
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यमा निर्वाचित उम्मेदवारको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । रास्वपा निर्वाचन आयोगले निर्वाचित हुने सबै ९९ उम्मेदवारको सूची प्रकाशित गरेको हो ।
निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् ।
रास्वपाको आइतबारदेखि महाधिवेशन जारी छ । आन्तरिक व्यवस्थामा भएको कठिनाइका कारण महाधिवेशन लम्बिएको छ ।
००००
जापान र स्वीडेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।
००००
इक्वेडरले बलियो टोली जर्मनीलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान पक्का गरेको छ । सन् २००६ पछि इक्वेडर विश्वकपको समूह चरण पार गर्न सफल भएको यो पहिलो पटक हो ।
००००
निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले कुरासाओलाई पराजित गर्दै आइभोरी कोस्टले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । यसअघि खेलिएका तीनवटै विश्वकपमा समूह चरणबाटै बाहिरिएको आइभोरी कोस्टलाई अघिल्लो चरण प्रवेशका लागि यसबाट मात्र १ अंकको आवश्यकता थियो ।
००००
नेपाल रेडक्रस सोसाइटीले आफू मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिहरू सम्बन्धमा उजुरी पठाउन सम्बन्धित सबैमा आह्वान गरेको छ ।
रेडक्रसले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिहरू सम्बन्धमा शून्य सहनशीलता प्रति प्रतिबद्ध रहँदै आएको जनाएको छ । त्यसका बाबजुद पनि साङ्गठनिक एवं गतिविधिहरू सञ्चालन गर्दा विभिन्न तहमा आर्थिक अनियमितता, भ्रष्टाचार तथा बेथितिहरूका समाचार प्रकाशन एवं प्रसारण हुँदै आएकाले संस्थाको छवि र निष्ठामा दूरगामी नकारात्मक प्रभाव पर्दै आएको भन्दै सो आह्वान गरिएको हो ।
००००
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई प्राप्त ‘म्याण्डेड’ अनुसार सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन भइरहेको बताएका छन् ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा बिहीबार सञ्चारकर्मीसँगको भेटमा उनले मौसमजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गरी सरोकारवाला निकायसँग पूर्णसमन्वयका साथ काम प्रारम्भ भइसकेको बताए ।
००००
नेपालको ई–पासपोर्ट छपाइसम्बन्धी ठेक्कामा संलग्न दुई जर्मन कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको विषयमा जर्मन सरकारले आपत्ति जनाएको छ।
जर्मन विदेश मन्त्रालयले जर्मनीस्थित नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँललाई मन्त्रालयमा बोलाएर विरोधपत्र हस्तान्तरण गरेको हो ।
००००
सरकारले ल्याउन लागेको नयाँ सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सवारीधनीलाई कडा आर्थिक दण्डको व्यवस्था प्रस्ताव गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात व्यवस्था विधेयक’मा विभिन्न कसुरका लागि हालको तुलनामा उल्लेख्य रूपमा बढी जरिवाना तोक्ने प्रस्ताव गरिएको हो ।
मन्त्रालयले तयार गरेको विधेयक हाल राय–सुझावका लागि कानुन मन्त्रालयमा पठाइएको छ । विधेयकको दफा ६२ मा तत्काल जरिवाना गर्न सकिने व्यवस्थाअन्तर्गत विभिन्न ट्राफिक कसुरका लागि नयाँ जरिवाना प्रस्ताव गरिएको छ । जसमा १० हजार देखि १ लाखसम्म तोकिएको छ ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार संघीय संसद् प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो ।
००००
कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नदिई सेन्टर खाली गराउन खोजिए आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई शुक्रबार (१२ असार) भित्र स्थान खाली गर्न सूचना जारी गरेपछि उनीहरू आक्रोशित बनेका हुन् ।
००००
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा झन्डै एक तिहाइ प्रतिनिधि मतदानमा अनुपस्थित भएका छन् ।
कूल ४३११ प्रतिनिधिमध्ये २९५९ जनाले मात्र मतदानमा भाग लिएका छन् । बाँकी १३५२ जना मतदानमा अनुपस्थित रहे ।
००००
एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
पौडेलका तर्फबाट पत्नी दोमायाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एक इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
००००
विश्वकप फुटबलको माहोल तातिरहँदा नेपाली फुटबल भने विश्व फुटबल महासंघ (फिफा) को निलम्बनमा परेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)मा तेस्रो पक्ष (सरकार)ले अनावश्यक हस्तक्षेप गरेको भन्दै फिफाले नेपाली फुटबललाई निलम्बन गरेको हो ।