०९ साउन २०८३, शनिबार

नाडालाई अटोमोबाइल्सका सबै व्यवसायीको साझा संस्था बनाउन मेरो उम्मेदवारीः दीपककुमार अग्रवाल [अन्तर्वार्ता]

मंसिर २१, २०७८
नाडालाई अटोमोबाइल्सका सबै व्यवसायीको साझा संस्था बनाउन मेरो उम्मेदवारीः दीपककुमार अग्रवाल [अन्तर्वार्ता]

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को ४५ औं साधारण सभा बुधवार र बिहीवार हुँदैछ  । 

नाडाको अध्यक्ष पदमा युवा व्यवसायी करण चौधरी र ध्रुव थापाले प्यानल नै बनाएर उम्मेदवारी दिएका छन् । 

सहमतिको प्रयास भएपनि नाडामा अहिलेसम्म सहमति हुन सकेको छैन । अब सहमतिको सम्भावना सकिएको दुवै पक्षका उम्मेदवारहरूले बताउन थालेका छन् ।

यसबीचमा लोकान्तरले नाडाको निर्वाचनमा थापा प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका व्यवसायी दीपककुमार अग्रवालसँग नाडा निर्वाचन विशेष सम्वाद गरेको छ ।

अग्रवाल नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोर्टर्सका डाइरेक्टर हुन् । 

प्रस्तुत छ, दीपककुमार अग्रवालसँगको सम्वादको सम्पादित अंशः

नाडाको निर्वाचनको पूर्वसन्ध्यामा छौँ । निर्वाचनको तयारी कसरी गरिरहनुभएको छ ? 

चुनाव जोडले लागेको छ । हामीले करीब तीन महिनादेखि नै चुनावको तयारी गरिरहेका छौँ । काठमाडौंदेखि देशभर नै विभिन्न क्याम्पेन तथा कार्यक्रमहरूको आयोजना गरेका छौं ।

हाम्रा मतदाता तथा व्यवसायीहरूसँग हामीले प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै तरिकाले मतदातालाई राख्ने र आफ्नो एजेन्डा राख्ने काम नै भइरहेको छ । अब त निर्वाचन नै आइसक्यो । हामी निर्वाचनमा जोडतोडका साथ लागिरहेका छौं । अहिले पनि काठमाडौंका व्यवसायीहरूसँग मत मागेर आएका हौँ ।

नाडामा सहमतिमै नेतृत्व चयन गर्ने चर्चा पनि थियो । अब सहमतिबाट नेतृत्व चयन गर्ने सम्भावना सकिएको हो ? 

आइतवार उम्मेदवारी घोषणाको कार्यक्रम थियो । उम्मेदवारी घोषणा गर्दासम्म पनि हामीले सहमतिमा हुन्छ कि भनेर छलफल गरेका थियौँ । तर भएन । सहमतिको बाटो २३ गते बिहान ८ बजेसम्म पनि खुला छ । यसरी हेर्दा सहमतिको सम्भावना अझै छ । सहमतिका लागि प्रयत्न नभएका पनि होइनन् । तर केही असमझदारी देखिएका छन्, त्यसकारण सहमति जुट्ने जस्तो अवस्था मैले व्यक्तिगत रूपमा देखेको छैन ।

सहमतिका लागि बाधक के बन्यो ? 

सहमतिको बुँदा मिलेर आउने कुरा हो । अहिलेको मुख्य कुरा नै अध्यक्ष अहिले को हुने भन्ने हो । यस विषयमा सहमति हुँदा अन्य कुराहरू सहमति हुन्छन् भन्ने मलाई लाग्छ ।

नाडामा धुव्र थापाको अनुभव लामो छ, उहाँले सबैलाई एकैठाउँमा ल्याएर काम गर्न सक्ने नेतृत्व क्षमता छ, जसमा हामी सबैले विश्वास गरेका छौँ । त्यसकारण हामीले अहिले ध्रुव थापालाई अध्यक्ष बनाऔँ भनेका हौँ ।

अर्को प्यानलले यसलाई नमानेको अवस्था भएकाले सहमति हुन नसकेको हो । चुनावमा पनि सजिलै जित्ने हाम्रो विश्वास रहेकाले यसबाट पछि हट्न नसकिने भएको हो । जसले गर्दा सहमति हुन सकेको छैन ।

नाडाको सदस्य पदमा तपाईंको उम्मेदवारी किन ? 

