१७ असार २०८३, बुधबार

मनाइयो हरिबोधिनी एकादशी पर्व

कात्तिक २९, २०७८
मनाइयो हरिबोधिनी एकादशी पर्व

भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी वा ठूलो एकादशी पर्व मनाइएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन यो पर्व मनाउने गरिन्छ । आज तुलसीको दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गरेपछि चार महिना लामो व्रत उद्यापनका लागि भोलिदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा हवन गर्छन् । भोलिदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म तुलसी पूजाको उद्यापनका लागि हवनसहित पूजाआराधना गर्न जुराउनु पर्दैन ।

    आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आजै ब्युँझने भएकाले कात्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

    आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

    तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।रासस

salt training

कमेन्ट गर्नुहोस्