२३ असार २०८३, मंगलबार
१४ औं महाधिवेशनपछिको कांग्रेस

कांग्रेसभित्र जसको राजनीतिक दोकान बन्द भयो

पुस २७, २०७८
कांग्रेसभित्र जसको राजनीतिक दोकान बन्द भयो

१४औं महाधिवेशनपछि कांग्रेसको शक्ति केन्द्र फेरबदल भएको छ । लामो समय पार्टीको विपक्षी शक्ति केन्द्रमा रहेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, सुजाता कोइरालाहरू किनारामा धकेलिएका छन् ।

१३ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर महामन्त्री बनेका शशांक कोइराला एक कार्यकालपछि नै पार्टीमा प्रभावहीन बनेका छन् । उनी अहिले केन्द्रीय सदस्य त बनेका छन् तर, पार्टीमा उनको कुनै पकड छैन ।  

सुशील कोइरालाको निधनपछि पार्टीको कार्यवाहक सभापतिसम्म बनेका पौडेल अहिले पार्टी सभापतिले लाएअह्राएको काम गर्ने नेताको भूमिकामा सीमित बनेका छन् ।

सुशील कोइरालाले महामन्त्रीसम्म बनाएका प्रकाशमान सिंह पार्टीमा गणेशमान सिंहको लिगेसी बेचिरहेका थिए । महाधिवेशनअघि संस्थापनइतर समूहमा रहेर सभापति देउवा र उनको टीमको निरन्तर उछितो काढेका सिंह महाधिवेशनमा संस्थापन समूहसँगै सहकार्यमा लागे ।

प्रधानमन्त्री देउवाले उपयुक्त समयमा उपप्रधानमन्त्री बनाउने आश्वासन दिएको र शक्तिमा रहिरहने लोभमा उनी संस्थापन समूहलाई सघाउन पुगेको कांग्रेसकै नेताहरू बताउँछन् । 

गिरिजाप्रसाद कोइरालाको छोरीको रूपमा कांग्रेसमा हैकम कायम गरेकी सुजाता १४ औं महाधिवेशनमा प्रकाशनमानको खेमाबाट उपसभापतिको उम्मेदवार बनेकी थिइन् । सधैँ शक्तिकेन्द्र नजिक रहेकी कोइराला पनि महाधिवेशनपछि पार्टीमा किनारकृत भएकी छन् ।

आश्वासन बाँड्न र व्यक्तिलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न शेरबहादुर देउवा चतुर छन् । महाधिवेशनको क्रममा पनि उनले त्यही चतुर्‍याइँ प्रयोग गरेका थिए । 

यी चारै नेता १४औं महाधिवेशनअघि संस्थापनइतर खेमामा गोलबन्द थिए । महाधिवेशनमा उनीहरूको भूमिकाका कारण अहिले पार्टीमा क्रमशः एक्लिँदै गएको कांग्रेसकै नेताहरू बताउँछन् । 

महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका एक नेता भन्छन्, ‘उनीहरू कहिल्यै सत्ताभन्दा बाहिर बस्न सक्ने व्यक्ति होइनन् । रामचन्द्र पौडेल त जीवनभर सत्ताकै लागि मात्रै बाँचेको जस्तो देखियो । सुजाता पनि लामो समय सत्तामै रहेकी व्यक्ति हुन् । अब पनि सत्ता शेरबहादुरसँगै हुन्छ भन्ने भएपछि अरू सबै कुरा बिर्सिएर सत्तासँग टाँसिन गएका हुन् ।’ 

प्रदेशमा मन्त्री पाएको र केन्द्रमा पनि उनीहरूलाई विशेष सम्बोधन हुने आश्वासन पाएपछि रामचन्द्र र प्रकाशमान संस्थापनतिर लागेको ती नेताले बताए । 

‘पन्ध्रौँ महाधिवेशनपछि त उनीहरू केन्द्रीय कमिटीमै रहनुहुन्न । अहिले अवसर पाउने भएपछि किन सुविधा नलिने भन्ने लागेको पनि हुन सक्छ,’ ती नेताले भने । 

आश्वासन बाँड्न र व्यक्तिलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न शेरबहादुर देउवा चतुर छन् । महाधिवेशनको क्रममा पनि उनले त्यही चतुर्‍याइँ प्रयोग गरेका थिए । 

शेखर कोइरालाबाहेक सबै सभापतिका उम्मेदवारले दोस्रो चरणमा देउवालाई नै समर्थन गरेका थिए । त्यसक्रममा कतिपयले शक्ति र सुविधाको ‘बार्गेनिङ’ गरेको आरोपसमेत लागेको थियो । प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीको ‘अफर’ आएको भन्ने चर्चा हुन थालेपछि आफूले त्यस्तो ‘बार्गेनिङ’ नगरेको भनेर उनले प्रस्टीकरण नै दिनुपरेको थियो । 

कांग्रेसमा संस्थापनइतरको खेमा बनेको कोइराला समूहले बैठक नै बसेर महाधिवेशनमा रामचन्द्र पौडेल र शशांक कोइरालाले असहयोग गरेको निष्कर्ष निकालेको छ । 

१५ औं महाधिवेशनसम्म संस्थापनइतर खेमाको शसक्त नेतृत्व गर्ने र पुनः पार्टी सभापतिको उम्मेदवार बन्ने रणनीतिमा शेखर कोइराला छन् । उनले केही दिनअघि बसेरा बुटिक होटलमा आफू पक्षका उम्मेदवारहरूको भेला गरेर यो सन्देश दिइसकेका छन् ।

