
विस्तारको क्रममा रहेको बुटवल-गोरुसिंगे सडक खण्डअन्तगर्त रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको डाइभर्सन बाढीले बगाइदिएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने पुल केही महिनाअघि भासिएपछि डाइभर्सनबाट गाडी सञ्चालन हुँदै आएको थियो ।
वर्षाले डाइभर्सन बगाएपछि सडक पूर्ण बन्द भएको छ । वैकल्पिक सडक प्रयोग गर्न आग्रह प्रहरीले गरेको छ ।
इलाका प्रहरी कार्यालय, सालझण्डीका इन्स्पेक्टर सागर घलेले अर्को लामो डाइभर्सनबाट गाडी सञ्चालन गरिएको बताए । डाइभर्सन निर्माणको लागि सडक डिभिजनसँग समन्वय भइरहेको घलेको भनाइ छ ।
पश्चिमबाट पूर्व आउने लामो दुरीका गाडीहरू गोरुसिंगेबाट तौलिहवा भैरहवा हुँदै भुमही जाने गरेको छन् भने, पूर्वबाट पश्चिम जाने गाडीहरू नवलपरासीको भूमहीबाट भैरहवा, लुम्बिनी, तौलिहवा हुँदै गोरुसिंगे भएर पश्चिमतर्फ जाने छन् ।
गत वर्षदेखि विस्तार शुरू भएको सडकमा यात्रुले सास्ती खेप्दै आएका छन् ।