महिनाभर काम गरेर पाइने तलबले सबैलाई खुशी बनाउँछ । तलब पाइने दिन नजिकिँदा कर्मचारी र कामदारमा खुशी बढ्दै जान्छ । तर आयरल्यान्डमा भएको एक घटनामा तलब बोकेर घर लैजाँदा कामदारको पसिना चुहिएको छ ।
आयरल्यान्डको एक रेस्टुरेन्टमा काम गर्ने रियान केओघले मालिकसँग काम गरेको तलब मागिरहेका थिए । समयमा तलब नपाउँदा कामदारले धेरै किचकिच गरेपछि मालिकले उल्टै दुःख दिने उपाय निकाले ।
मालिकले कामदारलाई नोट र बैंक खातामा पैसा पठाउन नसकिने र सिक्का दिने शर्त राखे । कामदारलाई पैसाको खाँचो भएकाले उनले शर्त मन्जुर गरे ।
रेस्टुरेन्ट मालिकले कामदारलाई तलबबापत २ बाल्टीभरि सिक्का दिए । ती सिक्का बोकेर घर पुर्याउँदा कामदारको पसिना चुहियो । अरु बेला बैंकमा तलब पठाउने गरिएको भएपनि मालिकले कामदारलाई दुःख दिने नियतले सिक्कामा तलब दिएको द मिररमा प्रकाशित रिपोर्टमा उल्लेख छ ।
रियानले मालिकको व्यवहारबारे ट्विटरमा गुनासो पोखेका छन् ।