१७ असार २०८३, बुधबार
संकटमा व्यवसाय

कोरोना संकटले थला पर्‍यो अटोमोबाइल्स व्यवसाय, लयमा फर्किन नीतिगत सुधार र खोपको प्रतीक्षा

कोरोना संकटले थला पर्‍यो अटोमोबाइल्स व्यवसाय, लयमा फर्किन नीतिगत सुधार र खोपको प्रतीक्षा

कोरोना महामारीका कारण नेपालमा अटोमोबाइल्स व्यवसाय थलिएको छ । 

कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न समयमा मुलुकमा भएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण अटो व्यवसायले निकै ठूलो घाटा बेहोरेको हो ।

सरकारले पहिलोपटक मुलुकमा २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेको थियो ।

२०७७ भदौसम्ममा केही-केही ठाउँमा मात्रै बन्दाबन्दी कायम हुँदा काठमाडौं उपत्यकालगायत अन्य शहरी इलाकाहरूमा भने बजार खुलिसकेको थियो । 

बीचमा जनजीवन सामान्य गर्दैगर्दा पुनः महामारी बढेपछि सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । 

पटक–पटकको बन्दाबन्दी तथा निषेधाज्ञाको मार अटोमोबाइल्स व्यवसायले खेप्नुपरेको व्यवसायीहरूले बताएका छन् । 

व्यवसायीहरूका अनुसार विगतमा गाडी बूकिङ गरेकाहरूले पनि अहिले बूकिङ फिर्ता गरिरहेका छन् । 

‘कोरोना महामारी आएसँगै अहिले अटो व्यवसाय ठप्प नै छ, पहिला बूकिङ गरेका ग्राहकहरूले पनि धमाधम बूकिङ फिर्ता गर्दैछन्,’ नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक कम्पनी सिप्रदी ट्रेडिङ प्रा.लि.का बजार प्रबन्धक रुपम श्रेष्ठले लोकान्तरसँग भने ।

गत वर्षको दशैंतिहार र नयाँ वर्षका लागि गरिएका कतिपय बूकिङहरू अहिले फिर्ता हुन थालेको बजार प्रबन्धक श्रेष्ठ बताउँछन् । 

त्यही समयमा बूकिङ गरेकाहरूमध्ये केहीले भने अहिले गाडी लगेको उनको भनाइ छ ।

‘पहिला डेलिभरी गर्न बाँकी गाडीहरू डेलिभरी गर्दैछौं । कतिपयले बूकिङ क्यान्सिल गरेका छन्,’ उनी भन्छन्, ‘कतिपयले लकडाउन फेरि हुन्छ भन्ने मनसायका साथ होल्ड गरेर बसिरहेका छन् ।’

बजार प्रबन्धक श्रेष्ठका अनुसार पहिलोपटकको निषेधाज्ञाको समयमा यात्रुबाहक गाडीहरू (स्कूल बस, बस तथा माइक्रो बस)को बिक्री शून्य नै थियो । 

टिप्पर, ट्रक जस्ता मालबाहक सवारीको बिक्री पनि घटेको थियो ।

‘प्यासेन्जर क्यारिङ भेहिकलहरूको बिक्री त शून्य नै थियो, अझै भनौं माइनसमा नै थियो,’ उनले भने, ‘कन्स्ट्रक्सन भेहिकलहरूको बिक्री पनि जति हुनुपर्ने हो त्यति भएको थिएन । न्यून मात्रै भएको थियो ।’

उनका अनुसार सामान्य अवस्थामा दैनिक ७० वटाभन्दा बढी गाडी बिक्री हुन्थ्यो । तर अहिले त्यो संख्या घटेर २० मा झरेको छ । 

कार तथा बस किन्ने ग्राहकहरूले बिस्तारै बजार खुकुलो हुँदै गएमा गाडी किन्नका लागि दशैं पर्खिएको उनी बताउँछन् । 

बजार प्रबन्धक श्रेष्ठका अनुसार अहिले टाटा नेक्सन, टिगोर, टियागोलगायतका गाडीहरूमा बूकिङ भइरहेको छ ।

***

महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इनकर्पोरेटेडका बजार प्रमुख सिजन न्यौपानेले कोरोना महामारीले अटो व्यवसायलाई निकै नै असर गरेको बताए । यद्यपि अहिले भने बिस्तारै व्यवसायले गति लिन थालेको उनको भनाइ छ ।

