०६ साउन २०८३, बुधबार

काठमाडौंमा नेपाल काठ अन्तर्राष्ट्रिय प्रदर्शनी हुने, विश्वका ख्यातिप्राप्त ब्राण्डका १०० बढी स्टल

काठमाडौंमा नेपाल काठ अन्तर्राष्ट्रिय प्रदर्शनी हुने, विश्वका ख्यातिप्राप्त ब्राण्डका १०० बढी स्टल

पुस २३ देखि २५ सम्म नेपाल उड इन्टरनेसनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर तथा होम डेकोर इन्टरनेसनल एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । 

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा ७ वर्षदेखि प्रदर्शनीको आयोजना गर्दै आएका छन् ।   

प्रदर्शनीमा विभिन्न देशका १०० भन्दा बढी ख्याति प्राप्त ब्राण्डहरूका स्टल रहने छन् । फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र विक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ । 

प्रदर्शनीमा मेसिनहरू, पावर टुल्स, प्लाइउड, ढोका, झ्याल, होम र्फिनचर, अफिस फर्निचरलगायत तयारी अवस्थाका उत्पादनहरू पनि राखिनेछ । 

विश्वका ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरूमा प्रयोग गराउन एउटा पहल भएको आयोजकले जनाएका छन् । प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरूलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास आयोजकले लिएको छ । 

आयोजकका अनुसार फर्निचर पार्टनर आरोन फर्निचर तथा सहयोगी संस्थाहरू सोना, स्केइफ, आइडिया नेपाल, फेकोफनलगायत छन् । 

‘यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने हामीले विश्वास राखेका छौँ,’ आयोजकले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरिकबाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियरहरू तथा इन्टिरियर डिजाइनरहरूको सहभागिता रहने छ ।’

यस प्रदर्शनीले नेपालको काठ तथा फर्निचर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने आयोजकको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्