२० असार २०८३, शनिबार

प्राधिकरणलाई 'हाराबारा' खेलाउँदै काग : नांगो तारमा बसिदिँदा झ्याप्पझ्याप्प जान्छ बत्ती !

प्राधिकरणलाई 'हाराबारा' खेलाउँदै काग : नांगो तारमा बसिदिँदा झ्याप्पझ्याप्प जान्छ बत्ती !

मंगलवार बिहान ६ बजेर ५८ मिनेट जाँदा बल्खु पुलदेखि बागडोल क्षेत्रमा अकस्मात् बिजुली आपूर्ति रोकियो । 

मर्मतका लागि भन्दै विद्युत प्राधिकरण पुल्चोकको मर्मत टोली त्यस क्षेत्र पुग्दा विद्युत्को तारमा काग मरेको पाइयो । 

‘विद्युतको नाङ्गो तारमा काग बसेपछि लाइन सर्ट हुने र बत्ती नआउने समस्या भएको थियो,’ नेपाल विद्युत् प्राधिकरण पुल्चोकका एक कर्मचारीले लोकान्तरसँग भने । 

यद्यपि यो समस्या छिट्टै पहिचान भएकाले धेरै बेर बत्ती जान पाएन । बिहान ७ बजेर ३ मिनेटमै बत्ती आएको नोलाइटमा रेकर्ड छ । 

तर, विद्युत् जाने क्रम भने रोकिएन । 

रिङरोड फिडर अर्थात् बल्खु पुल पारीदेखि बागडोल क्षेत्रमा पुनः बत्ती गयो । करीब एक घण्टाको मर्मतपछि त्यस क्षेत्रमा बिहान ८ बजेर ५ मिनेटमा बत्ती आएको प्राधिकरण पुल्चोकका इञ्चार्ज जितेन्द्र मण्डलले लोकान्तरलाई जानकारी दिए । 

तर, यस बीचमा अन्त पनि विद्युत गइसकेको थियो । रिङरोड क्षेत्रमा बत्ती गएकै समयमा यता कुपण्डोल क्षेत्रमा पनि बत्ती गयो । यस क्षेत्रमा बिहान ७ बजेर ४५ मिनेटमा विद्युत् अवरुद्ध भएको नोलाइटका एक कर्मचारीले लोकान्तरलाई बताए ।  

बत्ती जानुको कारण के थियो रु ती कर्मचारीले भने, ‘पाटनढोका नजिकैको पोलमा विद्युत्को तारमा काग बसेछ, त्यसपछि विद्युत शर्ट भयो ।’

९ बजेर ३० मिनेटमा त्यस क्षेत्रमा बत्ती आयो । तर यस क्षेत्रमा बत्ती जाने क्रम भने रोकिएन ।

यस्तै सवा ९ बजे पाटन ढोकामा पनि विद्युत् कटौती भयो । 

यस क्षेत्रमा भने जम्पर गएकाले विद्युत् अवरुद्ध भएको इञ्चार्ज मण्डलले जानकारी दिए । 

यी त प्रतिनिधि घटना मात्रै हुन्  । 

मंगलवार ललितपुरको सानेपा, गाःबहाल, पाटन ढोका, कुपण्डोल लगायतका विभिन्न स्थानमा विद्युत् अवरुद्ध भयो । जसमा कतिपय कारण भने उही र उस्तै थिए ।

‘बिहानको समयमा तारमा काग बसेपछि विद्युत् अवरुद्ध भयो, यति धेरैपटक अरू बेलामा बत्ती गएको थिएन,’ नोलाइटका एक कर्मचारीले लोकान्तरसँग भने । 

यता इञ्चार्ज मण्डलले कतिपय ठाउँमा नांगो तार भएकाले पनि ओभर हेड लाइनमा समस्या आइरहने बताए । उनले अहिले भने कतिपय यस्ता लाइनमा कभर्ड गरेर सामान्य समस्याहरूलाई छेकेपनि कतिपय ठाउँमा यस्तो नभएको बताए । 

‘आज संयोगले यस्तो हुन पुग्यो, बिहान एक टोली मात्र मर्मत गर्न निस्कने गरेको छ, एकातिर मर्मतका लागि निस्कँदा अर्कातिर पनि समस्या आइदियो,’ उनले भने ।

ललितपुरमा मात्रै हैन मंगलवार नै काठमाडौं तथा भक्तपुरका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध भयो । 

पटक–पटक विद्युत् गइरहेको अवस्थामा विद्युत प्राधिकरणले भने अहिले कम मात्रै विद्युत कटौती हुने गरेको दाबी गरेको छ । 

यता विद्युत प्राधिकरणका प्रवक्ता मदत तिम्सिनाले विद्युत अवरुद्ध भएको आफूलाई जानकारी नभएको बताए । लोकान्तरसँग उनले भने, ‘म बस्ने एरिया लोकन्थलीमा त बत्ती गएको थिएन, अन्त पनि बत्ती गएको सूचना मलाई आएको छैन ।’

‘अहिले गुनासो पनि थोरै छ, प्राधिकरणले यसमा काम गरिरहेको हुन्छ,’ प्राधिकरणका गुनासो सुन्ने एक कर्मचारीले लोकान्तरलाई बताए । 

ती कर्मचारीका अनुसार दिनमा विद्युतबारे १५ देखि २० वटामात्रै गुनासो आएको छ । 

यस्तो छ, शटडाउन तालिका 

प्राधिकरणले कतिपय विद्युत् कटौतीबारे पूर्व जानकारी दिएपनि अधिकांश भने विना जानकारी नै झ्याप्पझ्याप्प गइरहन्छ । 

आजैका माथि उल्लेखित विद्युत् कटौतीका घटनाहरू जानकारीविनाका हुन् । 

प्राधिकरणले काठमाडौं उपत्यकालगायत अन्य स्थानमा पनि मंगलवार विद्युत् कटौती गरेको छ । जसमध्ये केहीको सूचना भने उसले जारी गरेको छ । 

हेर्नुहोस् सूचना :

salt training

कमेन्ट गर्नुहोस्