२३ असार २०८३, मंगलबार
तिहारमा विद्युत् व्यवस्थापन

लक्ष्मीपूजामा विद्युत् व्यवस्थापन: प्राधिकरण भन्छ– बत्ती जाँदैन, गइहालेमा तुरुन्त फोन गर्नुस् !

कात्तिक १८, २०७८
लक्ष्मीपूजामा विद्युत् व्यवस्थापन: प्राधिकरण भन्छ– बत्ती जाँदैन, गइहालेमा तुरुन्त फोन गर्नुस् !

मंगलवार दिउँसोबाट चितवनको भरतपुर महानगरपालिकामा विद्युत् आपूर्ति रोकियो । 

त्यहाँको १३२/११ बसेनी ग्रीड सबस्टेसनको पावर ट्रान्सफर्मरहरूमा समस्या आएपछि महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा तथा तनहुँको देवघाट क्षेत्रमा समेत विद्युत् आपूर्ति रोकियो । 

तिहारको मुखमा विद्युत् आपूर्तिमा अवरोध आएपछि प्राधिकरणले प्राथमिकताका साथ मर्मतको काम गर्‍यो । 

बिग्रिएको ट्रान्सफर्मर हटाएर २२.५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडान गर्न प्राधिकरणलाई लामै समय लाग्यो । 

जसले गर्दा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोलीले मर्मतको स्थलगत निरीक्षण समेत गरे ।  

शनिवार बिहानैदेखि सबस्टेसनमा रहेको २ वटामध्ये एउटा ट्रान्सफर्मरमा समस्या देखिएको थियो । 

अर्कोमा पनि मंगलवारदेखि समस्या देखिएपछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो । 

प्राधिकरणका अनुसार सो क्षेत्रमा बत्ती जाँदा करीब ५५ हजार ग्राहक विद्युत सेवाबाट वञ्चित भएका थिए । 

३६ घण्टापछि सो क्षेत्रमा बिजुली बलेको प्राधिकरणले जनाएको छ ।

बत्तीहरूको पर्व मानिएको तिहार शुरू हुँदै गर्दा भरतपुरमा सो समस्या आएपनि तिहार अवधिभर समस्या नआउने प्राधिकरणले बताएको छ । 

विभिन्न समस्याले अरू दिनमा विद्युत् आउने–जाने भइरहेपनि तिहारको समयमा भने त्यस्तो नहुने प्राधिकरणका सिस्टम अपरेसनका निर्देशक एवं प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन् । 

उनले लक्ष्मी पूजामा सामान्य अवस्थामा भन्दा केही बढी विद्युत् खपत हुने भन्दै यसबाट प्रणालीमा कुनै समस्या नपर्ने बताए  । 

उनका अनुसार प्राधिकरणले लक्ष्मी पूजामा ग्राहकहरूबाट करीब १२ सय मेगावाट विद्युत् खपत हुने प्रक्षेपण गरेको छ ।

तिहारमा उद्योगधन्दा तथा कलकारखाना बन्द रहने भएकाले औद्योगिक लोड नपर्ने उनले बताए । 

‘यस समयमा औद्योगिक तथा व्यापारिक लोड कम हुन्छ, सामान्य अवस्थामा भन्दा केही बढी घरायसी खपत हुन्छ,’ लोकान्तरसँग उनले भने । 

सामान्य अवस्थामा पिक आवरमा १४ सयदेखि १५ सय मेगावाटको हाराहारीमा विद्युत् खपत भएको सुनाउँदै उनले बुधवार (लक्ष्मी पूजाको दिन) भने १२ सय मेगावाट विद्युत् खपत हुने अनुमान गरिएको बताए । 

आफ्नै उत्पादनले धान्छ माग

विगतमा तिहारका समयमा केही मात्रामा विद्युत् भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको थियो । 

तर यसपटक भने नेपालको आफ्नै उत्पादनले माग धान्ने देखिन्छ । 

गत असारदेखि नै मुलुकमा विद्युतको उत्पादन बढी, खपत कम हुँदै आएको अवस्था छ ।

अहिले खपत केही बढी भएमा पनि भारतबाट आयात गर्नु नपर्ने प्राधिकरण बताउँछ । 

प्राधिकरणका प्रवक्ता भट्टराईले अहिले औद्योगिक लोड नहुने भएका कारण विद्युत्को खपत कम नै हुने बताए । 

उनले भने, ‘तिहार बत्तीको पर्व हो, तर खपत चाहिँ कम हुन्छ । त्यसकारण आयात गर्नुपर्ने अवस्था रहेको छैन ।’

तिहार अवधिभर कतै बत्ती जाँदैन 

प्राधिकरणले तिहारको समयमा ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै विद्युत् आपूर्तिमा अवरोध नहुने बताएको छ । 

‘विभिन्न किसिमका मर्मत तथा अपग्रेडका कामहरू अस्तिदेखि नै हामीले रोकिसकेका छौँ, अहिले विना अवरोध विद्युत् आपूर्ति हुन्छ,’ प्रवक्ता भट्टराई बताउँछन् ।

उनका अनुसार तिहारको समयमा कतै पनि विद्युत आपूर्ति नरोक्न प्राधिकरणले सम्बन्धित सबै निकायलाई सूचना पठाइसकेको छ । 

केही दिन अघिसम्म तिहारलक्षित मर्मतका काम गरेको भएपनि अहिले मर्मत सम्भारका काम रोकेको उनले सुनाए । 

समस्या आए फोन गरौँ, एकपटक नलागे पटक–पटक गरौँ 

प्राधिकरणले तिहारमा विद्युत् आपूर्तिमा समस्या आउन नदिन सबै नोडाल कार्यालयहरूमा निर्देशन दिइसकेको छ ।

यति हुँदाहुँदै पनि कुनै समय विद्युत् रोकिएमा तत्कालै नजिकैको विद्युत वितरण केन्द्रमा फोन गरेर समस्या टिपाउन उनले आग्रह गरे । 

उनले सकभर विद्युत् नजाने र गइहालेमा तुरुन्तै बनाउनका लागि सम्बन्धित कर्मचारीलाई तयारी अवस्थामा राखिएको समेत सुनाए । 

‘सबै स्रोतहरूलाई परिचालन गर्न तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘मोबाइल फोन डिस्टर्ब हुन सक्छ, एकचोटि लागेन भने दोस्रो वा तेस्रोपटकसम्ममा पनि लाग्न सक्छ ।

विद्युत आपूर्तिमा समस्या भयो भने फोन गरेर जानकारी गराउनुहोला ।’

तिहारलाई झिलिमिली बनाउनका लागि विद्युत ढुक्क भएर प्रयोग गर्न उनले उपभोक्तामा आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्