२७ असार २०८३, शनिबार
भारत-चीन तनाव

भारत र चीन भिड्ने मूडमा, उच्च भूभागमा दुवै पक्षको कठिन युद्धाभ्यास !

कात्तिक २३, २०७८
भारत र चीन भिड्ने मूडमा, उच्च भूभागमा दुवै पक्षको कठिन युद्धाभ्यास !

भारत र चीनबीच लामो समयदेखि चलिरहेको सीमाविवाद समाधान हुने कुनै लक्षण देखिएको छैन । उल्टो एसियाका यी दुई विशाल राष्ट्रबीच युद्ध हुने सम्भावना बढेको छ । 

लद्दाखमा विवादित सीमाका विषयमा दुई देशका कोर्प्स कमान्डर तहमा १३ चरणको वार्ता भइसकेको छ । तर ती सबै विफल भएका छन् । पछिल्लोपटक अक्टोबर १० मा भएको वार्ता पनि सफल भएन किनकि पूर्वी लद्दाखको हट स्प्रिङ्सबाट दुवै पक्षका सैनिक पछि हटाउने विषयमा सहमति बन्न सकेन । 

यसैबीच चीनले भारतसँगको सीमाका अन्य क्षेत्रमा समेत दबाब बढाउँदै लगेको छ । भारतको उत्तराखण्डमा रहेको बाराहोटी सेक्टरमा अनि अरुणाचल प्रदेशको तवाङ सेक्टरमा चिनियाँ सैनिकहरू भारतीय भूमिमा प्रवेश गरेको र विध्वंस मच्चाएको खबर हालसालै आएको थियो । 

अनि चीनले वास्तविक नियन्त्रण रेखा नजिक धमाधम संरचना बनाइरहँदा भारतले जोखिम अनुभव गरिरहेको छ । भुटान र सिक्किमबाट नजिक रहेको चुम्बी उपत्यकामा चीनले नयाँ नयाँ संरचनाहरू बनाइरहँदा भारतले आफ्नो महत्त्वपूर्ण रणनीतिक क्षेत्र सिलिगुडी कोरिडोर खतरामा पर्ने भनी चिन्ता व्यक्त गरिरहेको छ । चिकेन नेक भनिने उक्त कोरिडोरले उत्तरपूर्वी भारतका सात राज्यलाई मुख्यभूमि भारतसँग जोड्छ । 

भारतका लागि चिन्ताको विषय भनेको चीन र पाकिस्तानबीचको इन्टरअपरेबिलिटी थप बलियो बन्दै गएकाले भारतले दुई मोर्चामा एकैपटक युद्ध गर्नुपर्ने स्थिति पनि आउन सक्छ । 

सीमानजिक चीनको संरचना निर्माणका विषयमा भारतका सेनाप्रमुख मनोज मुकुन्द नरवणेले चिन्ता व्यक्त गरेका छन् । त्यस्तै भारतीय सेनाका पूर्वी सेक्टर कमान्डर मनोज पाण्डेले वास्तविक नियन्त्रण रेखा नजिक चीनले नागरिक तथा सैन्य प्रयोजन दुवैका लागि गाउँ बनाइरहेको बताएका छन् । त्यसले भारतलाई रणनीतिक जोखिम निम्त्याउने उनको भनाइ छ ।

चीनले सीमामा पूर्वाधार निर्माणलाई गति दिएपछि भारतले पनि महत्त्वपूर्ण सडक तथा सुरुङ निर्माणका साथै सीमामा निगरानी पनि बढाएको छ । यसैक्रममा उसले अमेरिकामा बनेका विभिन्न हातहितयार सीमाक्षेत्रमा तैनाथ गरेको छ । चिनूक हेलिकप्टर, अल्ट्रालाइट हावित्जर र राइफलका साथै भारतमै बनेको सुपरसोनिक क्रुज क्षेप्यास्त्र पूर्वी तिब्बतका सीमा क्षेत्र नजिक भारतले तैनाथ गरेको ब्लूमबर्ग पत्रिकाले खबर दिएको छ । भारत र अमेरिकाबीचको रक्षा सम्बन्ध थप मजबूत बन्दै गइरहेको संकेत पनि यसले दिएको छ ।

चीनले अमेरिका र भारतबीच बढ्दो रक्षा सम्बन्धलाई आफूविरुद्धको घेराबन्दी प्रयासका रूपमा लिएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले लगातार भारतलाई अमेरिकाको पछि नलाग्न चेतावनी दिँदै आलेखहरू प्रकाशन गरिरहेको छ । युद्ध भएको खण्डमा भारतको लज्जापस्पद पराजय हुने पनि उसले चेतावनी दिने गरेको छ । 

