सरकारले मंगलवार (असार ८) गतेदेखि निषेधाज्ञालाई केही खुकुलो बनाएको छ ।
निजी सवारी साधन जोर/बिजोरका आधारमा चलेका छन् भने ट्याक्सीहरूलाई पनि चल्न दिइएको छ ।
विस्तारै खुकुलो भएको निषेधाज्ञामा सार्वजनिक सवारी साधन चल्न नपाउने नियम भने कायम छ ।
अरू सवारीलाई एकदिन बिराएर निर्बाध चल्न दिने तर सार्वजनिक सवारीलाई चल्न नदिने नियमप्रति रिङरोडका बस चालक/सहचालक तथा व्यवसायी कत्ति पनि खुशी छैनन् ।
सहचालक जीवन राना मगर नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर बसका सचिव पनि हुन् ।
उनी सार्वजनिक सवारी नचल्दा हातमुख जोर्नै मुस्किल परेको बताउँछन् । कहिले कोसँग कहिले कोसँग सापटी मागेर होटल चहार्दै खानुपरेको रानाले सुनाए । एक छाक खान पनि माग्नुपर्दा लाज भैसकेको उनको गुनासो छ ।
आफ्नो काँधमा परिवारका ३ जनाको पालनपोषणको जिम्मेवारी रहेको भन्दै उनले सार्वजनिक सवारी साधन पनि चल्न दिन माग गरे ।
व्यवसायी परमेश्वर गौतमले गाडी किनेको ४ वर्ष भयो । शुरूका २ वर्ष त राम्रैसँग चल्यो ।
त्यसपछि भने उनी बैंकको किस्ता समेत तिर्न नसक्ने अवस्थामा आइपुगेका छन् ।
कहिले लकडाउन र कहिले निषेधाज्ञा भनेर गाडी थन्क्याएर राख्नुपर्दा खिया लाग्न र च्याउ उम्रिन थालेको गुनासो उनले गरे ।
सवारी चालक ताराबहादुर प्याकुरेल व्यवसायी र मजदुरका बारेमा सरकारले नसोचेको गुनासो गर्छन् । गाडी चलाउन नदिने तर कर भने असुल्ने सरकारी शैली उनलाई पटक्कै मन परेको छैन ।
सडकमा पुग्दा यातायात व्यवसायी र मजदुरहरूको एउटै माग छ- निजी सवारी चल्न दिँदा हामीलाई पनि चल्न दिनुपर्यो । बरु आधा यात्रु बोक्छौं, मास्क-स्यानिटाइजर प्रयोग गरेर सावधानी पनि अपनाउँछौं … ।
हेर्नुहोस्, भिडियो :
<