नाडामा अटोमोबाइल्स व्यवसायसँग सम्बन्धित सबै स्टेकहोल्डर तथा व्यवसायीको साझा नाडा बनाउन मेरो उम्मेदवारी हो । सक्रिय सहभागिता, पारदर्शिता तथा स्वस्थ नाडा बनाउन मेरो उम्मेदवारी हो ।

तपाईंले आफूलाई नाडामा ‘विद्रोही सदस्य’को रूपमा चिनाउँदै आउनुभएको छ । कार्यसमितिमा रहेर काम पनि गर्नुभयो । आफ्नो कार्यकालमा तपाईंले गर्नुभएका मुख्य काम के के हुन् ?

म नाडाको राजस्व समितिमा पनि छु । हामीले नाडामा विभिन्न तालिम, प्रशिक्षणहरू दिने काम गरेका छौँ । सूचनामूलक, करको दर र दायरामा हुने घटबढ लगायतका विषयमा पनि हामीले तालिम तथा प्रशिक्षण दिएका छौँ ।

साथै म मोटरसाइकल समितिमा पनि छु  । यस कमिटीमा पनि विभिन्न चरणमा विभिन्न तरिकाले करको विषयमा बुझाउने, प्राविधिक विषयहरू यातायात विभाग, यातायात मन्त्रालय वा सरकार जहाँजहाँ छलफल गर्नुपर्नेछ त्यहाँत्यहाँ मेरै सक्रियतामा काम भएको छ । समसामयिक विषयमा ज्ञापनपत्र बुझाउनेदेखि अन्य नीतिगत छलफलमा पनि हामीले काम गरेका छौँ ।

यसबाहेक कतिपय कामहरू मैले चाहेर पनि गर्न नपाएको वा गर्नका लागि आवश्यक साथ नपाएको अवस्था रह्यो । 

गर्न चाहेर पनि नसकेको वा गर्न नपाएका कामहरू पनि छन् कि ?

संस्थागत स्वार्थभन्दा पनि व्यक्तिगत स्वार्थ टीममा हावी हुँदा कतिपय संस्थागत काम गर्न अवरोध हुने रहेछ । अहिले निर्वाचनको पूर्वसन्ध्यामा यसबारे थप म बोल्न चाहिनँ ।

कतिपटक त मैले संस्थामा नै यी कुराहरू राखिसकेको छु, असन्तुष्टिहरू राखिसकेको छु । मैले लिएर जाने गरेको समसामयिक विषयवस्तुहरूमा काम गर्न नदिइएको मैले महशुस गरेको छु । त्यसैकारण पनि नाडालाई सबैको साझा नाडा बनाउनका लागि हामी अहिले नयाँ टीमका लागि कस्सिएका हौँ ।

फेरि निर्वाचित हुनुभयो भने नाडामा तपाईंले के के नयाँ काम गर्ने योजना बनाउनुभएको छ ? 

हामी सबैको साझा नाडा बनाउनु नै नाडामा हाम्रो मुख्य काम हुनेछ । यस्तै पारदर्शितामा पनि हामीले विशेष जोड दिनेछौँ ।

सबैको समान सहभागिता आजको मुख्य आवश्यकता हो, यसलाई मूर्त रूप दिन म लाग्नेछु । यस्तै डेटा सेन्टरको रूपमा नाडाले सबै कुराको तथ्यांक नाडामा उपलब्ध हुनुपर्छ । अहिलेसम्म त्यसो हुन सकेको छैन । तर अब हामी नेतृत्वमा चुनियौँ भने हामीले मुख्य रूपमा यसलाई व्यवस्थापन गरेर तथ्यांकका लागि डाटा सेन्टर निर्माण गर्नेछौँ । 

नाडा प्रादेशिक स्तरमा पुगिसकेको छ । यसलाई अझै शक्तिशाली बनाउँदै जाने र विकेन्द्रीकृत गर्दै लैजाने विषयमा काम गर्नेछौँ । 

यस्तै नीति निर्माणमा पनि हामी कसरी सहभागी हुने भन्ने विषयमा खोज अनुसन्धान गर्नेछौँ । सबै क्षेत्रका समस्याहरूको सुक्ष्म अध्ययन गर्ने र त्यसलाई नीति निर्माण तहसम्म पुर्‍याएर समस्या समाधानमा लाग्नेमा हाम्रो जोड हुनेछ । 

कुनै समस्या आएपछि त्यसको समाधानमा जानुभन्दा पनि समस्या र समाधान पनि सँगै लैजाने र त्यो ‘ब्रीजग्याप’को काम पनि हाम्रो महत्वपूर्ण एजेन्डा हुनेछ । हामी व्यवसायी र सरकारी निकायको बीचमा रहेर समन्वयको भूमिकामा  समेत हुनेछौँ । 

