२४ असार २०८३, बुधबार
कोरोना संकटबाट माथि उठ्ने प्रयासमा पोखरा

दशैंतिहार पर्खिंदै पोखराको पर्यटन

भदौ २९, २०७८
दशैंतिहार पर्खिंदै पोखराको पर्यटन

सरकारले यसै हप्तादेखि ठूला धार्मिकस्थल पशुपतिनाथको मन्दिर र गोरखाको मनकामना मन्दिरमा आवागमन खुला गरेको छ । ४ महिनासम्म बन्द भएर यी मन्दिर खुलेसँगै पोखरेलीलाई पनि यस क्षेत्रका धार्मिक मठमन्दिर अब खुल्ने हुन् भन्ने आशाको किरण सञ्चार भएको छ ।

त्यसो त जिल्ला प्रशासन कार्यालय कास्की पनि असोजदेखि निषेधाज्ञा झनै खुकुलो पार्ने तयारीमा छ । 

कोरोना महामारीको दोस्रो लहर शुरू भएपछि सरकारले वैशाख दोस्रो हप्तादेखि लकडाउन गरेको थियो । त्यसैको मारमा कास्कीका प्रमुख धार्मिक पर्यटकीय केन्द्र विन्ध्यवासिनी मन्दिर, फेवातालबीचको वाराही मन्दिर, मुस्ताङको मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई पूजापाठमा रोक लगाइयो । साहसिक लगायत पर्यटकीय गतिविधि हुन नसक्दा पर्यटन क्षेत्रले करोडौं रूपैयाँ क्षति व्यहोरेको छ । 

गण्डकी प्रदेश राजधानी पोखरामा जिल्ला प्रशासन कार्यालय कास्कीले वैशाख १५ गतेदेखि शुरू गरेको लकडाउन भदौ शुरू भएपछि केही खुकुलो पारे पनि मठमन्दिर बन्द हुँदा पर्यटन चलायमान हुन सकेको छैन । 

सेप्टेम्बर महिनासँगै पर्यटकीय सिजन शुरू हुन्छ । विगतमा यतिखेर पोखराको पर्यटन निकै चलायमान हुन्थ्यो । वर्षा सकिएर शरद ऋतुले छुनै लाग्दा विदेशी पर्यटक प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा छ्यापछ्याप्ती भेटिन्थे । रातभर जाग्राम रहेर लेकसाइड बिहान अबेरसम्म सुत्थ्यो ।

पर्यटनसम्बद्ध विविध प्रकारका व्यवसाय चल्दा आर्थिक कारोबार पनि सन्तोषजनक हुन्थ्यो तर २ वर्षयता पर्यटन क्षेत्र लमतन्न सुतिरहेको छ । कहिलेदेखि चलायमान हुन्छ ? यकिन छैन । 

फेवातालको छेउमा डुंगा अड्याएर ग्राहकको पर्खाइमै भेटिन्छन् डुंगा चालक । दिनभर मात्र १०–१५ वटा डुंगा मात्र तालको सेरोफेरो गर्न उठ्छन् । अरु डुंगाको पालो नै आउँदैन । मात्र १००–२०० रुपैयाँकै भरमा डुंगा चालक साँझबिहानको गाँस जोड्न बाध्य छन् । 

पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई कोरोना प्रभावका कारण नराम्ररी मारमा परेको पर्यटन पहिलेकै अवस्थामा फर्किनेमा आशावादी छन् तर त्यो समय कहिले आउँछ ? उनलाई पनि थाहा छैन । उनी भन्छन्, ‘कोरोना विरुद्धको भ्याक्सिन पहिलो प्राथमिकता हो । हालसम्म पर्यटन क्षेत्रमा मात्र ३० प्रतिशतले भ्याक्सिन लगाएका छन् । सबै जनाले भ्याक्सिन लगाउन सके भने विदेशी पर्यटक पनि कम जोखिम हुने आशमा घुम्न आउँछन् ।’ 

फेवातालबीच रहेको प्रमुख आकर्षण केन्द्र वाराही मन्दिर वैशाख १५ गतेदेखि नै बन्द छ । ४ महिनादेखि बन्द रहेको मन्दिर नखोल्दा दर्शनार्थी मन्दिर प्रवश गर्न पाएका छैनन् । त्यसको प्रत्यक्ष असर डुंगा व्यवसाय लगायतमा परेको छ । होटल, रेस्टुरेन्टले भीडभाडजन्य गतिविधि हुने कुनै पनि किसिमका कार्यक्रमको बुकिङ लिन तथा सञ्चालन गर्न नपाउने नियम यथावत् छ । सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ अझै बन्द छन् । 

बीचमा परेका सार्वजनिक बिदा सदुपयोग गर्ने उद्देश्यले आन्तरिक पर्यटक केही बढेको पाइए पनि अझै अवस्था सुध्रिँदो नभएको पर्यटन व्यवसायी बताउँछन् । हरितालिका तीजका अवसरमा पोखराका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारणको भीड देखिए पनि पर्यटकीय क्षेत्र शून्यप्रायः छ । 

पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले कोरोनाका कारण कतिपय होटल व्यवसायी पलायन भएको बताए । उनले हालसम्म करीब २०–३० प्रतिशतले होटल व्यवसाय बन्द गरेको बताए । यस विषयमा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई पनि सहमत छन् । उनले कोरोनाको असरले हालसम्म समग्र ३० प्रतिशत पर्यटन व्यवसायी पलायन भएको गुनासो गरे ।

दोस्रो भेरियन्ट सकिँदासम्म झण्डै ४० प्रतिशत पर्यटन व्यवसायीले यस क्षेत्रबाट हात झिक्न सक्ने उनको अनुमान छ । 

नेपालकै प्रमुख पर्यटकीय स्थल पोखरामा कोरोना महामारीले साहसिक लगायत पर्यटकीय गतिविधि ठप्प छन् । खासगरी पदयात्रा, पर्वतारोहण, माउन्टेन वाइङी, साइक्लिङ, तालमा डुंगा सयर, स्काइ साइक्लिङ, बन्जी जम्प, प्याराग्लाइडिङ, अल्ट्रालाइट, झरना तथा छाँगोसँगै खस्ने क्यानोनिङ, र्‍याफ्टिङ हुन सकेका छैनन् । यी गतिविधिसँग सम्बन्धित होटल, पर्यटक यातायात सेवा, रेस्टुरेन्ट लगायत सेवा प्रदाक निकाय वा पर्यटन उद्योग कोरोना असरले थिलोथिलो परेको छ । २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा भएदेखि नै पोखराको पर्यटनको अधोगति शुरू भएको हो ।

कोरोनाबाट बच्ने एक मात्र अचूक उपाय हो भ्याक्सिन । प्रदेश सरकारले पनि १ महिनाअघि पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाको माग आधारमा पर्यटन क्षेत्रमा ३ हजार डोज खोप व्यवस्था गरेको थियो । त्यसबाहेक विभिन्न पेशा, उमेर, वर्गका व्यक्तिले पनि खोप लगाउने क्रम जारी छ । तैपनि कोरोनाको दोस्रो भेरियन्टको असर कायमै छ ।

कास्कीमा हाल १ लाख ५ हजार जनाले पहिलो डोज लगाएका छन् । तीमध्ये पूरा डोज लगाउने ३८ हजार जति रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय कास्कीले गत हप्ता मात्र गाडीमा जोरबिजोर हटाउँदै निषेधाज्ञा भदौ मसान्तसम्म कायम गरेको छ । प्रशासनले असोजदेखि लागू हुने गरी पर्यटकीय गतिविधि सञ्चालन हुने गरी खोल्न सक्ने संकेत दिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले असोज शुरू भएपछि निषेधाज्ञा झनै हटाउन सकिने लोकान्तरलाई बताए ।

उनले भने, ‘हामीहरूले मात्र कडाइ गरेर के गर्नु ! मानिसले स्वास्थ्य सुरक्षामा मापदण्डमा ख्यालै गर्दैनन् । कोरोना छ र झैं गर्दछन् । अब संक्रमणदर कम हुँदै गए असोज १ गतेदेखि मठमन्दिर खुल्ने गरी निषेधाज्ञा अझै खुकुलो पार्न सकिने छ ।’

पोखरा पर्यटन परिषद्ले गत वर्ष सार्वजनिक गरेको तथ्यांकअनुसार पोखराको पर्यटनमा कूल ५ खर्ब जतिको लगानी छ । यसरी हेर्दा कोरोना महामारी असरले पोखराको पर्यटन क्षेत्रमा ठूलो मार परेको छ । 

पोखरा पर्यटन कार्यालयका अनुसार गत वर्ष फागुनसम्मको तथ्यांक अनुसार पोखरामा पर्यटकीयस्तरका ७०० होटल छन् । तीमध्ये ५०० जति आफ्नै भवनमा र २०० भाडामा सञ्चालित छन् । यस क्षेत्रमा मात्रै निजी लगानी ५० अर्ब र ऋण लगानी ७५ अर्ब गरी कूल १ खर्ब २५ अर्ब लगानी छ । कोरोना अघि पोखरामा करीब ४ लाख स्वदेशी र ३ लाख विदेशी गरी ७ लाख पर्यटकले भ्रमण गरेको अनुमान छ । 

पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले मुख्य सिजन शुरू भएको र नेपालीहरूको महान् चाड दशैंतिहार नजिकिएकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले निषेधाज्ञा हटाउँदै जानुपर्ने बताउँछन् । उनले देशको बोर्डर क्षेत्र पनि खुकुलो पार्दै भारतीय लगायत विदेशी पर्यटकलाई घुम्न आउन सुरक्षित छ भन्ने सन्देश दिने गरी नीतिनियम ल्याउनुपर्ने जोड दिए ।
 

 

salt training

कमेन्ट गर्नुहोस्