भारतलाई प्रतिकार गर्नका लागि चिनियाँ जनमुक्ति सेनाले पश्चिमी क्षेत्रमा युद्ध अभ्यास गरिरहेको जानकारी पनि चिनियाँ सञ्चारमाध्यमहरूले दिएका छन् । 

गत साता मात्र चिनियाँ सेनाको सिन्च्याङ मिलिटरी कमान्डले निकै उचाइको क्षेत्रमा विस्तृत र रातदिनको निरन्तर अभ्यास गरेको भनी शनिवार चाइना सेन्ट्रल टेलिभिजनले खबर दिएको छ । त्यसक्रममा उसले सेल्फ प्रोपेल्ड हावित्जरको लाइभ फायर अभ्यास तथा रकेट लोन्चरहरूबाट पनि प्रक्षेपण अभ्यास गरेको छ । तिब्बतको पठारमा जाडोको समयमा कठ्यांग्रिदो परिस्थितिमा सैनिकहरूलाई गोली चलाउनका लागि तथा युद्धमा भिडन्तका लागि अभ्यास गराएर चीनले भारतलाई कठोर सन्देश दिन खोजिरहेको छ ।

उता भारतले पनि कठ्यांग्रिदो जाडोमा युद्धका लागि तयारी गर्न १७ माउन्टेन स्ट्राइक कोर्प्सहरूलाई अरुणाचल प्रदेशमा अभ्यासका लागि पठाएको छ । जाडोमा लड्नका लागि एकीकृत लडाइँ समूहको रणनीति अपनाएर त्यसलाई थप बलियो बनाउन भारतले यो अभ्यास गराएको रणनीतिक टिप्पणीकारहरू बताउँछन् । 

त्यसैगरी भारतीय सैनिकहरूले अक्टोबर महिनामा अमेरिकी सैनिकहरूसँग मिलेर अलास्कामा सैन्य अभ्यास गरेका थिए । युद्ध अभ्यास नाम दिइएको उक्त अभ्यास चिसो पहाडी इलाकामा गरिएको थियो । अमेरिकी र भारतीय सैनिकबीच सहकारवाही (इन्टरअपरेबिलिटी) लाई व्यवस्थित गर्नुका साथै भारतीय सैनिकहरूलाई उत्तरी सीमाका पहाडी क्षेत्रको चिसोमा चिनियाँ सेनाविरुद्ध लड्नका लागि अभ्यस्त बनाउन यो अभ्यास गरिएको हो ।  

चीन (र पाकिस्तान) बाट आउने जोखिम कायम रहँदा भारतका उच्चतम सैन्य अधिकृत चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले गत साता स्थलसेना, जलसेना र वायुसेनालाई थिएटर कमान्डहरू बनाउने विषयमा अध्ययनलाई गति दिन निर्देशन दिएका छन् । सम्भावित युद्धमा सेनाको स्रोत परिचालनलाई थप सुव्यवस्थित बनाउन थिएटर कमान्डले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा अध्ययन गरेर ६ महिनाभित्र प्रतिवेदन प्रस्तुत गर्न जनरल रावतको अध्यक्षता रहेको डिपार्टमेन्ट अफ मिलिटरी अफेयर्सले निर्देशन दिएको छ ।

यसैबीच चीनले स्थल सीमासम्बन्धी नयाँ कानून ल्याएर सीमामा सैन्य तथा सशस्त्र प्रहरीको गतिविधिलाई वैधता दिने प्रयास गरेको छ । नागरिक र सुरक्षाकर्मीहरू मिलेर सीमा सुरक्षा गर्ने अवधारणा यस कानूनले प्रस्तुत गरेको छ ।

चीनको स्थल सीमा २२ हजार ११७ किलोमिटर छ र त्यसमध्ये अधिकांश भाग दुर्गम छ । तर विशेषगरी भारत र भुटानसँगको सीमामा विवाद रहेकाले चीनको सार्वभौमसत्तामा हुने कुनै पनि दखललाई रोक्नका लागि चिनियाँ सेनालाई नयाँ कानूनले वैधता दिएको विश्लेषकहरू बताउँछन् । 

