०७ असार २०८३, आइतबार

धनगढीमा २५ करोड बढी लागतमा निर्माणाधीन प्रदेशकै ठूलो सभाहल गुणस्तरहीन

भदौ ७, २०७८
धनगढीमा २५ करोड बढी लागतमा निर्माणाधीन प्रदेशकै ठूलो सभाहल गुणस्तरहीन

कैलालीको धनगढीमा निर्माणाधीन सुदूरपश्चिम प्रदेशकै ठूलो सभाहल गुणस्तरहीन बनिरहेको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयले आफ्नो ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सभाहल गुणस्तरहीन बन्न लागेको औंल्याएको हो ।

२०७८ असार ९ गते निर्माण सम्पन्न गर्ने गरी २५ करोड २६ लाख ८८ हजार रुपैयाँमा सम्झौता भई आव २०७६/२०७७ सम्ममा १३ करोड ८२ लाख ६२ हजार भुक्तानी गरिएको छ ।

प्रतिवेदनमा उल्लेख छ, ‘निर्मित संरचनामध्ये प्लास्टर गर्न बाँकी उत्तरतर्फको बिम र पिलरको सर्फेस रेगुलर नदेखिएको, पर्याप्त कम्प्याक्सन नपुगी हनी कम्ब देखिएको र पर्याप्त क्युरिङ नहुँदा प्लास्टर फुटेको अवस्था छ । हनी कम्ब देखिएको स्ट्रक्चरमा पर्याप्त ग्राउन्डी गरी गुणस्तर कायम भएको सुनिश्चिता कायमपछि मात्र थप कार्य गर्नुपर्दछ ।’

सिटी हल निर्माणका लागि शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले बीकेवाई एमके रोयल जेभीसँग २०७६ माघ २ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७८ असार ९ गते अर्थात् ३० महिना अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने थियो तर अझै सम्पन्न हुन सकेको छैन ।

१ बिगाहा क्षेत्रफलमा बन्दै गरेको सिटी हल १ हजार जना अटाउने क्षमताको हुनेछ । अपाङ्गतामैत्री रहने सिटी हलको अन्डरग्राउन्ड तथा हलको बेसमेन्टमा पार्किङको व्यवस्था हुनेछ । 

सिटी हलमा छुट्टाछुट्टै २ वटा हल निर्माण गरिने छ । सिटी हलभित्रै प्रशासनिक कक्ष, चेन्जिङ रूम, अति विशिष्ट कक्षको व्यवस्थाका साथै खानेपानी, शौचालय लगायत सुविधा रहनेछ । निर्माण सम्पन्न भएसँगै सिटी हलको स्वामित्व धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ । यसपछि सिटी हलको सम्पूर्ण व्यवस्थापन धनगढी उपमहानगरपालिकाले नै गर्नेछ ।

संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका साइट इन्जिनीयर प्रमोद पन्तका अनुसारका महालेखापरीक्षकको प्रतिवेदनमा त्रुटि भनेर उल्लेख गरिएका केही त्रुटिहरू अहिले सुधार भएको बताए ।

कोरोना महामारीका कारण समयभित्रै सम्पन्न नभएको सिटी हल निर्माणको समय ६ महिना म्याद थप भएको बताइएको छ । निर्माणको कार्य अन्तिम चरणमा पुगेकाले अबको केही महिनाभित्रै निर्माण सम्पन्न हुने इन्जिनीयर पन्तले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्