कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि गरिएको निषेधाज्ञामा महानगरीय प्रहरी परिसर ललितपुरले लागुऔषध कारोबारी, कालोबजारी गर्नेहरुलाई कानूनको दायरामा ल्याएको छ ।
ललितपुर भलिबल क्लबका टिम म्यानेजर लागूऔषध सहित पक्राउ पर्नु पछिल्लो उदाहरण हो ।
करिब ३ महिना अघिको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले पिछा गरेर अनुसन्धानपछि ललितपुरका भलिबल क्लबका म्यानेजर अनुप श्रेष्ठलाई पक्राउ गरेको परिसरकी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् ।
‘काँचो सूचनाको आधारमा ३ महिना लामो अनुसन्धानपछि उनलाई आइतवार पक्राउ गरेका हौं,’ एसएसपी बज्राचार्यले लोकान्तसँग भनिन्,‘उहाँको अर्को परिचय समाजसेवीको रुपमा परिचित छ ।’
समाजसेवा र क्लबको आडमा रहेर विद्यालय बालबालिका र क्लबमा खेल्ने खेलाडीलाई लागुऔषध बिक्री गरेको हुनसक्ने भएकाले अनुसन्धान गरिरहेको बज्राचार्यले बताइन् ।
प्रहरीले अनुपसँगै अन्य दुई जना अम्रिता खड्का र परदु गुरुङलाई पक्राउ गरेको छ ।
फाेटाे भिडियाे : विश्वास खनाल
प्रहरीले अनुपको कोठाबाट ५० ग्राम अवैध लागुऔषध एम मेथावाईन (आईस) त्यसलाई जोख्ने डिजिटल तराजु, अन्य केही लागुऔषध र ५० हजार रुपैया बरामद गरेको थियो ।
बज्राचार्य ललितपुर प्रहरी प्रमुख भएर गएलगत्तै ललितपुरमा हुने गरेको लागुऔषध कारोबारलाई निरुत्साहित पार्न अभियान नै संचालन गरेकी छिन् ।
ललितपुर प्रहरीले ह्यान्ड स्यानिटाइजरमा केमिकल मिसाएर बिक्री वितरण गर्ने कारखाना समेत नियन्त्रणमा लिएको छ ।
लकडाउनको समयमा घरमा हुने घरेलु हिंसा, चोरी न्यूनिकरणका लागि २४ सै घण्टा प्रहरी कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहेर काम गरिरहेको छ ।
अक्सिजनको अभाव भएसँगै परिसरले जिल्लामा लुकाएर राखेका अक्सिजन र कालो बजारीलाई समेत नियन्त्रणमा लिएको एसएसपी बज्रचार्यले बताइन् ।
‘हामीले अक्सिजनको अभाव भएसँगै घरमा लुकाएर राखेका र कालोबजारी गर्नेहरुलाई कानूनी दायरामा ल्याएका छौं,’ एसएसपी बज्राचार्यले लोकान्तरसँग भनिन्,‘हामीले एउटा सिलिन्डरलाई ४१ हजारमा बिक्री गर्न लागेको अवस्थामा ३ जनालाई पक्राउ गरेर कालोबजारी ऐन अन्तरगत मुद्धा समेत दायर गरेका छौं ।’
पछिल्लो समयमा कोरोना संक्रमणका बिरामीहरु र आफन्तहरूलाई चर्को शुल्क लिएको भन्ने सूचना आएकाले यसलाई नियन्त्रण गर्नको लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको एसएसपी बज्राचार्यले बताइन् ।
‘हामीलाई ट्याक्सीले बिरामीका आफन्तबाट चर्को भाडा लिएको भन्ने सूचना आएको त्यसलाई नियन्त्रण गर्नको लागि सादा पोसाकमा अस्पतालहरुमा प्रहरी खटाएका छौं,’ एसएसपी बज्राचार्यले लोकान्तरसँग भनिन् ।
उनका अनुसार, कोरोना भाइरस संक्रमणबाट आफ्ना कर्मचारीलाई जोगाउनको लागि छुट्टै ब्यारेकको व्यवस्था गरेको छ । यसका साथै मातहतका सबै प्रहरी कर्मचारीलाई खोप समेत लगाइसकिएको उनले बताइन् ।