प्रचण्डको भाषण र नेताहरूको मनस्थितिको चित्रण

प्रदीप नेपाल
प्रदीप नेपाल

वामपन्थी नेता नेपाल प्रगतिशील साहित्यकार समेत हुन् ।

सत्ताको कुर्सीबाट ओर्लिएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहालका दुई अभिव्यक्ति फेसबूकमा सुनें । पढें पनि । छक्क परेंं म । यो सोच साँच्चिकै पुष्पकमल दाहालको हो ? पुष्पकमल दाहाल रोएको भनी, नकारात्मक चित्रण गरिएको त्यो भाषण उहाँको जीवनको सबैभन्दा राम्रो भाषण हो । 


Advertisement

‘जनयुद्ध’को चर्चा गर्दा पटक–पटक उहाँ भक्कानिनु भयो । जसले बन्दुक उठाएको हुन्छ, त्यसलाई बन्दुकले दिने यातनाको पीडा बढी थाहा हुन्छ । आफ्ना छापामारहरूलाई शुरूदेखि नै श्रममा लगाउन पाएको भए आज हाम्रो पार्टी एक्लैले सरकार चलाउने थियो भन्दा पनि उहाँ भक्कानिनुभएको थियो । ‘पुष्पकमल रोए’ भनेर ज-जसले लेख्नुभयो, उहाँले सामाजिक परिवर्तनको प्रक्रियाका बारेमा केही बुझ्नुभएको रहेनछ भनेर सबैले बुझ्नुभए राम्रो हुन्छ ।


Advertisement

उहाँका अर्को भाषणको कुरै नगरौं, ‘सत्तामा गएर पनि जनताको सेवा गर्न सकिन्छ भन्ने लागेको थियो, नहुने रहेछ । शहरमा आएर दलाल पूँजीपतिको साथी पो भइएछ, जनता त बिर्सिइएछ ।’

मान्छेको अनुहार देखेर बोल्न सक्ने उहाँको शैलीको बारेमा सुनिएको थियो । हो रहेछ । मलाई विश्वास लाग्यो । प्रगतिशील काम गर्दै प्रतिस्पर्धामार्फत आफ्नो उत्कृष्टता देखाउने भन्ने जनताको बहुदलीय जनवादको निष्कर्ष हो । म बहुदलीय जनवादी हुँ भन्दैमा मान्छे बहदुलीय जनवादी हुँदैन । यो भन्ने कुरा होइन, यो त काम गरेर देखाउने हो ।


Advertisement

बहुदलीय जनवाद मान्ने मान्छेले सशर्त सहयोग स्वीकार्दैन । जनताको बहुदलीय जनवादले संविधानभन्दा माथि कसैलाई देख्दैन । जनताको बहुदलीय जनवादले समानताको कुरो गर्छ, धम्कीको होइन । सबैको सम्मान बरोबर हुन्छ, जिम्मेवारीले मान्छेलाई तलमाथि गराउँछ । मैले सुनेको मात्र हो– दक्षिण कोरियामा पद होइन, उमेरलाई मान गरिन्छ । यो सबैभन्दा राम्रो तरिका हो सम्मानको ।

अहिले नेपालका कुनै नेतासँग पनि मार्क्सवादी हुने योग्यता छैन । यी सबै स्टालिनको सर्वहारा वर्गको अधिनायकत्वका पुजारी हुन् । त्यसैले मलाई पुष्पकमलजीको, ‘शहरमा आएर दलाल पूँजीपतिको साथी पो भइएछ, जनता बिर्सिइएछ’ भन्ने प्रस्टीकरण राम्रो लागेको हो । 

वक्ता पुष्पकमल दाहालजी भए पनि उहाँले नेपालका सबै नेताहरूको प्रतिनिधित्व गर्नुभएको छ । पूर्व प्रधानमन्त्रीहरू कसैले पनि जनतालाई दिमागमा राख्नुभएन । आसेपासे र तलुवा चाट्नेहरू बाहेक अरू कसैलाई यिनीहरू पनि म जस्तै मान्छे हुन् भनेर देख्न सक्नुभएन । म जनताको मालिक होइन, सेवक हुँ भन्ने भावना पनि देखाउन सक्नुभएन । 

सत्तरी वर्षको सेरोफेरोमा हिँडिरहेका नेताहरू फनक्कै फर्किएर आफूलाई म मालिक होइन, जनताको सेवक हुँ भन्न सक्नुहुन्छ भन्ने मलाई कहिल्यै लाग्दैन । उहाँहरू त्यसरी सोच्नसक्ने हुनुहुन्थ्यो एकीकृत समाजवादी पार्टी जन्मने नै थिएन । हाम्रो पार्टीको जीवन कस्तो थियो भने एकजना ‘श्रीकृष्ण अनि अरू सबै चमर हम्काउनेहरू’ !

