
संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रुपमा लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
शिक्षा तथा स्वास्थ्य समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी परीक्षाको व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
कोभिडविरुद्धको खोपलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी परीक्षा लिने व्यवस्था गर्न सरकारलाई निर्देशन गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरूमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेतसमेत गराएको छ ।
‘कोभिडको कारणले मात्रै कक्षा १२ को परीक्षा स्थगित भएको हो । छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको व्यवस्था गर्नु पर्यो । विद्यार्थीहरू खोप नलगाउने, छुट्ने र परीक्षामा सहभागी हुन नपाउने अवस्था आउन दिन हुन्न,’ उनले भनिन्, ‘यस्ता विषयलाई पनि ख्याल गरेर यो सबै व्यवस्था मिलाएर छिटोभन्दा छिटो परीक्षा लिने दिशातिर सरकार जाओस् भनेर म समितिको तर्फबाट निर्देशन दिन चाहन्छु ।’
समितिले ‘टयुसन फी’ मात्रै लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।
बैठकमा समितिका सदस्यहरूले कोभिडविरुद्धको खोपका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरेर छिटो कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले समितिले दिएको निर्देशन अनुसार कक्षा १२ को परीक्षाको आवश्यक व्यवस्था मिलाउन ढिलाइ नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भौतिक रुपमा कक्षा नभएकाले इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अनलाइन फी मात्रै तिरेर परीक्षा लिने व्यवस्था मिलाउन पनि तत्काल सरोकारवाला निकायसँग छलफल गर्ने समितिलाई जानकारी गराएका थिए ।