३१ जेठ २०८३, आइतबार
राजनीतिक जीवनी

गण्डकीका नयाँ मुख्यमन्त्री नेपाली : स्कूलको ‘हेडमास्टर’देखि प्रदेश सरकारको ‘हेड’सम्म

जेठ २९, २०७८
गण्डकीका नयाँ मुख्यमन्त्री नेपाली : स्कूलको ‘हेडमास्टर’देखि प्रदेश सरकारको ‘हेड’सम्म

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) बमोजिम नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

नेपालीले प्रदेश सभाका बहुमत ३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

गण्डकीमा मुख्यमन्त्री नियुक्त कृष्णचन्द्र नेपाली २०७४ सालको प्रदेश सभाको निर्वाचनमा नवलपरासी पूर्व १(१) बाट निर्वाचित हुँदै प्रदेश सभामा प्रवेश गरेका थिए । प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलका नेता उनी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पनि हुन् । 

२००५ जेठ ५ गते तनहुँको राम्चे (हाल ब्यास–११) मा बाबु गोवद्र्धन शर्मा र आमा द्रौपदा शर्मा दम्पतीबाट माहिलो छोराको रूपमा जन्मिएका उनको घरभित्रै राजनीतिक पृष्ठभूमि थियो । उनका पिता प्रजातन्त्रका सेनानी गोवद्र्धन शर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य र तनहुँका सभापति बनेका थिए ।

कांग्रेसको १२ औं महाधिवेशनमा लुम्बिनी अञ्चलबाट केन्द्रीय समितिमा निर्वाचित कृष्णचन्द्र नेपाली त्यसअघि ४ पटक (२०४८ देखि २०६७ सम्म) कांग्रेस नवलपरासीको सभापतिमा निर्वाचित भएका थिए ।

विगत ४ दशकदेखि सक्रिय राजनीतिमा क्रियाशील नेपालीले प्रजातन्त्रको पुनःस्थापनाको लागि भएको आन्दोलनको क्रममा पटक–पटक गरी ३ वर्षभन्दा बढी जेल जीवन बिताइसकेका छन् । 

२०२२ देखि २०२८ सालसम्म उनले पिता स्व. गोवद्र्धन शर्माका साथ भारतमा निर्वासित जीवन बिताएका थिए । राजनीतिक जीवन सँगसँगै उनले लामो समय काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलमा राजनीतिशास्त्र, भूगोल, इतिहास पढाए । उनी विभिन्न विद्यालयमा हेडमास्टरको भूमिकामा समेत थिए । 

२०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचारमा सक्रिय भई नेपाली कांग्रेसलाई विजयी गराएको आरोपमा मन्त्रिपरिषद्को निर्णयले उनलाई जुम्ला सरुवा गर्ने निर्णय गर्‍यो । साथसाथै २०३६ सालताका पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उनले शिक्षण पेशा परित्याग गरे । 

नेपाल बार एशोसिएशनका सदस्य समेत रहेका उनले प्रखर अधिवक्ताको रूपमा पनि परिचय बनाएका छन् । जनपक्षीय कानूनी सेवामा समर्पित उनको सिंगो प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरू तनहुँ र नवलपरासीबाट छुटेका थिए ।

राजनीतिक कारणले आफैं शारीरिक यातनाबाट गुज्रिएका नेपाली एमनेस्टी इन्टरनेसनल नवलपरासीको संस्थापक अध्यक्ष पनि हुन् । 

भारतको दरभंगाबाट बीए उत्तीर्ण उनी त्रिभुवन विश्वविद्यालयबाट बीएड र बीएल पूरा गरेका हुन् । परिवारमा उनका ९९ वर्षीया आमा, पत्नी, २ छोरा र २ छोरी तथा नातिनातिना छन् ।

प्रमुख घटनाक्रम –

– २०२२ देखि २०२८ सम्म पिता गोवद्र्धन शर्मासँग भारतमा निर्वासित जीवन
– २०२९ देखि २०३६ सम्म काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलहरूमा अध्यापन

– २०३५ सालमा विद्यार्थी आन्दोलनमा सक्रिय नेतृत्व
– २०३६ सालको जनमतसंग्रहमा सक्रिय नेतृत्व (तनहुँमा नेपाली कांग्रेस विजयी)
– २०३७ सालमा निर्वाचन बहिष्कारपछि जेल चलान
– २०४६ सालमा प्रथम जनआन्दोलनपछि जेल चलान
– २०४८ सालमा सत्याग्रहमा जेल चलान
– २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेस तर्फबाट नवलपरासी–४ मा उम्मेदवार
– २०४८ देखि २०६७ सम्म सभापति, नेपाली कांग्रेस नवलपरासी
– २०६२/६३ को दोस्रो जनआन्दोलनमा जेल चलान
– २०६७ सालमा नेपाली कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित
– २०७० सालको संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र ३ मा प्रत्यक्षतर्फका लागि नेपाली कांग्रेसका उम्मेदवार तर झिनो मतान्तरले पराजित
– २०७४ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ऐतिहासिक पहिलो प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश नवलपरासी पूर्व १(१) बाट निर्वाचित
– २०७५ सालमा गण्डकी प्रदेश नेपाली कांग्रेसको संसदीय दलका नेतामा सर्वसम्मतले निर्वाचित

salt training

कमेन्ट गर्नुहोस्