भारतको झारखण्डमा आफ्नो बथानबाट लखेटिएपछि एक्लो परेको एक हात्तीले विगत दुई महिनामा कम्तीमा १६ जना गाउँलेलाई मारेको एक वन्यजन्तु अधिकृतले बताएका छन् ।
उक्त हात्तीलाई खराब व्यवहार देखाएको वा अन्य भाले हात्तीसँग यौन प्रतिस्पर्धा गरेकोले लखेटिएको हुन सक्ने ती अधिकृतको भनाइ छ ।
कम्तीमा १६ वर्षको उक्त भाले हात्ती सन्थाल परगना क्षेत्रमा आतंक मच्चाउँदै हिँडेको थियो । २२ वटा हात्तीको बथानबाट छुट्टिएपछि त्यसको आतंक शुरू भएको थियो ।
‘हात्ती यौन उन्मादमा थियो र उसलाई अन्य भाले हात्तीहरूसँग जोरी खोजेपछि निकालिएको हुन सक्छ,’ वन अधिकृत सतीशचन्द्र रायले एएफपी समाचार संस्थालाई बताए ।
‘हामी उसको व्यवहारको अध्ययन गरिरहेका छौं र २० जना अधिकृतको एक टोलीले उसलाई निरन्तर ट्य्राक गरिरहेको छ किनकि उसलाई जोगाउनु हाम्रो प्रथम कर्तव्य हो ।’
उक्त हात्ती आफ्नो बथानसँग पुनः जोडिनका लागि उनीहरू भएतिर गइरहेको छ । तर उसले द्रुत गति तथा अनुमान गर्न नसकिने व्यवहार देखाएर अधिकृतहरूलाई हावाकावा खेलाइरहेको छ ।
मंगलवार मात्र उक्त हात्तीले वृद्धवृद्धाको जोडीलाई सुँडले उचालेर पछारी मारेको थियो । उनीहरू बिहान अँध्यारै हुँदा घरबाट निस्केपछि हात्तीको शिकार बनेका थिए ।