![हिउँले ढाकेको चन्द्रागिरिमा पर्यटककाे मस्ती [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Pro_Ktm_Snowfall_Chandragiri1_YKpPBw1tQS.jpg)
शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडामा हिमपात भएको छ ।
राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रहेको उक्त स्थानमा शुक्रवार बिहानैदेखि हिमपात भएको हो ।
चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए ।

गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो । पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए ।
पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ ।
यस्तै हिउँ परेका कारण त्रिभुवन राजपथसमेत अवरुद्ध हुन पुगेको छ । शुक्रवार रातिदेखि परेको वर्षाका कारण उक्त राजपथअन्तर्गतको सिमभन्ज्याङमा बाक्लो हिँउ पर्दा बाटो अवरुद्ध भएको हो ।
हिमपातका कारण काठमाडौंबाट हेटौँडातर्फ प्रस्थान गर्ने सवारीसाधन बाटोमा रोकिएको प्रहरीले जनाएको छ ।