भारतको सेन्टर फर पोलिसी रिसर्च नामक थिंकट्यांकमा आबद्ध रक्षा मामिला विश्लेषक ब्रह्मा चलानीले निक्केई एसियामा प्रकाशन गरेको आलेखमा चीनको नयाँ सीमा कानून भारतको भूमिमा अतिक्रमणलाई थप बढाउनका लागि ल्याइएको तर्क गरेका छन् । उनका अनुसार, यस कानूनले भारतसँगको भूभागीय विवादलाई शान्तिपूर्ण तवरले हल गर्ने सम्भावनालाई नकार्छ । पारस्परिक सहमतिमा सीमा निर्धारण गर्ने भन्दा पनि यस कानूनले एकपक्षीय रूपमा चीनले भनेमुताबिकको सीमालाई मान्न बाध्य बनाउनेछ । 

चीनले तीन कदम अघि बढ्ने अनि एक कदम पछि हट्ने सलामी स्लाइसिङ नीति अपनाएर भारतको ठूलै भूभागमा कब्जा जमाइसकेको चलानीले बताउने गरेका छन् र नयाँ कानूनको नागरिक–सैन्य साझेदारीको अवधारणा तथा सीमाक्षेत्रमा चिनियाँहरूलाई बसोबासका लागि प्रेरित गर्दा सलामी स्लाइसिङलाई वैधता त दिन खोजिएको त छैन भन्ने आशंका पनि बढिरहेको छ ।

गत साता अमेरिकाको रक्षा मन्त्रालयले त्यहाँको संसद् कंग्रेसमा पेश गरेको प्रतिवेदनमा चीनले भारत र ताइवान दुवै मोर्चामा युद्धको तयारी गरिरहेको उल्लेख छ । अरुणाचल प्रदेश नजिक विवादित सीमाक्षेत्र सुबानसिरीमा चीनले गाउँ बनाइरहेको र भारतको भूमिमा पनि प्रवेश गर्ने गरेको त्यसमा लेखिएको छ ।

चीनले चाहिँ आफ्नो सीमा कानूनका विषयमा भारतले जनाएको प्रतिक्रिया अनुचित रहेको बताएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनबिनले यस कानूनबाट सीमाका विषयमा चीनको वर्तमान अडानमा कुनै फरक नपार्ने उनले स्पष्ट पारेका छन् । 

ग्लोबल टाइम्सले यस विषयमा साउथवेस्ट युनिभर्सिटी अफ पोलिटिकल साइन्स यान्ड लमा स्कूल अफ इन्टरनेसनल लकी सहप्राध्यापक छ्वान स्याओल्यानको प्रतिक्रिया लिएको छ । उनी यस कानूनकी एक मस्यौदाकार समेत हुन् । 

उनका अनुसार, यस कानूनले चीन र भारतको सीमा विवाद समाधान गर्ने लक्ष्य नलिएकाले भारतको चिन्ता अनुचित छ । सबै मुलुकले आफ्नो भूभागको सुरक्षा गर्ने अधिकार राख्ने र यो नयाँ कानून अन्तर्राष्ट्रिय कानून बमोजिम नै बनेको उनको भनाइ छ । चीनले यस्तो स्पष्टीकरण दिएको भए पनि नयाँ कानूनका विषयमा भारतको शंका कायम छ र दुई देशबीचको सम्भावित युद्धका लागि यसले योगदान गर्ने देखिन्छ ।

अनि गत साता अमेरिकाको रक्षा मन्त्रालयले त्यहाँको संसद् कंग्रेसमा पेश गरेको प्रतिवेदनमा चीनले भारत र ताइवान दुवै मोर्चामा युद्धको तयारी गरिरहेको उल्लेख छ । अरुणाचल प्रदेश नजिक विवादित सीमाक्षेत्र सुबानसिरीमा चीनले गाउँ बनाइरहेको र भारतको भूमिमा पनि प्रवेश गर्ने गरेको त्यसमा लेखिएको छ । भारतले त्यसको प्रतिक्रिया अवश्य जनाउने हुनाले यिनीहरूबीच युद्ध हुन सक्छ भलै त्यो युद्ध सानो स्तरको (बोर्डर स्कर्मिश) मात्र किन नहोस् । तर भारतका लागि चिन्ताको विषय भनेको चीन र पाकिस्तानबीचको इन्टरअपरेबिलिटी थप बलियो बन्दै गएकाले भारतले दुई मोर्चामा एकैपटक युद्ध गर्नुपर्ने स्थिति पनि आउन सक्छ । 

salt training

कमेन्ट गर्नुहोस्