अफगानिस्तानको युद्धमा २० वर्षसम्म फसेको अमेरिकाले त्यहाँबाट आफ्ना सबै सैनिक फिर्ता बोलाउने प्रक्रिया थालिसकेको छ । त्यहाँ रहेका अमेरिकाका शीर्ष सैन्य कमान्डर जनरल स्कट मिलर पनि सोमवार फिर्ता गइसकेका छन् । सैनिकहरू फिर्ता लैजाने क्रममा अमेरिकाले देखाएको हतारोले ऊ अब त्यहाँको युद्धबाट अघाइसकेको देखिएको छ ।
सन् २००१ मा न्युयोर्कको ट्विन टावरमा गरिएको आक्रमणको बदला लिनका लागि अफगानिस्तानमा लुकेर बसेका आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा बिन लादेनको खोजीमा अमेरिका युद्धमा होमिएको थियो ।
अमेरिका तथा उसका साझेदारहरूविरुद्ध आतंकवादको जोखिमलाई न्यूनीकरण गर्नु अफगानिस्तानमा अमेरिकाको पहिलो रणनीतिक अभीष्ट थियो । अमेरिकाको मुख्यभूमिमा नै आक्रमण गर्न सक्ने हिम्मत राखेको अलकायदालाई ध्वस्त पार्ने अमेरिकी रणनीति एक हदसम्म बुझ्न सकिन्थ्यो । एक दशकअघि नै अमेरिकाले त्यो अभीष्ट पूरा समेत गरिसकेको थियो र अहिले अलकायदा पहिलेको जस्तो बलियो पनि छैन ।
अमेरिकाले अफगानिस्तानमा आफूअनुकूलको शासक राखेर राष्ट्रनिर्माण (नेसन बिल्डिङ) गर्ने दोस्रो अभीष्ट बनाउनु चाहिँ उसको भूल साबित भएको छ । यसमा अमेरिकाको रणनीतिक कमजोरी देखिन्छ अनि उसले इतिहासबाट पाठ सिक्न नसकेको पनि देखिन्छ ।
अफगानिस्तानले कहिले पनि विदेशी शक्तिको खटनपटन मानेको इतिहास छैन । उन्नाईसौं शताब्दीमा बेलायतले साम्राज्य विस्तार गर्दै जाँदा भारतीय उपमहाद्वीपमा कब्जा गरेको थियो ।
भारतलाई नियन्त्रणमा लिएको बेलायतलाई रुसी साम्राज्यले मध्य एसिया कब्जा गर्दै अघि बढिरहँदा भारतमा आइपुग्ला चिन्ता भयो । द ग्रेट गेम नाम दिइएको उक्त प्रतिस्पर्धामा रुसलाई रोक्नका लागि बेलायतले मध्य एसिया तथा दक्षिण एसियाको पुलका रूपमा रहेको अफगानिस्तानमा कब्जा गर्नुपर्ने भयो ।
बेलायतले अफगानिस्तानसँग सन् १८३९ देखि १८४२ सम्म गरेको युद्धपछि शासन चलाइरहेका अमिरलाई हटाएर आफ्नो कठपुतलीलाई शासन चलाउन लगायो । ती कठपुतली शाह शुजाह दुर्रानी अफगान जनतामाझ लोकप्रिय थिएनन्, फलस्वरूप बेलायतीहरूका विरुद्ध अफगानहरू उठे अनि बेलायती सेनालाई लखेटे ।
दोस्रोपटक बेलायत र अफगानिस्तानबीच सन् १८७८ देखि १८८१ सम्म युद्ध हुँदा बेलायतले अघिल्लोपटककै जस्तो गल्ती दोहोर्यायो । विदेशी फौज आफ्नो भूमिमा आउने र अफगान जनताले नरुचाएका व्यक्तिलाई शासनमा राख्ने क्रियाकलापलाई अफगानले मन पराउने कुरै थिएन ।
सन् १९१७ मा पनि बेलायत र अफगानिस्तानबीच युद्ध भयो तर त्यसले बेलायतलाई कुनै फाइदा भएन । त्यसपछि दुईवटा विश्वयुद्ध भए अनि बेलायत दक्षिण एसियाबाट बाहिरियो ।
शीतयुद्ध चलिरहेको बेलामा अफगानिस्तान सन् १९७० को दशकमा अशान्त भयो । त्यहाँको सत्तासंघर्षमा शक्तिशाली नेताहरू मारिएपछि सोभियत संघले रणनीतिक तथा सामरिक रूपमा महत्त्वपूर्ण अफगानिस्तान कब्जामा लिनुपर्ने सोच बनायो ।
