अमेरिकाको टेक्ससमा १३ वर्षीया छोरी जुलीको भेष धरेर स्कूल गई क्लास लिने आमालाई प्रहरीले पक्राउ गरेको छ ।
उनले विद्यालयमा सुरक्षा प्रबन्ध कमजोर रहेको खुलासा गर्न उक्त स्टन्ट गरेको बताएकी छन् ।
केसी गार्सिया नामक ३० वर्षीया महिलालाई शुक्रवार आपराधिक प्रवेश, सरकारी दस्तावेजमा छेडखानी र ट्राफिक नियम उल्लंघनका केसमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले छोरीको विद्यालयमा गएर भिडियो खिचेकी थिइन् र त्यो भिडियो भाइरल भयो ।
भिडियोमा गार्सिया विद्यालय भवनमा हिँडेको देखिन्छ । विद्यालयको नाम गार्सिया–अनरिकेज मिडल स्कूल हो ।
उनी विद्यालयमा हिँड्दा कसैले पनि वास्ता गरेको थिएन । उनलाई कक्षाकोठा खोज्न एकजनाले सहयोग गरेको सुनिन्छ ।
गणितको कक्षामा शिक्षकले उनलाई जुली भनी बोलाएको सुनिन्छ ।
सान एलिजारियो स्कूल्स सुपरिनटेन्डेन्ट जीनी मेजा–चाभेजले विद्यालयका सुरक्षा उपायहरूको समीक्षा र मूल्यांकन समय समयमा हुने गरेको बताइन् ।
गार्सिया ७ हजार ८ सय ८ डलर धरौटी तिरेर जेलबाट रिहा भइन् तर विद्यालयहरू सुरक्षित नरहेको आफ्नो दाबीमा कायम रहेको बताइन् ।