कोभिडको समयमा गाडीहरूको प्रोडक्सन नै कम भएको सुनाउँदै लोकान्तरसँग उनले भने, ‘कोरोनाको समयमा एउटा गाडी बनाउन करीब ३० हजारवटा पार्ट्स चाहिन्छ । त्यसमा कतिपय १५ हजारभन्दा बढी ठाउँबाट सामान आउँछ । सबै सामान आएपछि बल्ल गाडी बन्छ । १५/२० हजार पार्टस् चीनबाट आउन कोभिडले बाधा पुर्‍यो । अहिले गाडीको प्रोडक्सन नै भएको छैन । पाट्र्सहरू नआइपुग्दा प्रोडक्सन कम भयो । यसले गर्दा अलिअलि भएको मार्केट डिमान्ड पनि फूलफिल भएको छैन ।’

उनका अनुसार महिन्द्राका गाडीहरूको व्यापार कोरोनाका कारण अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले घटेको छ ।

यसको मुख्य कारण कोरोना महामारी र महामारीका कारण सामान आपूर्ति नहुँदा प्रोडक्सन घट्नु रहेको उनले सुनाए । 

बजार प्रमुख न्यौपानेका अनुसार अहिले निषेधाज्ञा खुकुलो भएसँगै ग्राहकहरू केही मात्रामा मात्र पुग्ने गरेका छन् ।

उनले भने, ‘बजार खुकुलो हुँदै गर्दा केही मात्रामा ग्राहकहरू आउन थाल्नुभएको छ ।’

सामान्य अवस्थाको तुलनामा अहिले पनि करीब ४० प्रतिशत मात्र गाडी बिक्री भइरहेको न्यौपानेले जानकारी दिए ।

मनोबल खस्किएको छ, छिटो खोपको व्यवस्था हुनुपर्छ– विष्णु अग्रवाल 

कोरोना महामारीका कारण थलिएको अटोमोबाइल्स क्षेत्रमा अहिले न्यून मात्रै व्यापार भइरहेको एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले बताए ।

उनले पहिलेको तुलनामा अहिले कोरोना महामारीका कारण ग्राहकहरूको मनोबल खस्किएको पाइएको बताए । 

‘पहिलो लकडाउनको समयमा शून्य नै भएको थियो । तर त्यसपछि मार्केटमा राम्रो ग्रोथ भएको थियो । अहिले भने ग्रोथ न्यून छ । मानिसको सेन्टिमेन्ट डाउन भएको अवस्था छ,’ अग्रवालले भने ।

उनले पहिले बजार छिट्टै माथि उठेको स्मरण गर्दै अहिले त्यसो नभएको बताए । ‘कोरोना संक्रमण यति खतरनाक हुनसक्छ भन्ने पहिले सोचिएको थिएन, अहिले त्यो सोचियो,’ उनले भने ।

बन्दाबन्दीको समयमा गाडीको व्यापार शून्य नै भएको सुनाउँदै अग्रवालले अहिले भने करीब ५० प्रतिशतको हाराहारीमा व्यापार भइरहेको बताए । 

अघिल्लो बन्दाबन्दीपछिको समयमा अटो व्यवसाय तत्काल उकासिएको स्मरण गर्दै अग्रवालले भने, ‘लास्ट लकडाउनपछिको ग्यापिङ पिरियडमा निकै उछाल आएको थियो । इम्प्रुभमेन्ट छिटो भएको थियो, अहिले त्यो भएको छैन ।’

अटो बजार माथि उठ्नका लागि केही समय लाग्ने देखिएको उनको भनाइ छ । सरकारले छिटोभन्दा छिटो खोपको उचित व्यवस्था गर्न सके बजार लयमा फर्किने उनको विश्वास छ ।

‘व्यवसायी तथा नागरिकहरूको खस्किएको मनोबललाई माथि उकास्नका लागि खोपको व्यवस्था यथाशीघ्र गरिनुपर्छ, यसो नहुँदासम्म व्यवसाय उठ्न सक्दैन,’ अग्रवालले भने ।

कोरोनाको तेस्रो लहरको हल्लाले फेरि समस्या पार्न सक्छ– अञ्जन श्रेष्ठ 

हुण्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक अन्जन श्रेष्ठले पहिलो पटकको निषेधाज्ञामा अटोमोबाइल्स क्षेत्रले निकै ठूलो मार खाएको बताए । यद्यपि अहिले भने बिस्तारै बजारले गति लिन थालेको उनको विश्लेषण छ ।

