काठमाडौं, १२ असार– राज्यलाई नोक्सान हुनेगरी अर्बौं रुपैयाँको राजश्व छुट दिइएको सम्बन्धमा तत्कालिन कर फर्स्योट आयोगका एक जना सदस्य आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुणामणि शर्मालाई पक्राउ गरेसँगै ‘फरार’ अन्य २ पदाधिकारी अझै सम्पर्कमा आउन सकेका छैनन् । कर फर्स्योट अनियमिततामा संलग्न आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकाललाई पक्राउ गर्न सार्वजनिक सूचना जारी गरेको करीव १ साता पुग्न लाग्दासमेत उनीहरू सम्पर्कमा आउन सकेका छैनन् ।
गत जेठ १९ गते चुणामणि शर्मालाई पक्राउ गरेर अनुसन्धान अघि बढाए पछि कर फर्स्योट अनियमितता सम्बन्धमा थप अनुसन्धानका लागि बाँकी २ पदाधिकारीलाई पनि अख्तियारले आयोगमा हाजिर हुन पत्र पठाएको थियो । तीन दिनको समय दिएर अख्तियारले उनीहरूलाई आयोगमा हाजिर हुन पत्र पठाएको थियो ।
समयावधि नै किटान गरेर अख्तियारले पत्र काटे पनि ती पदाधिकारी सम्पर्कमा नआएपछि अख्तियारले प्रहरी प्रधान कार्यालयमा पत्र पठाएर पक्राउ पूर्जी जारी गरेको छ । अख्तियारले गत बिहीवार गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर उनिहरूको पक्राउमा सहयोग गर्न सर्वसाधरणलाई अपिल समेत गरेको छ । त्यसयता अख्तियारले तीन दिन उनिहरूलाई पक्राउ गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
कहाँ गए ‘फरार’ पदाधिकारी ?
अख्तियार स्रोतका अनुसार तत्कालिन कर फर्स्योट आयोगका ती पदाधिकारी अहिले नेपालमा छैनन् । ‘अनुसन्धानमा संलग्न प्रहरीले उनिहरू दुवै जना पदाधिकारी अहिले नेपालभित्र नरहेको अनौपचारिक जानकारी अख्तियारलाई दिएका छन्,’ अख्तियार स्रोतले लोकान्तरसँग भन्यो ।
अख्तियारले गत जेठ अन्तिम साता ती पदाधिकारीलाई आयोगमा हाजिर हुन पत्र पठाए पनि सम्बन्धित पदाधिकारी फेला पार्न नसकेको बताएको थियो । सम्बन्धित पदाधिकारीलाई पत्र थमाउन नसकेपछि त्यसै बेला अख्तियारले उनीहरू नेपालमा नरहेको आशंका गरेको थियो ।
‘चुणामणि शर्मालाई पक्राउ गरेसँगै उनीहरू देश छाडेर भागेको हुनसक्छन्,’ अख्तियार स्रोतले भन्यो । प्रहरीले समेत त्यसको जानकारी दिएपछि उनीहरू नेपालमा नरहेको निष्कर्शमा अख्तियारका अधिकारी पुगेका छन् ।
प्रहरीले फरार ती पदाधिकारीलाई खोज्ने प्रयास गरिरहेको अख्तियार बताउँछ । ‘दुवै पदाधिकारी अहिले अख्तियार र प्रहरीसमेतलाई टाउको दुखाई भएका छन्,’ अख्तियार स्रोतले भन्यो ।
राजनीतिक संरक्षण अर्को अवरोध
कर फर्स्योट आयोगका पदाधिकारी महत र ढकाल दुवै राजनीतिक संलग्नताका हिसावले पनि चर्चामा रहँदै आएका छन् । महत नेपाली कांग्रेस निकट तथा त्यसमा पनि कांग्रेसका नेता र पूर्व अर्थमन्त्री रामशरण महतसँग नजिक मानिन्छन् ।
त्यस्तै, ढकाल पनि नेकपा एमाले निकट रहेको ठानिन्छ । दुवै पदाधिकारी राजनीतिक संलग्नताका हिसावले राजनीतिक दल निटक देखिएकाले त्यसले गर्दा पनि अनुसन्धानमा अवरोध भएको कतिपयको बुझाई छ । उनीहरूमाथि राजनीतिक संरक्षण रहेको मानिन्छ । यसअघि पक्राउ पर्नुअघि चुणामणि शर्माले पनि तीब्र लबिङ गरेपनि अन्ततः उनी पक्राउ परेका थिए ।
अख्तियारले कर फर्स्योटमा अनियमितता भएको सम्बन्धमा अनुसन्धान जारी राखेको छ । कर फर्स्योटका नाममा २१ अर्ब रुपैयाँ अनियमितता गरिएको र त्यसमाथि अनुसन्धान गर्नुपर्ने महालेखा परीक्षकको ५४ औं प्रतिवेदनले उल्लेख गरेपछि त्यसमाथि अख्तियार छानविन अघि बढाएको थियो ।
तत्कालिन कर फर्स्योट आयोगका एक सदस्य आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुणामणि शर्मालाई हिरासतमा लिएर अख्तियारले बयान लिइरहेको छ ।
कर फर्स्योटमा अनियमितता गरिएको भन्दै पक्राउ गरिएयता अख्तियारले अख्तियारले झण्डै आधा दर्जन पटक म्याद थपेर उनीसँग बयान लिइरहको छ ।
अख्तियार स्रोतका अनुसार राजश्व अनियमिततासँग जोडिएका झण्डै ११ सय ६९ फाईलमाथि अहिले अध्ययन भइरहेको छ । आयोगका दुई पदाधिकारी सम्पर्कमा नआउँदा अनुसन्धानमा जटिलता थपिएको अख्तियारले जनाएको छ ।