१७ असार २०८३, बुधबार

यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका

मंसिर २१, २०७८
यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका

नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ । मंसिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुने र हलमा बन्द सत्र हुनेछ । 

कांग्रेसले भृकुटीमण्डप, राष्ट्रियसभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा निर्वाचनको प्रक्रियाको काम गर्ने जनाएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मंसिर २४ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र मंसिर २६ गते बिहान ८ देखि १० बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्यतालिका रहेको छ ।

यसै गरी मंसिर २६ गते नै बिहान १० देखि १२ बजेसम्म सो उपर निर्णय गर्ने, दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपि) पहिलो नाम प्रकाशित गर्ने, दिउँसो ३ देखि अपराह्न ४ बजेसम्म मनोनयन फिर्ता लिने, साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मंसिर २७ गते बिहान ८ बजेदेखि मतदान शुरू गर्ने समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । 

यसै गरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित ९, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी ९, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । 

यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।

यस महाधिवेशनमा प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले निर्वाचित हुने तथा पार्टीका भातृ र शुभेच्छुक संस्थाबाट एवं विदेशस्थित जनसम्पर्क समितिबाट गरी करीब चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने कांग्रेसले जनाएको छ । 

कांग्रेसका क्रियाशील सदस्यता संख्या आठ लाख ४० हजार १०५ छन् । त्यसमध्ये ६ लाख ४४ हजार ५६४ पुरुष, एक लाख ९५ हजार ३७२ महिला र १६९ अन्य रहेका छन् । 

महाधिवेशनअन्तर्गत कांग्रेसले ६ प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ । प्रदेश अधिवेशनबाट प्रदेश कार्य समितिसहित सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णाली प्रदेश सभपातिमा ललितजंग शाही, लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन, गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा, बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ र प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । कांग्रेसको प्रदेश २ को प्रदेश अधिवेशनको उद्घाटन भए पनि नेतृत्व चयनका लागि निर्वाचन हुन बाँकी छ ।

यसै गरी कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत हालसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन हुन बाँकी रहेको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । 

सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपुर (बर्दघाट सुस्ता पूर्व), बाँके, अछाम, कैलाली तथा प्रदेश २ का आठ जिल्लाहरु सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ ।

यसबाहेक कांग्रेसले सबै जिल्लाका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ । 

गत भदौ १८ गतेदेखि अधिवेशन प्रक्रिया आरम्भ गरेको पार्टीले यसअघि नै देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न गरिसकेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्