हामी नेतृत्वमा आएको खण्डमा सबैको सहभागिता हुनेछ । हामी कोही पनि माथि अध्यक्ष र तल सदस्य भन्ने खालको सम्बन्धमा रहँदैनौं । कसैले भोलि चुनाव नजिते पनि उसको सहभागिता नेतृत्व तहसम्म रहनेछ । जसबाट तपाईं आफ्नो आवाजलाई माथिसम्म पुर्‍याउन सक्नुहुनेछ । हामीले नाडालाई यस्तो विशेष बनाउने सोचमा छौँ ।

पछिल्लो समय धेरै जनशक्ति वैदेशिक रोजगारीमा गइरहेका छन् । हामीले यसलाई कसरी कम गर्न सक्छौँ त्यस विषयमा पनि केही काम गर्ने, नेपालमै अथवा अटोमोबाइल्स सेक्टरमै रोजगारी सिर्जना गर्ने जस्ता काममा हामीले मूल ध्यान केन्द्रित गर्छौँ । 

नाडा कार्यसमितिले ज्ञापनपत्र बुझाउनमा मात्र सीमित भएको तर व्यवसायीको हितमा काम गर्न भने नसकेको गुनासो आइरहन्छ । तपाईं समेत रहनुभएको समूहले यस्तो गुनासो आउन नदिन के कसरी काम गर्छ ?

व्यवसायीको मात्र हैन यो हाम्रो पनि गुनासो हो । माथि भनिएजस्तै मोबिलाइजेसन, संघ संस्थाबीच साझेदारी कसरी गर्न सकिन्छ भन्ने विषयमा हामीले ध्यान दिनुपर्छ । बजेट र मौद्रिक नीति आउने समय र आएपछि ४ पाना सुझाव र प्रतिक्रिया दिएर मात्र नाडा अगाडि बढ्न सक्दैन ।

हामी सरकारको सल्लाहकार बनेर बस्न सक्नुपर्छ । एउटा टीम भयौँ भने मात्र हामी अगाडि बढ्न सक्छौँ । हामीले टीमलाई एकढिक्का बनाएर सरकारको सल्लाहकार नै बन्नेगरी अगाडि बढ्छौँ ।

पछिल्लो समय विद्युतीय सवारीमा प्रयोगकर्ताको रूचि देखिन्छ, त्यसको आपूर्ति र व्यवस्थापनमा नाडाले के काम गर्न सक्छ ? तपाईंका केही योजना छन् ?

पहिलोपटक हाम्रो टीममा महिला उम्मेदवार हुनुहुन्छ । उहाँ (यमुना श्रेष्ठ) विद्युतीय गाडीको इम्पोर्टर र डिस्ट्रिब्युटर हुनुहुन्छ । टीममा उहाँलाई ल्याउनुको मुख्य उद्देश्य नै नाडामा विद्युतीय सवारीसाधनलाई पनि महत्त्वका साथ स्थान दिने र अगाडि बढ्ने भन्ने हो ।  

भोलिका दिनमा आउने समस्याहरूलाई हामीले पहिचान गर्न सक्नुपर्छ । अहिले चार्जिङ स्टेसनको महत्त्वपूर्ण विकास आवश्यक छ । चार्जिङ स्टेसन, ब्याट्री, विद्युतीय सवारी साधनका लागि आवश्यक तालिमहरू, प्राविधिक अग्रेडेसनका कुराहरूमा हामीले विशेष ध्यान दिन्छौं । यसका लागि विभिन्न प्रयासहरू र कामहरू गर्छौँ ।

महामारीपछि भर्खरै उठ्दै गरेको अटोमोबाइल्स व्यवसायलाई थप प्रवर्द्धन गर्न के गर्न सकिएला ? 

हामीले भोलि निर्वाचन जितौँ वा हारौँ, हामीले अहिले यही टीम बलियो बनाउन लागिसकेका छौँ । विभिन्न टास्क फोर्स बनाएर हामीले काम गरेर अगाडि बढ्नेनै छौँ । 

केकस्ता समस्या छन् अटोमोबाइल्स व्यवसायमा त्यसको खोज, अध्ययन, अनुसन्धान र समाधान समेतका लागि हामीले काम गर्नेछौँ ।

हामीसँग सार्वजनिक यातायातको राम्रो व्यवस्था छैन । सडक, पुलजस्ता पूर्वाधारहरू पनि विकास भइसकेका छैनन् । यसमा कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ ? भन्नेबारे महत्त्वपूर्ण निष्कर्ष निकालेर समस्या समाधान गर्न दक्ष टीम हामीले बनाएका छौँ । देश विकासको आधार बन्नेगरी नै हामी अगाडि बढेका छौँ । यसले नै व्यवसायलाई प्रवर्द्धन गर्नेछ  । 

salt training

कमेन्ट गर्नुहोस्