कस्सिएर लाग्नुभएको छ । उहाँले राख्नुभएको साँढे ६ प्रतिशतको आर्थिक वृद्धि निकै नै चुनौतिपूर्ण छ । मेरो एउटै सुझाव, कार्यक्रमहरू धेरै आएका छन्, अर्को सार उपलब्धीको प्रगति विवरण सुन्न पाइयोस्, शुभकामना छ । 

अर्को कुरा, उद्योगधन्दालाई जति सहुलियत दिनुभएको छ, त्यसले आर्थिक पुनरुत्थानलाई राम्रो हुन्छ । हाम्रो सुझाव सम्बोधन भएको छैन । करको दर सबैमा एकै किसिमको होस् भन्ने माग थियो, त्यो भएको छैन । अहिले कोभिडको बेला सरकारलाई राजश्वको पनि उत्तिकै आवश्यकता छ, अर्को साल यस्तो हुन्छ मात्रै भनिदिएको भए आनन्द आउँथ्यो । 

salt training

कमेन्ट गर्नुहोस्