
ग्रीसको अर्थोडक्स चर्चका वरिष्ठ पादरीहरूलाई एक पादरीले एसिड प्रहार गरेर जिउ डढाइदिएका छन् ।
एसिड फ्याँक्ने पादरीले लागूऔषध सेवन गरेको आरोपमा सुनुवाइ चलिरहेको थियो ।
गत साता बुधवार एथेन्समा रहेको पेत्राकी मोनास्ट्रीमा पादरीलाई निष्काशन गर्ने विषयमा बैठक चलिरहेको थियो । ती पादरीले लागूऔषध सेवनका अलावा अन्य कसूर पनि गरेको आरोप छ ।
‘हामी कोभिडले गर्दा एउटा ठूलो कोठामा भौतिक दूरी कायम गरेर बस्छौं । अदालतका सचिव र पीडक पनि आफ्ना वकिलका साथ उपस्थित थिए,’ एकजना बिशपले बताए । ‘उनलाई निकाल्ने आदेश घोषणा गरिएपछि उनी आफू बसिरहेको बेन्चमा उभिए अनि झोलाबाट खैरो तरल पदार्थको बोतल निकाले ।’
दुवै हातमा बोतल राखेर उनले कोठामा छर्किन थाले र सबैलाई एसिड पारे ।
कम्तीमा सातजना बिशपहरूलाई घाउचोट लागेर अस्पताल भर्ना गरिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर छ । एकजना प्रहरीलाई पनि चोटपटक लागेको छ ।
आक्रमणकारी पादरीलाई पक्राउ गरिएको छ ।
‘मलाई निष्काशन गरेकाले मैले उनीहरूमाथि आक्रमण गरेको हुँ,’ उनले प्रहरीलाई बताए । सुनुवाइअघि उनले फेसबूकमा एउटा पोस्ट राखेर बदला लिने अनि कुरा हैन, काम गरेर देखाउने समेत लेखेका थिए ।
ती पादरी लिबियाबाट ग्रीस आएका र उनी ३४ देखि ३८ वर्षबीचमा रहेको बताइएको छ ।