
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुला गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।
बिहीवार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर साढे १७ हजार शिक्षकको दरबन्दी अपुग रहेकाले खुला गर्ने तयारीमा रहेको बताए ।
उनले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा शिक्षक सेवा आयोगले दिएको दरबन्दी आवश्यकता पूरा गर्ने गरी विज्ञापन खुला गरिने बताए ।
मन्त्री पौडेलले ५ वर्ष शिक्षक सेवा दिएर बढुवा हुनुपर्ने नियम अनुसार बढुवा गर्ने तयारीमा रहेको पनि बताए । उनले शिक्षक सेवा नियमावली मन्त्रिपरिषद्बाट पारित भइसकेको बताए ।
मन्त्री पौडेलले भने, ‘शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर अपुग रहेको साढे १७ हजार शिक्षक दरबन्दी पूरा गर्न विज्ञापन खुला गर्ने तयारीमा सरकार रहेको छ । माध्यमिक, निम्न माध्यामिक र प्राथमिक तहको दरबन्दीमा विज्ञापन खुला गर्दैछौं । विज्ञापन शिक्षक सेवा आयोगले दिएको दरबन्दी अनुसार गर्ने हो । त्यसको लागि सरकारले मन्त्रिपरिषद्बाट शिक्षक सेवा आयोग नियमावली पारित गरिसकेको छ । नियमावलीअनुसार ५ वर्ष शिक्षक सेवा पूरा गरेका बढुवा हुन योग्य शिक्षकलाई बढुवा गर्ने तयारी पनि मन्त्रालयले गरेको छ । साढे १७ हजार दरबन्दीमा विज्ञापन खुला हुन्छ । सरकारले शिक्षक अस्पताल बनाउने योजना पनि अगाडि बढाएको छ । शिक्षा ऐन नबेकाले सरकारले अगाडि बढाएका धेरै काम बाँकी छन् । हरेक कुरा ऐनमा गएर अड्किने गरेको छ । त्यसैले शिक्षा ऐन बनाउनको लागि पनि मन्त्रालयले अगाडि बढेको छ ।’
मन्त्री पौडेलले बैंठकमा सांसद्ले उठाएको एसईई परीक्षा प्रणाली खारेज गर्ने विषममा सरोकारवाला निकायसँग छलफल भइरहेको बताए । उनले सरकारले यसअघि नै १२ कक्षासम्म विद्यालय तह घोषणा गरेकाले एसईई गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयमा दैनिक जस्तो सरोकारवाला निकायसँग छलफल गरिरहेको बताए ।