०२ साउन २०८३, शनिबार
खाडीमा अशान्ति

यमनको गृहयुद्धले खाडीमा त्रास : को हुन् यूएईलाई ताकेर ब्यालिस्टिक क्षेप्यास्त्र हान्ने हूती विद्रोही ?

माघ १२, २०७८
यमनको गृहयुद्धले खाडीमा त्रास : को हुन् यूएईलाई ताकेर ब्यालिस्टिक क्षेप्यास्त्र हान्ने हूती विद्रोही ?
Source: asianetnews.com

यमनमा विगत सात वर्षदेखि चलिरहेको युद्ध अन्त्य हुने कुनै संकेत छैन, उल्टो यस युद्धको असर पर्सियाली खाडीमा समेत देखिन थालेको छ । 

सोमवार मात्र यमनका हूती विद्रोहीहरूले संयुक्त अरब अमिरात (यूएई) मा प्रहार गरेको दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई अमेरिकाले आकाशमै नष्ट गरिदिएको थियो । क्षेप्यास्त्र आइरहेको सूचना पाएपछि यूएईको अल–दाफरा एयरबेसमा रहेका दुई हजार अमेरिकी सैनिकहरू बंकरमा लुक्न पुगेका थिए । 

त्यसको एक साताअघि हूती विद्रोहीहरूले अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थल तथा एक तेल भण्डारमा ड्रोन आक्रमण गर्दा तीनजनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।

यमनका हूती विद्रोहीहरूका विरुद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले विगत सात वर्षदेखि बमवर्षा गरिरहेको छ । यूएई पनि उक्त गठबन्धनको महत्त्वपूर्ण सदस्य हो । अनि यस गठबन्धनलाई अमेरिकाले हातहतियार तथा बन्दोबस्तीका सामानहरू उपलब्ध गराइरहेको छ । 

त्यसको बदला लिनका लागि हूतीहरूले यूएईमा अमेरिकी एयरबेसलाई निशाना बनाएर आक्रमण गरेका हुन् । यसअघि साउदी अरबमा क्षेप्यास्त्र आक्रमण गर्ने गरेका हूतीहरूले यूएईलाई समेत तारो बनाएर यमन युद्ध अर्को चरणमा प्रवेश गरेको सन्देश दिएका छन् । 

यो युद्ध किन र कसरी शुरू भयो भनी संक्षिप्त चर्चा गरौं । सन् १९८० को दशकमा यमनमा रहेको जैदी शिया सम्प्रदायको ठूलो कबिला हूतीले विद्रोह थालेको थियो । यमनको उत्तरतिर रहेका पहाडहरूमा हूतीको बसोवास छ ।

अघिल्लो साता मात्र हूतीहरूको पकड रहेको सादास्थित एक थुनाकेन्द्रमा साउदी नेतृत्वको गठबन्धनले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको थियो ।  गठबन्धनको हवाई आक्रमणका कारण यमनमा तीन लाख ७७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ । मारिनेमध्ये ७० प्रतिशत पाँच वर्षमुनिका बालबालिका छन् । 

जेराल्ड एम फायरस्टाइनको ‘यमन ः द सिक्स्टी ईयर वार’ नामक रिपोर्ट, काउन्सिल अन फरेन रिलेसन्सको वेबसाइटमा काली रोबिन्सनको रिपोर्ट र रोयटर्स समाचार संस्थामा माइकल जर्जीले तयार पारेको रिपोर्टमा उल्लेख गरिएअनुसार, यमनमा जैदी समुदायहरूले विगत एक हजार वर्षदेखि शासन गर्दै आएका थिए । सन् १९६२ मा देशको मध्यभागमा रहेका शफी सुन्नी समुदायका मानिसले जैदीहरूलाई सत्ताच्युत गरे । 

त्यतिखेर अरब राष्ट्रवादी आन्दोलन चलिरहेको थियो र यमनको स्वतन्त्रताको माग गर्दै सुन्नीहरूले शिया इमाम शासकहरूलाई हटाएका थिए । इजिप्टका तत्कालीन राष्ट्रपति गमाल अब्देल नासेरले सुन्नीहरूलाई सहयोग उपलब्ध गराएका थिए । 