तर यसक्रममा उसले बेलायतकै गल्ती दोहोर्यायो । सोभियत सैनिकहरूले काबुलमा कब्जा जमाएपछि बाबराक कारमाललाई सत्तामा पुर्याइयो । कारमाल अफगान जनतामाझ लोकप्रिय नेता थिएनन् । सोभियत कब्जा तथा कारमाल शासनका विरुद्ध विभिन्न अफगान कबिलाहरू एकजुट भएर विद्रोह गर्न थाले ।
शीतयुद्धको समयमा सोभियतलाई रोक्नका लागि अमेरिकाले अफगान कबिला लडाकूहरूलाई हातहतियार उपलब्ध गरायो । पाकिस्तानको बाटो हुँदै मुजाहिद्दीनहरूलाई गोप्य तरिकाले हतियार पुर्याउने काम अमेरिकी गुप्तचर संस्था सीआईएले गरेको थियो ।
मुजाहिद्दीनको आक्रमणले सोभियत सेनालाई आच्छुआच्छु पारेपछि कारमाललाई हटाएर कठोर शासन चलाउने नजीबुल्लाहलाई सत्तामा ल्याइयो । तर मुजाहिद्दीनको संघर्ष झनै चर्कियो । अन्ततोगत्वा सन् १९८९ मा सोभियत सेना अफगानिस्तानबाट बाहिरिन बाध्य भयो । शीतयुद्धको अन्त्य भएर सोभियत संघ पतन हुने बेला पनि आइसकेको थियो ।
सोभियत सेनालाई हराएका कबिला अफगान लडाकूहरूले सन् १९९२ मा नजीबुल्लाहको हत्या गरे अनि शासन चलाउन थाले । तर आन्तरिक संघर्षका कारण उनीहरूको शासन लामो समय चलेन । गृहयुद्ध चर्कियो अनि धेरैले ज्यान गुमाए ।
यही समयमा तालिबानको उदय भयो र सन् १९९६ मा तालिबानले काबुलमा शासन चलाउन थाल्यो । इस्लामको कट्टरपन्थी शरिया कानून लगाएर तालिबानको कठोर शासन चल्यो । सोभियतसँगको युद्धमा सहभागी भएका तर अमेरिकीहरूलाई पटक्कै मन नपराउने ओसामा बिन लादेन तालिबानहरूसँग हात मिलाउन आइपुगे र अमेरिकामाथिको आक्रमणको योजना बुने ।
लादेनको आक्रमणपछि अमेरिका अफगानिस्तान युद्धमा होमियो र अलकायदालाई तहसनहस बनायो । लादेनलाई निकै पछि पाकिस्तानको एउटा घरमा गएर अमेरिकाले मारिदियो । तर अफगानिस्तानमा आफूले रोजेको व्यक्तिलाई शासन चलाउन दिने तथा अफगानहरूको धर्म तथा संस्कृतिलाई बेवास्ता गर्दै दमन गर्ने काम गर्दा अमेरिकी तथा पश्चिमाहरूप्रति अफगान कठोर बन्दै गए ।
आम अफगानहरूमाझ लोकप्रिय नरहेका हमिद कारजाई वा अशरफ गानीले पूरै देशमा शासन चलाउन सक्ने कुरै थिएन । पश्चिमी सैनिकहरूको आडमा देखावटी स्थिरता देशमा कायम भए पनि शक्तिसंघर्ष चलिरहेकै थियो र तालिबानले आफ्नो शक्ति बढाउँदै लगेको थियो ।
त्यसमाथि अफगान शासकहरू आफ्नै गोजी भर्नतिर लागे । अमेरिकाले अफगानिस्तान सेनालाई बलियो बनाउनका लागि अर्बौं डलर खर्च गरेको भए पनि अधिकांश पैसा सरकारी तथा गैरसरकारी बिचौलियाहरूले खाइदिएपछि अहिले अफगान सेना पंगु भएको छ । तालिबानसँगको लडाइँमा अफगान सेना टिक्न सकिरहेको छैन । फलस्वरूप, अफगानिस्तानको ८० प्रतिशतभन्दा बढी भाग तालिबानको कब्जामा छ ।
अफगानिस्तान एक सिंगो राज्यभन्दा पनि परिसंघ (कन्फेडरेसन) जस्तो छ । त्यहाँ विभिन्न कबिलाहरूको आफ्नै क्षेत्राधिकार छ । उत्तरमा उज्बेक, ताजिक, तुर्कमेन र हजाराहरूको हैकम चल्छ भने अन्य ठाउँमा पश्तुनहरू हावी छन् । त्यसैले सबैलाई एकताबद्ध गरेर राख्नु एकदमै मुश्किल काम हो जुन पश्चिमले छानेको पात्रबाट सम्भव नै छैन ।