लेख्न र बोल्न समेत महामहिम अध्यक्षको अनुमति लिनु पर्ने ! मेरो गोरखापत्रमा छापिएको एउटा टिप्पणी नै ‘सेन्सर’ मा पर्‍यो ‘प्रधानमन्त्री र राष्ट्रपतिको बारेमा सम्पादन नगरी गोरखापत्रमा छापिएको लेख’ भन्दै एक जना सम्पादकलाई प्रस्टीकरण पनि सोधिएको थियो ।

नेपालका नेता र जनताको बीचमा अन्तरविरोध त थियो नै । ठीक त्यसै समयमा आयो यो एमसीसी भन्ने घाँडो ।

एमसीसी, नेताहरूले हामीलाई झुक्याएर ल्याउन खोजेका हुन् भन्ने जनतालाई लाग्नु हामी सबैका लागि स्वाभाविक हो । हुन पनि सबै ठूला नेताहरू एमसीसी संसदबाट पास गर्ने तर, नेपालको जिम्मा लिएका भविष्यका नेताहरू पास गर्न नमान्ने दुई भागमा बाँडिए ।

अमेरिकाले बुझाउन नचाहेपछि नेपालका एमसीसीवादीहरूले सम्झाउन त सक्नु पर्‍यो नि !  किन हामीलाई एमसीसी चाहियो, त्यसबाट देशले के पाउँछ, कुन आधारमा त्यसले मुलुकलाई समृद्धि दिन्छ भन्नेजस्ता प्रश्नहरूको उत्तर त दिनु पर्‍यो नि ! नेपालका एमसीसीवादीहरूले ‘यो त पास गर्नै पर्छ’ भन्दैमा अबका नेपालीहरू मान्दैनन् ।

एमसीसी के हो ? अहिले यसलाई संसदबाट पास गराउने आवश्यकता किन पर्‍यो ? जस्ता प्रश्न उठाउने अधिकार जनताबाट खोस्न पनि पाइँदैन ।

हाम्रा नेताहरूलाई जनतालाई नटेर्ने बानी छ । कोशी, गण्डकी, र टनकपुरमा यही भएको थियो । ती ठाउँहरूमा कहिल्यै सार्वजनिक सुनुवाइ गरिएन । एकीकृत महाकाली सन्धिमा पनि यो सुनुवाइ गर्ने काम भएन । सार्वजनिक सुनुवाइ गरिएको यो देशमारा सन्धि हुने नै थिएन । यो एमसीसीलाई पनि उहाँहरूले सामान्य ठान्नु भएको थियो कि ! अथवा जनतालाई सुसूचित गरियो भने उनीहरूले काम थाल्नै नदिने पो हुन् कि ! भन्ने डरले उहाँहरूलाई तर्साएको थियो कि ! 

जे भए पनि एमसीसीवादीहरूकै गम्भीर गल्ती छ । हाम्रा नेताहरूले या त जनतालाई संघीयताको उपहार दिनै हुँदैनथ्यो, अधिकार दिइसकेपछि खोस्न त पाइदैन नि ! तपाईंहरू हिजोको पञ्चायती व्यवस्थाका नेताहरू त होइन, जहाँ ठूलाबडाले बोलेपछि हुन्छ, त्यो सर्वसम्मत हुने चलन थियो ।

तपाईंहरू बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्रको कालमा पनि हुनुहुन्न । जहाँ नेता ठूलै हुन्, जनता मतदाता मतदातै हुन् भन्ने सोच बलियो थियो । अहिले त तपाईंहरू सबैभन्दा ठूलो पालिका सरकार हो भन्ने समयमा हुनुहुन्छ । तपाईंहरूले नै भाषण गर्नुभएको हो – ‘घरघरमा सिंहदरबार’ भनेर । जनताले त सिंहदरबार भन्ने नाम मात्र सुनेका थिए, सिंहदरबार भनेको शासनको स्रोत भन्ने ज्ञान तपाईंहरूले बुझाउनु भएको हो ।

मेरो काम तपाईंहरूलाई सचेत तुल्याउने मात्र हो– जनतालाई दिएको अधिकार जनताबाट नखोस्नुस् । जनताको कुरो सुन्नुहोस्, फातिमा सुमारको धम्की होइन । यो नेता र जनताबीचको दूरी बढाउने सम्झौता हो ।

प्रदीप नेपाल
प्रदीप नेपाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्