बजार पुरानै लयमा आउन भने अझै समय लाग्ने श्रेष्ठले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘अहिले व्यवसायी तथा ग्राहकहरूमा कन्फिडेन्स घटेको छ, फेरि कोरोनाको तेस्रो लहर पनि आउने हल्ला चलिरहेको छ । यसले मनोविज्ञान खस्किएको छ । जसका कारण व्यवसाय माथि उठ्न समय लाग्ने देखिन्छ ।’

उनका अनुसार पहिलो पटकको बन्दाबन्दीमा अटोमोबाइल्स क्षेत्रमा करीब ७० प्रतिशत नोक्सानी भएको थियो । 

अहिले भने निषेधाज्ञा छोटो समय मात्रै हुँदा नोक्सानी केही कम देखिएको उनले बताए । श्रेष्ठका अनुसार अहिलेको निषेधाज्ञाले करीब ५० प्रतिशत नोक्सानी भएको छ । 

नेपालमा अटोमोबाइल्स क्षेत्र माथि उठ्नका लागि खोपको व्यवस्था छिटो हुनुपर्ने श्रेष्ठको भनाइ छ ।

‘अटोमोबाइल्स धेरै कुरामा निर्भर हुन्छ । नेपालमा खोपको प्रक्रिया कति समयमा सकिन्छ भन्ने कुरा निर्धारण छैन,’ उनले भने, ‘खोपको उपलब्धता भएमा ६ महिनामा अटो क्षेत्रमाथि उठ्छ ।’ 

सरकारको पोलिसीका कारण पनि यो क्षेत्र मारमा परेको श्रेष्ठले बताए । मौद्रिक नीतिमार्फत यसलाई सम्बोधन गरिनुपर्ने उनको माग छ ।

अटोमोबाइल्स क्षेत्रबाट कति उठ्छ राजस्व ?

नाडाका अनुसार अटोमोबाइल्स क्षेत्रबाट मुलुकले हरेक वर्ष १ खर्बभन्दा बढी राजस्व संकलन गरिरहेको छ । 

आर्थिक वर्ष २०७७/७८ मा करीब १ खर्ब ३० अर्बको हाराहारीमा राजस्व राज्यलाई बुझाएको नाडाले जनाएको छ । 

अघिल्ला वर्षहरूमा अटोमोबाइल्स क्षेत्रबाट राज्यले १ खर्बकै हाराहारीमा राजस्व संकलन गर्दै आएको नाडाको दाबी छ ।

नाडाका अनुसार आर्थिक वर्ष २०७४/७५ मा अटोमोबाइल्स क्षेत्रबाट राज्यले १ खर्ब १२ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो  ।

यस्तै २०७४/७५ मा राजस्व रकम बढेर १ खर्ब १७ अर्ब ४१ करोड पुगेको थियो ।  

त्यसपछिको आर्थिक वर्ष २०७५/७६ मा यो रकम घटेर ९९ अर्ब ६९ करोड मात्रै संकलन भयो । 

कोरोना महामारीका कारण मुलुकभर गरिएको बन्दाबन्दीको असर स्वरूप आर्थिक वर्ष २०७५/७६ मा राजस्व घटेको थियो । 

यसमा आयकर जोडिएको छैन । 

‘कोरोनाको असर कम, सरकारको नीतिका कारण घट्यो बजार’

कोरोना महामारीले अटो क्षेत्रलाई असर पुर्‍याए पनि त्यो भन्दा बढी सरकारको नीतिले अटो क्षेत्रको व्यापारमा गिरावट आएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुनिल रिजालले बताए ।

उनले भने, ‘करीब ४ आर्थिक वर्षअगाडिदेखि अटोमोबाइल्स व्यवसाय  घट्दो क्रममा नै थियो । जब डाउनपेमेन्ट बढ्यो त्यसपछि मोटरसाइकल तथा अन्यको पनि आयात कम भयो ।’

सामान्य अवस्थामा पनि अटोमोबाइल्स व्यवसायमा करीब २० प्रतिशतले गिरावट आएको उनको भनाइ छ । 

