०१ असार २०८३, सोमबार

मुस्ताङमा ट्रक दुर्घटना,  दुई जनाको मृत्यु

साउन ३, २०७८
मुस्ताङमा ट्रक दुर्घटना,  दुई जनाको मृत्यु

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालवाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चारजना घाइते भएका छन् । 

ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल  भत्किँदा आज बिहान दुर्घटना भएको थियो  । 

ट्रकमा सातजना सवार रहेको बताइएको छ । 

मृत्यु हुनेमा रामेछाप जिल्ला गोकुल गंगा गाउँपालिका–१ बस्ने अन्दाजी ३८ वर्षीय  चित्रबहादुर श्रेष्ठ र उनकी श्रीमती अन्दाजी २६ वर्षीया मोनिका श्रेष्ठ रहेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक जीतबहादुर केसीले जानकारी दिए । 

नवलपरासी जिल्ला विनय त्रिवेणी गाउँपालिका–३ बस्ने ट्रक चालक ३६ वर्षीय शिवराम ठाडा मगर सामान्य अवस्थामा रहेको उनको भनाइ छ । चालकलाई  नियन्त्रणमा लिइएको जनाइएको छ । 

घाइते हुनेमा बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–२ बस्ने २२ वर्षीय सुशील घर्तीमगर, २५ वर्षीय लुद्रबहादुर कामी रहेका छन् । उनीहरू मजदुरीका लागि मुस्ताङ पुगेका थिए । 

त्यसैगरी पर्वत जिल्ला जलजला गाउँपालिका–४ का १८ वर्षीय सहचालक दिनेश दर्जी र ओखलढुङ्गा जिल्ला सिन्चीदोम्बा गाउँपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दावा शेर्पा घाइते भएका छन् । उनीहरूको जोमसोम जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ ।

घाइतेको अवस्था सामान्य रहेको ट्राफिक कार्यालयले जनाएको छ । ट्रकमा १०० बोरा सिमेन्ट, चार थान प्लाइउड र ५० वटा फलामको ट्रस पाइप रहेको सहचालक दर्जीले जानकारी दिए । 

जीर्ण भएको काठको कच्ची पुलले ट्रकको भार थाम्न नसक्दा उक्त दुर्घटना भएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्