अलकायदालाई छिन्नभिन्न पारेर आफ्नो सुरक्षा बलियो बनाउने अभीष्ट पूरा गरेको अमेरिकाले तालिबानसँग अलकायदा तथा इस्लामिक स्टेटलाई नियन्त्रणमा राख्ने प्रतिबद्धता हासिल गरेको छ । अफगानिस्तानलाई आफूअनुरूपको उदारवादी लोकतान्त्रिक मुलुक बनाउन नसकिने दिव्यज्ञान अमेरिकाले धेरै अघि नै पाइसकेको भए पनि झ्याप्पै हटिहाल्दा बेइज्जती हुने डरले गर्दा सैनिकहरू त्यहाँ राखिरहेको थियो ।
तर अमेरिका अब विश्वका अन्य भागमा भएका युद्धमा संलग्न हुनुहँुदैन, देशभित्रै भत्केको व्यवस्था सपार्नतिर लाग्नुपर्छ भन्ने जनमत बलियो हुँदै गएको छ । त्यसमाथि अफ्रिका तथा पश्चिम एसियाका विभिन्न भागमा आतंकवादको खतरा अफगानिस्तानको भन्दा बढी भएको आकलन अमेरिकाले गरेको छ ।
तर सैनिक फिर्ता लगेको भन्दैमा अमेरिकाले अफगानिस्तानमा पटक्कै चासो राख्दैन भन्ने हैन । उसले अफगान भूमिमा नरही टाढा बसेर क्षेप्यास्त्र आक्रमण गर्न सक्ने सम्भावना कायम छ । त्यसका लागि अमेरिकाले पाकिस्तानलाई उसको भूमिमा एयरबेस बनाउन दिन भनेको छ तर पाकिस्तानले मानेको छैन । अमेरिकासँग घनीभूत साझेदारी गर्न खोजिरहेको भारतले सैन्य बेस बनाउन दिनुपर्छ भनी अहिले भारतमा पैरवीहरू भइरहेका छन् ।
त्यसमाथि अमेरिकाको चासो अब आतंकवादविरुद्धको युद्धभन्दा पनि महाशक्ति प्रतिस्पर्धातिर सोझिएको छ । चीन (र रुस) विरुद्धको प्रतिस्पर्धालाई अमेरिकाले अहिले प्राथमिकतामा राखेको छ ।
युद्ध रणनीतिविद् डेभिड किलकलनको शब्द सापटी लिनुपर्दा अमेरिकाको लडाइँ अब सर्पसँग नभई ड्रागन (चीन, रुस)सँग छ । आफ्नो ताजा पुस्तक ‘द ड्रागन्स यान्ड द स्नेक्स : हाउ द रेस्ट लर्न्ट टु फाइट द वेस्ट’मा किलकलनले आतंकवादी र छापामार लडाकूजस्ता गैरराज्य शक्तिलाई सर्पको बिम्ब दिँदै तिनको जोखिम (ननस्टेट थ्रेट्स) मा अमेरिकाले लामो समय ध्यान केन्द्रित गरेको उल्लेख गरेका छन् ।
तिनमा ध्यान केन्द्रित हुँदा शक्तिराज्य अर्थात् ड्रागनहरूले आफ्नो युद्धक्षमता बढाउँदै लगेको र अमेरिकालाई चुनौती दिने हैसियतमा पुगेको किलकलनको भनाइ छ । त्यसैले यो चुनौतीको सामना गर्न अमेरिकाले नयाँ रणनीति बनाउनुपर्ने देखिन्छ । अफगानिस्तानको अन्त्यहीन युद्धमा फसेर बस्ने सुविधा उसलाई छैन ।
सन् २०१८ मा अमेरिकाले सार्वजनिक गरेको राष्ट्रिय सुरक्षा रणनीतिमा निकटवर्ती समकक्षी प्रतिस्पर्धा (नीयर–पीयर कम्पिटिसन) लाई देशको रणनीतिक प्राथमिकताको उच्च सूचीमा राखिएको छ । अमेरिकाका निकटवर्ती प्रतिस्पर्धी चीन तथा रुसले तीव्र गतिमा हातहतियार विकास गरेर अमेरिकालाई चुनौती दिने स्थितिमा पुग्न लागेका छन् । त्यसको सामना गर्नु नै अमेरिकाको अहिलेको प्राथमिकता हो ।
अफगानिस्तानबाट हतार गरेर निस्कनुमा यही कारण सर्वोपरि देखिन्छ । तर साम्राज्यको चिहान भनिने अफगानिस्तानले बेलायती र सोभियत साम्राज्यपछि अमेरिकी साम्राज्यलाई पनि धूलो चटाएको इतिहास बन्न पुगेको छ ।