त्यसरी लामो समय शासन चलाएका शियालाई सत्ताच्युत गरिएपछि देशमा गृहयुद्ध अवश्यम्भावी बनेको थियो । गृहयुद्धका कारण देश उत्तर र दक्षिणमा विभाजित भएको थियो । उत्तरी यमनमा अमेरिका र साउदी समर्थक अली अब्दुल्लाह सालेहको शासन थियो भने दक्षिणमा सोभियत संघको समर्थनप्राप्त यमनी सोसलिस्ट पार्टीको शासन थियो । सन् १९९० मा उत्तर र दक्षिण यमनको एकीकरण भयो । एकीकरणपछि सालेहले नै शासन चलाउन थाले ।

यमनमा सालेह सरकारले सुन्नीहरूलाई फन्ड उपलब्ध गराएर सुन्नीहरूको प्रभाव बढाउन थालेपछि जैदी शिया हूतीहरूले सरकारविरुद्ध सन् १९९४ मा विद्रोही आन्दोलन शुरू गरेका थिए । हुसैन बद्रेद्दीन अल–हूतीको नेतृत्वमा आन्दोलन शुरू गरिएको थियो तर त्यही वर्ष यमनका सुरक्षाबलहरूले अल–हूतीको हत्या गरिदिए । 

हूती र यमनको सुन्नी सरकारबीचको संघर्ष वर्षौंसम्म चलिरह्यो । सन् २०१२ मा अरब स्प्रिङ भनिने आन्दोलनपछि यमनी राष्ट्रपति अब्दुल्ला सालेह पद छोड्न बाध्य भए । 

त्यसपछि उपराष्ट्रपति अब्द रब्बू मंसुर हादीले यमनको सत्ता चलाउन थाले । हादीलाई शासन चलाउन निकै गाह्रो परेको थियो किनकि देशमा जिहादीहरूको आक्रमण बढ्न थालेको थियो । विशेषगरी अलकायदा इन अरेबियन पेनिन्सुला नामक समूहको आक्रमण बढ्दै गयो र उक्त समूहले देशको दक्षिण र पूर्वी भागमा कब्जा जमायो । 

सुरक्षाकर्मीहरू पूर्व राष्ट्रपतिप्रति बफादार भएकाले हादीलाई टेर्दैनथिए । देशमा भ्रष्टाचार र बेरोजगारी व्याप्त थियो । खानेकुराको अभाव पनि विकराल समस्याका रूपमा थियो । 

सन् २०१५ मा पूर्व राष्ट्रपति सालेहले हादीका विरुद्ध हूतीहरूसँग सम्झौता गरेर विद्रोहलाई चर्काउन भूमिका खेले । त्यस विद्रोहमा बहुसंख्यक यमनीहरूको समर्थन थियो । 

हूती आन्दोलनकारीहरूले राजधानी सना नियन्त्रणमा लिए । हादी पहिला अदनतर्फ भागे अनि पछि साउदी अरबमा शरण लिन पुगे । उनी अहिले निर्वासनमै यमन सरकार चलाइरहेका छन् र त्यसलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छ । हादी सत्ताच्युत भएपछि साउदीको नेतृत्वमा हूतीहरूका विरुद्ध नौवटा देशको गठबन्धन बन्यो । हादीलाई पुनः यमनको सत्ता ल्याउने त्यसको लक्ष्य हो ।

शिया हूतीका विरुद्ध सुन्नी मुलुकहरूको गठबन्धन बनेको हो । इरानले चाहिँ हूतीहरूलाई भित्रभित्रै समर्थन गरिरहेको छ, त्यसैले हूतीहरू युद्धमा टिकिरहन सकेका छन् ।

अमेरिकाले साउदी गठबन्धनलाई गोप्य रूपमा हातहतियार सहयोग उपलब्ध गरायो । त्यही सहयोगको बलमा गठबन्धनले हूतीहरूका विरुद्ध बमवर्षाको अभियान चलायो । 