उनले भने, ‘अघिल्लो वर्ष कोभिड भयो, यो समयमा त झन् घट्ने नै भयो । प्रतिशतको आधारमा हेर्ने हो भने अघिल्लो वर्ष (कोभिड आउनुपूर्व) जति घटेको थियो, अहिले पनि त्यति नै घटेको छ ।’

कोभिडका कारणले यातायातका साधनहरूलाई गरे जति असर सिधा रूपमा व्यवसायमा नपरेको उनको विश्लेषण छ ।

‘अघिल्ला वर्षहरूको गिरावटको दरले निरन्तरता पाउनु भनेको कोभिडले धेरै असर नगर्नु पनि हो, अहिले अघिल्ला वर्षहरूकै गिरावटले निरन्तरता पाएको देखिन्छ,’ उनले भने ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले अटोमोबाइल्स क्षेत्रमा लगाएको नीतिका कारण व्यवसाय खस्किएको उनले इंगित गरे । 

रिजालले भने, ‘अघिल्ला वर्षहरूमा सरकारले अटोमोबाइल्स क्षेत्रलाई आवश्यक वा अत्यावश्यक सोचेन, केबल विलासिताका साधन सोच्यो र नीति पनि त्यसै अनुरूप ल्यायो, जसका कारण व्यवसाय घट्न थाल्यो ।’

यसवर्ष पनि करीब २० प्रतिशतको गिरावट अटोमोबाइल्स व्यवसायमा देखिने उनको अनुमान छ । 

ठूलो मात्रामा राज्यलाई राजस्व तिर्ने क्षेत्रलाई सरकारले उपेक्षा गर्न नहुने रिजाल बताउँछन् ।

‘हामीले मौद्रिक नीतिले अटोमोबाइल्स क्षेत्रको समस्या सम्बोधन गरोस् भनेर भनिरहेका छौँ, अहिले पनि मौद्रिक नीतिले अटो क्षेत्रलाई सम्बोधन गरेन भने गिरावट रोकिँदैन । ठूलो राजस्व हामीले राज्यलाई तिर्छौं, यसलाई राज्यले बेवास्ता गर्न मिल्दैन ।’

महासचिव रिजाल बजार खुकुलो भएसँगै अब व्यवसायले केही गति लिने विश्वास व्यक्त गर्छन् । 

‘चाडपर्व पनि नजिकिसकेको छ, फेरि अहिले माग पनि विस्तारै शुरू हुन थालेको छ । बूकिङ भइरहेका छन् । यसकारण अबको केही समयमा बजारले गति लिने देखिन्छ,’ उनको विश्वास छ ।

मौद्रिक नीतिमा नाडाको यस्तो माग

राष्ट्र बैंकले अटो लोनलाई जोखिमयुक्त वस्तुको रूपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीति कायम राख्दै आएको छ । 

सवारी साधनको खरिदमा लगाएको ५० प्रतिशतको क्याप अहिले पनि कायम रहनु गलत भएको नाडाले जनाएको छ । 

‘सवारी साधनमा दिइने कर्जा समग्र बैंकिङ लगानीको दुई प्रतिशत मात्र रहेको र सवारी कर्जाको डिफल्ट पनि ज्यादै न्युन रहेको हुँदा सवारी साधनमा कर्जा सीमा तोक्ने कार्य सम्बन्धित वाणिज्य बैंकहरूलाई नै दिनुपर्ने हाम्रो धारणा छ,’ नाडाले राष्ट्र बैंकलाई बुझाएको सुझावमा भनेको छ ।

राजस्वको दृष्टिकोणले पनि देशलाई सर्वाधिक राजस्व प्राप्त हुने क्षेत्र अटोमोबाइल्स भएको  बताउँदै महासचिव रिजालले भने, ‘सर्वाधिक राजस्व प्राप्त हुने क्षेत्रलाई राज्यले बुझ्न सक्नुपर्छ ।’ 

राष्ट्र बैंकले हायर पर्चेज लोनको सम्बन्धमा करयोग्य आयअन्तर्गत कुल मासिक आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न सकिने अवस्थामा मात्रै ऋण दिनुपर्ने वर्तमान व्यवस्था खारेज गर्नुपर्ने नाडाको माग छ ।

नाडाले नेपालमा सवारीसाधन दक्षिण एसियाकै सबैभन्दा महंगो भएको भन्दै सस्तोमा सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था गर्न पनि माग गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्