
गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली (पोखरेल)ले सरकार गठनका लागि दाबी पेश गरेका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएको २ घण्टा नबित्दै कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर बुझाएका हुन् ।

हस्ताक्षर बुझाउन निवर्तमान मन्त्री समेत रहेका स्वतन्त्र सांसद दीपक मनाङ्गे पनि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा ५ बमोजिम सरकार गठनका लागि शनिवार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकी थिइन् ।
कुल ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन बहुमत अर्थात् ३१ मत आवश्यकता पर्छ । नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
बिहीवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एमाले सांसदको मात्रै २७ मत पाएका थिए ।
तर कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ तथा जनता समाजवादी पार्टीका २ गरी ३० सांसदले विपक्षमा मत हालेका थिए ।
जनमोर्चाका कृष्ण थापा तटस्थ बस्दा स्वतन्त्र सांसद दीपक मनाङे बैठकमै आएनन् ।
ह्वीप उल्लंघन भएको भन्दै राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई फेरि पदमुक्त गरेको छ ।
स्वतन्त्र सांसद दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएर विपक्षी गठबन्धनलाई साथ दिने घोषणा बिहीवार नै गरेका थिए ।
दाबी पेश गर्ने क्रममा ३१ जना सांसद नै प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

सबै दलका संसदीय दलका नेता र स्वतन्त्र सांसद दीपक मनाङ्गे प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका थिए ।
अन्य सांसद भने प्रदेश प्रमुखको कार्यालय परिसरमा बसेका थिए ।