सनालाई हूतीको नियन्त्रणबाट मुक्त गर्नका लागि गठबन्धनले हवाई आक्रमण गरेको हो । केही हप्तामा हूतीहरूलाई सनाबाट भगाउने भनी साउदीहरूले फुर्ती लगाएका थिए । तर सात वर्ष बितिसक्दा पनि साउदी नेतृत्वको गठबन्धन सफल हुन सकेको छैन । 

अघिल्लो साता मात्र हूतीहरूको पकड रहेको सादास्थित एक थुनाकेन्द्रमा साउदी नेतृत्वको गठबन्धनले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको थियो । 

गठबन्धनको हवाई आक्रमणका कारण यमनमा तीन लाख ७७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ । मारिनेमध्ये ७० प्रतिशत पाँच वर्षमुनिका बालबालिका छन् । 

त्रासद कुरा त के भने कुल मृत्युसंख्याको ६० प्रतिशतमा भोकमरी तथा सामान्य रोग कारणको रूपमा रहेका छन् । बाँकी चाहिँ युद्धको मोर्चा तथा हवाई आक्रमणमा मारिएका हुन् । 

युद्ध लम्बिँदै गएपछि अमेरिकामा समेत कूटनीतिक समाधान निकाल्नका लागि माग उठ्न थालेका छन् । खासमा अमेरिकाले साउदी नेतृत्वको गठबन्धनलाई अप्रत्यक्ष सहायता उपलब्ध नगराउने हो भने यो युद्ध भोलिपल्टै बन्द हुन्छ । 

अमेरिकामा डेमोक्रेटिक पार्टीका सांसद रो खन्नालेसाउदी गठबन्धनलाई उपलब्ध गराइएको सबै सैन्य सहयोग तत्काल बन्द गर्न ह्वाइट हाउससमक्ष माग गरेका छन् । अनि यस हिंस्रक युद्ध अन्त्यका लागि कूटनीतिमा जोड दिन उनले आग्रह गरेका छन् । 

पोहोर साल अमेरिकाको बाइडन प्रशासनले यमनमा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघले थालेको प्रयासलाई समर्थन गरेको थियो । उसले साउदी गठबन्धनको आक्रामक कारवाहीलाई सहयोग बन्द समेत गरेको थियो । अनि हूतीहरूमाथि लगाइएको आतंकवादीको दर्जा पनि फिर्ता लिएको थियो । तर युद्धरत दुवै पक्षले यसमा धेरै चासो नदिएपछि यसको कुनै सकारात्मक परिणाम आएन ।

तर अमेरिकाले युद्धरत पक्षलाई वार्ता गराउन गम्भीरता नै देखाएन । एनबीसीन्युज डट्कममा डेनियल आर डीपेट्रिसले गरेको विश्लेषणमा उल्लेख गरिएअनुसार, यमनका विषयमा राष्ट्रसंघको सुरक्षा परिषदमा गत जनवरी १२ मा गरिएको बहसमा अमेरिकी प्रतिनिधि लिन्डा टमस–ग्रीनफिल्डले एकपक्षीय कुरा राखिन् । उनले युद्धका लागि हूती विद्रोहीहरूलाई मात्र जिम्मेवार ठहराइन् र सम्बोधनमा एकपटक पनि साउदी नेतृत्वको गठबन्धको नाम समेत लिइनन् । 

माथि उल्लेख भएअनुसार साउदी हवाई आक्रमणका कारण यमनमा लाखौं सर्वसाधारणले अनाहक ज्यान गुमाउनुपरेको छ भने देशको स्वास्थ्य प्रणाली तहसनहस भएको छ । त्यसको कठोर निन्दा नगरेर अमेरिकाले साउदी गठबन्धनलाई प्रोत्साहन गरिरहेको छ । 

