३० असार २०८३, मंगलबार

साउनपछि बाहिरबाट ल्याएका फोन नचल्ने, चलिरहेका फोन सुचारु राख्न के गर्नुपर्छ ?

साउनपछि बाहिरबाट ल्याएका फोन नचल्ने, चलिरहेका फोन सुचारु राख्न के गर्नुपर्छ ?
सांकेतिक तस्वीर

नेपाल दुरसञ्चार प्राधिकरणले एमडीएमएस लागू गर्न प्राविधिक काम भइरहेको बताएको छ ।

न्युज एजेन्सी नेपाल सँग कुरा गर्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्वाध चल्न दिने गरी काम भइरहेको बताए ।

साउन महिना भरि मोबाइल प्रयोगकर्ताले आईएमईआई नं दर्ता गराउन समय दिने तयारी गरेको बताए ।

प्राधिकरणका अध्यक्ष खनालले कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट आएको अर्थात किनेको मोबाइल नचलाउन आग्रह गरे ।

विभिन्न सामाजिक सञ्‍जालमा भेटिएको गलत सूचनामा विश्वास नगर्न प्राधिकरणका अध्यक्ष खनालले सचेत गराए ।

साउन महिनापछि भने आईएमईआई नं दर्ता नभएका मोबाइल सेटले काम नगर्न सक्ने भएकाले दर्ता गर्न उनले अनुरोध गरे ।

आगामी साउन १ गते देखि मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम लागू हुने भएकाले अवैध रूपमा भित्रिएका मोबाइल सेट नचल्ने हुन सक्छ ।

नेपाल सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्दा एमडीएमएस लागु गर्ने घोषणा गरेको छ  ।

एमडीएमएस लागु भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाईल सेट चल्न सक्क्तैनन् ।

अर्थात् यस्ता मोबाइलमा सिम कार्ड राखेपनि काम गर्दैन । मोबाइल व्यवसायीले एमडीएमएस लागू भएपछि नेपालमा अवैध मोबाइल नै नरहने बताएका छन् ।

मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष समेत रहेका नेपाल चेम्बर अफ कमर्का उपाध्यक्ष दीपककुमार मलहोत्राले एमडीएमएस प्रणाली लागू भएपछि मोबाइल कारोबार पारदर्शी हुने बताए ।

करीब ४० अर्बको  मोबाइल कारोवारमा १३ अर्बको कारोबार अवैध हुने बताइन्छ । एमडीएमएस प्रणालीले सबै कारोवारलाई वैध मार्गमा लैजाने उनले बताए ।

यसले राज्यको करको दायरा बढ्ने, चोरी आयात रोकिने र ग्राहक ठगिने क्रम रोकिने अध्यक्ष मलहोत्राले बताए ।

यस्तै एमडीएमएसमा दर्ता भएका फोनको विवरण तुरुन्त थाहा पाउन सकिने भएकाले मोबाइलको दुरुपयोग गरी हुने अपराध र अपराधी पत्ता लगाउन सजिलो हुने उपाध्यक्ष मलहोत्राले बताए ।

एमडीएमएस प्रणाली पहिलोपटक लागु हुने भएकाले चलिरहेको मोबाइल र विदेशबाट उपहार अनि पर्यटकले बोकेर आउने मोबाइल कसरी चल्न दिने भन्नेबारे मोबाइल फोन आयातकर्ता संघसँग दूरसंचार प्राधिकरणले छलफल गरिरहेको छ ।

छलफलको क्रममा चलिरहेको फोनलाई निश्चित समय दिएर आईएमईआई नम्बर दर्ता गर्न लगाउने सुझाव आफूहरूले दिएको अध्यक्ष मलहोत्राले बताए ।

यस्तै पर्यटकले नेपाल घुम्न आउँदा बोकेर आउने फोनलाई १५ दिनसम्म चल्न दिने र  फेरि सुचारु गर्नपरे भिषा पासपोर्टको विवरण राखेर गर्न सकिने व्यवस्था मिलाउन दुरसञ्चार प्राधिकरणलाई संघले सुझाव दिएको छ ।

यसैगरी उपहारमा आएको फोनलाई दर्ता गर्नुअघि भन्सारको प्रक्रिया पूरा गरेर मात्रै चल्न दिने व्यवस्था मिलाउन सुझाव दिएको अध्यक्ष मलहोत्राले बताए ।

उपहार आएको फोन पहिलो १५ दिन चलाउन कुनै बाधा नगर्न पनि सुझाव दिएको उनले बताए ।

एमडीएमएस लागू भएपछि मोबाइल फोन आयातकर्ताले आयात गरेको सम्पुर्ण मोबाइल फोनको आईएमईआई नम्बर दुरसञ्चार प्राधिकरणमा दर्ता गरेर मात्र विक्री वितरण गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्