३० जेठ २०८३, शनिबार
परिकार

जनकपुरको मौलिक मिथिला परिकार बगिया कसरी बनाउने ?

माघ १, २०७८
जनकपुरको मौलिक मिथिला परिकार बगिया कसरी बनाउने ?

जनकपुरको मौलिक परिकार बगिया कसरी बनाइन्छ भन्ने चासो धेरैमा हुने रहेछ । 

धनुषा जिल्लाको एक धार्मिक शहर जनकपुरमा निकै लोकप्रिय यो परिकार पहाडी र हिमालीहरूले पनि खुब खोजीखोजी खान थालेका छन् । 

बगिया बफ्याएर पकाइने हुँदा स्वास्थ्यका हिसाबले पनि फाइदाजनक मानिएको छ । नेवार समुदायको लोकप्रिय परिकार योमरी जसरी नै बनाउने भए तापनि जनकपुरको बगियाको अलि भिन्न स्वाद हुन्छ र छुट्टै विशेषता छ । योमरीभन्दा फरक आकार र भर्ने चिजहरू पनि फरक हुन्छ बगियामा ।

चिसो मौसममा बनाइने यो परिकार विशेष गरी घरमा बच्चा जन्मिँदा यो परिकार बनाएर स्वागत गर्ने प्रचलन छ । बगिया सख्खर हालेर गुलियो र दाल भरेर नुनिलो–पिरो दुवै स्वादमा बनाइन्छ । बगियाका लागि एक विशेष खालको अचार पनि हुनुपर्छ ।

बगिया बनाउन चाहिने सामग्रीः चामलको पिठो ३ कप, पानी आवश्यकताअनुसार, कुर्ती (गहत) को दाल या चनाको दाल आधा कप, अदुवा लसुन पेस्ट डेढ चम्चा, सुकेको खुर्सानी ३ पिस, बेसार आधा चिया चम्चा, जिरा धनियाँको धुलो आधा चिया चम्चा, घ्यू ३ चिया चम्चा, नून स्वादअनुसार, भुटेको बदाम ३ चिया चम्चा, प्याज १ पिस ।

बगिया बनाउने विधिः दाललाई उसिनेर एक साइड लगाउने । पानी उमालेर चामलको पिठोको डो बनाएर एक साइडमा छोपेर राख्ने । कराइ तताएर घ्यू पगाल्ने र सुकेको खुर्सानी, प्याज, अदुवा लसुन पेस्ट, बदाम, मसला हालेर एकछिन भुट्ने । उसिनेको दाल छानेर मसलामा हाल्ने र सुक्खा हुने गरी पकाउने । चामलको पिठोको डोलाई सानो–सानो पेडा काट्ने र दालको मिक्चर भरेर आकार दिने । स्टीमरमा राखेर १५–२० मिनेट बफ्याउने र तातो–तातो कुनै तिख्खर खालको चटनीसँग खान सकिन्छ ।

यो जनकपुरको मिथिला परिकार गुलियो खान मन हुनेले दालको ठाउँमा सख्खर हालेर बनाउँदा पनि स्वादिष्ट हुन्छ । जनकपुरको मौलिक मिथिला परिकार बगिया पानीमा उमालेर र फ्राई गरेर खाने चलन पनि छ ।

salt training

कमेन्ट गर्नुहोस्