
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत चितवन जिल्लाको अधिवेशन अन्योलमा परेको छ ।
नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो ।
कांग्रेस चितवनको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका पोख्रेलले निर्वाचन अधिकृतबाट राजीनामा दिएसँगै निर्वाचन कहिले हुने टुंगो लाग्न सकेको छैन । पोख्रेलले स्वास्थ्य अवस्था प्रतिकूल रहेको भन्दै केन्द्रीय निर्वाचन समितिलाई राजीनामापत्र बुझाएका हुन् ।
कांग्रेसको वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा पोख्रेलले राजीनामा दिएसँगै जिल्लाको अधिवेशनमा अन्योलता छाएको हो । राजीनामा गर्नुअघि निर्वाचन समितिले आज मनोनयन दर्ता र १९ गते मतदान गर्न केन्द्रीय निर्वाचन समितिलाई सिफारिस गरेको थियो ।
कार्यतालिका अनुसार कामअघि बढ्नुपर्ने समयमा निर्वाचन अधिकृतको राजीनामाले अन्योल छाएको नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताए । एक विज्ञप्ति जारी गर्दै उनले अचानक निर्वाचन अधिकृत पोख्रेलको राजीनामा आउनुले अचम्मित र गम्भीर बनाएको बताए । रासस