त्यसो त हूतीहरू पनि उत्तिकै दोषी छन् । राष्ट्रसंघले युद्धग्रस्त क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउन प्रयास गरिरहेकोमा हूतीहरूले त्यसलाई रोक्ने गरेका छन् । अनि हूतीहरूले साउदी अरब र अहिले यूएईमा आक्रमण गर्दा ती देशबाट हुने प्रत्याक्रमणमा परी थप यमनी सर्वसाधारणले ज्यान गुमाउने पक्का छ । 

डीपेट्रिसका अनुसार, यमनका युद्धरत दुवै पक्षले युद्धअपराध गरेका छन् र चरम मानवीय संकट निम्त्याउनमा सबैजना उत्तिकै जिम्मेवार छन् । त्यसलाई मनन गर्दै अमेरिकाले एक पक्षलाई मात्र समर्थन गर्नु गलत देखिन्छ ।

यूएईले बीचको केही समयमा यमनमाथिको हवाई आक्रमण रोकेको थियो किनकि ऊ आफ्नो भूभाग जोगाउन चाहन्थ्यो र दुबईमा आयोजित वर्ल्ड एक्सपोमा ध्यान केन्द्रित गर्न चाहन्थ्यो । आफ्नो अर्थतन्त्रलाई बलियो बनाउन तथा नयाँ लगानीकर्तालाई आकर्षित गर्न यूएईले उक्त एक्सपोमा व्यापक लगानी गरेको छ । त्यो सफल हुन देशमा शान्ति आवश्यक छ ।

एनबीसीन्युज डट्कममा डेनियल आर डीपेट्रिसले गरेको विश्लेषणमा उल्लेख गरिएअनुसार, यमनका विषयमा राष्ट्रसंघको सुरक्षा परिषदमा गत जनवरी १२ मा गरिएको बहसमा अमेरिकी प्रतिनिधि लिन्डा टमस–ग्रीनफिल्डले एकपक्षीय कुरा राखिन् । उनले युद्धका लागि हूती विद्रोहीहरूलाई मात्र जिम्मेवार ठहराइन् र सम्बोधनमा एकपटक पनि साउदी नेतृत्वको गठबन्धको नाम समेत लिइनन् । 

तर हालैका दिनमा हूतीहरूले गरेको आक्रमणका कारण यूएईको शान्ति खल्बलिएको छ । फ्रान्सेली भूरणनीतिक विश्लेषक मार्क गूतालियरका अनुसार, यमन युद्धबाट यूएई बाहिरियोस् भनी हूतीहरूले आक्रमण गरेको भए पनि यूएईले प्रत्याक्रमण गर्ने सुनिश्चित छ । खाडीका मुलुकहरूमध्ये सैन्य रूपमा सबभन्दा सशक्त रहेको यूएईले आफूमाथिको आक्रमणको जवाफ नफर्काउने भन्ने हुँदैन । 

यस परिप्रेक्ष्यमा यमनको युद्ध लामै समयसम्म चलिरहने देखिएको छ । अमेरिकाको सुरक्षामा यमनले कुनै खतरा तेर्स्याउँदैन । इरानको रिसका कारण मात्र संलग्न रहेको अमेरिका यस द्वन्द्वबाट बाहिरिएमा यसको अन्त्य हुने देखिन्छ । हुन पनि अमेरिकी सहयोगले साउदी गठबन्धनलाई विजय दिलाउन नसकेकाले अमेरिकाका लागि यो युद्ध व्यर्थ साबित भइरहेको छ ।

उल्टो, अमेरिकाको साझेदार तथा आफ्नो प्रतिद्वन्द्वी साउदी अरब यमन युद्धको भासमा भासिएको देखेर इरान दंग परेको छ । तर बाइडन प्रशासन इरानको रणनीतिक विजय हुँदा पनि युद्ध अन्त्य गराउनका लागि गम्भीर छैन किनकि हतियार उद्योगप्रति ऊ बफादार छ । युद्ध लम्बिरहेमा हतियार उद्योगले नाफा कमाउन पाइरहन्छ । 

salt training

कमेन्ट गर्नुहोस्