
अस्ट्रेलियामा ६२ वर्षीय एक व्यक्ति एमायोट्रफिक ल्याटरल स्क्लेरोसिस नामक रोगबाट ग्रस्त छन् । उक्त रोग लागेको व्यक्तिलाई पक्षघात हुन्छ ।
शरीर चलाउन नसक्ने ती व्यक्तिले सोचेको भरमा सञ्चार गर्न सफल पाएका छन् ।
बिहीवार उनले ट्विटरमा प्रत्यक्ष सोचको मात्र उपयोग गरेर एउटा पोस्ट गरेको सिनक्रोन नामक कम्पनीले जनाएको छ । सिनक्रोनले नै उनको सोचलाई शब्दमा परिणत गर्न सघाएको हो ।
‘मैले सोचेको भरमा यो ट्वीट लेखेको हुँ,’ ट्वीटमा उल्लेख छ । फिलिप ओ कीफ नामक व्यक्तिले सिनक्रोनका सीईओ टमस अक्सलीको अकाउन्टबाट ट्वीट गरेका हुन् ।
no need for keystrokes or voices. I created this tweet just by thinking it. #helloworldbci
— Thomas Oxley (@tomoxl) December 23, 2021
ओ कीफको मस्तिष्कबाट ताररहित प्रविधिले सोचबाटै ट्वीट गरिएको हो । उनी पक्षघातले ग्रस्त भएपछि पोहोर साल उनको मस्तिष्कमा स्टेन्टरोड नामक कम्प्युटर इन्टरफेस जडान गरिएको थियो । खप्पर प्यावल नपारिकन घाँटीमा उक्त कम्प्युटर चिप राखिएको हो ।
पक्षघात भएर एउटा पनि मांसपेशी चलाउन नसके पनि ओ कीफले स्वतन्त्रतापूर्वक काम गर्न सक्ने र संसारसँग फेरि जोडिन सक्ने सिनक्रोनले दाबी गरेको छ । कम्पनीले सन् २०२२ मा मानवभित्र कम्प्युटर राखेर यस प्रविधिलाई थप विकसित गर्ने योजना बनाएको छ ।