उक्त भेलाबाटै उनीहरूको खेमाबाट रामचन्द्र पौडेल र शशांक कोइराला ‘आउट’ भएको सन्देश उनले दिइसकेका छन् । प्रकाशमान सिंह र सुजाता कोइरालाले महाधिवेशनमा संस्थापन समूहलाई नै सघाएका कारण उनीहरू त्यसैबेलादेखि शेखर खेमाबाट बाहिरिएका थिए । 

‘रामचन्द्र पौडेल आफ्नो घर जलाएर त्यही खरानी घसेर शेरबहादुरको शरणमा गएका हुन् । उनीहरू अब स्पष्ट रूपमा रिङ आउट भएका छन् । शेरबहादुर देउवाले जुनसुकै बेला ‘किक आउट’ गर्न सक्छन् ।’

‘अबको पाँच वर्ष पार्टीमा सभापतिका रूपमा देउवा र निकटकतम प्रतिद्वन्द्वीको रूपमा शेखर नै पावर सेन्टर हुन्,’ पदाधिकारी तहमा उम्मेदवार बनेका एक नेताले भने, ‘पार्टीको शक्ति यी दुईले उपयोग गर्ने हुन् । रामचन्द्र, प्रकाशमान, शशांक र सुजाता सभापतिका सामान्य सहयोगी मात्रै हुन् ।’

आगामी स्थानीय तहको चुनाव र संसदीय चुनावमा ती चार नेताको भूमिका खुम्चिएको स्पष्ट देखिने उनले बताए ।

‘रामचन्द्र पौडेल आफ्नो घर जलाएर त्यही खरानी घसेर शेरबहादुरको शरणमा गएका हुन् । उनीहरू अब स्पष्ट रूपमा रिङ आउट भएका छन् । शेरबहादुर देउवाले जुनसुकै बेला ‘किक आउट’ गर्न सक्छन्,’ कांग्रेसका एक नेताको विश्लेषण छ । 

उनीहरूको पछाडि कुनै शक्ति नै नभएकाले पार्टीमा एक्लो नेताको भूमिका मात्रै भएको नेता कार्यकर्ताको विश्लेषण छ ।

तर, रामचन्द्रदेखि प्रकाशमानसम्म कांग्रेसको ‘पावर सेन्टर’ परिवर्तन भएको कुरा मान्न तयार छैनन् । आफूहरू अघि लाग्दा शेखरको पावर सेन्टर बाँकी नरहने विश्लेषण उनीहरूको छ । तर, शेखर समूह भने यो मान्न तयार छैन । 

शेखर समूहका एक नेताले भने, ‘ती चार जना नेताहरू त रेलबाट छुटिसके । अब रेलमा नयाँ व्यक्ति चढ्छ । उनीहरू पार्टीभित्र र बाहिर दुवैतिर अलोकप्रिय भइसके । १५ औं महाधिवेशनपछि रिटायर्ड हुने हो ।’ 

उनीहरूले संस्थापन क्याम्प छाडेर शेखर समूहमा फर्किए भने सहकार्य हुन्छ कि हुँदैनन् भन्ने प्रश्नमा एक नेताले अब पछाडि फर्कन नसक्ने जवाफ दिए । 

उनले भने, ‘महाविधेशनमा युवाहरूलाई समेट्ने प्रयास गर्‍यौं । विश्वप्रकाश, चित्रलेखा र प्रदीप पौडेललाई समेट्न सकेको भए त सभापतिको निर्वाचन दोस्रो राउण्डमा नै नपुग्ने रहेछ । तर, उनीहरूले अल्झाएर नै अल्झिएको हो । प्रयास त गरेको हो नि । तर, पछि प्रदीप अर्कोतिर गए ।’

आगामी दिनमा संस्थापनइतरमा सहकार्य हुन नसक्ने कुरालाई प्रस्ट्याउँदै ती नेताले भने, ‘पब्लिक इमेज राम्रो छैन । उनीहरू मिलेर मुलुकको यो हालत बनाए । अब पछाडि फर्कने अवस्था नै छैन । अगाडि बढ्ने हो । उनीहरू धेरै पछि छुटिसके । रामचन्द्र, प्रकाशमानको दोकान त बन्द भएको छ । अब बजारमा व्यापारीले दुई वटा किन्दा एउटा लैजाउ भन्नेजस्तो अवस्थामा उनीहरू छन् ।’

प्रदेश सभाका सभापतिको उम्मेदवार बनेका एक नेताले कांग्रेसमा रामचन्द्र, प्रकाशमान, शशांक र सुजाता नेताको रूपमा मात्रै रहने तर, पार्टी चलाउने कुरामा भूमिकाविहीन भएको बताए । 

‘पार्टी चलाउने कुरामा सभापतिले निकटतम प्रतिद्वन्द्वीसँग परामर्श गर्नुपर्छ । उनीहरू त वैधानिकरूपमा संस्थापन पक्षका भइसके । बार्गेनिङ गर्ने ठाउँमा हुनुहुन्न,’ ती नेताले भने, ‘महाधिवेशनको क्रममा अस्पष्ट भूमिका हुनु नै संस्थापनलाई सघाउनु भयो भन्ने हाम्रो निष्कर्ष छ । अब हाम्रो सहकार्य उनीहरूसँग छैन ।’

salt training

कमेन्ट गर्नुहोस्