
गौरीगञ्ज गाउँपालिका–१ को होक्लाबाडी बस्ती चारैतिरबाट कनकाइको बाढीले घेरेपछि टप्पुमा परिणत भएको छ । बाह्य सम्पर्कबाट विच्छेदका अवस्थामा रहेको सो बस्तीका ८५ परिवारलाई हालसम्म उद्धार गर्न नसकिएको पालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताए ।
बस्तीमा जाने कज्वे बाढीले भत्काएपछि र सोही क्षेत्रमा रहेको काठको डुङ्गासमेत नदीले बगाएपछि उनीहरूलाई उद्धार गर्न नसकिएको उनको भनाइ छ । नदीले बिजुलीको खम्बासमेत बगाएपछि हाल होक्लाबाडी बस्ती अन्धकार भएको छ ।
बस्तीमा आफन्तकामा दसैँको टीका लगाउन विभिन्न स्थानबाट आएका करिब १०० जनासमेत रहेको उनले जानकारी दिए । सो क्षेत्रमा सुक्खा खानेकुरासमेत पु¥याउन सकिएको छैन । यद्यपि हालसम्म सबै जना सुरक्षित रहेका छन् ।