
मनहरी गाउँपालिकाको आर्थिक सहयोग र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग तथा योग्सी युनिभर्सिटी र चुङमुङ कोग कोरियाबाट प्राप्त उपकरणको सहयोगमा सञ्चालित सामुदायिक आँखा केन्द्र मनहरी उद्घाटन भएको छ ।
मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र नेपाल आँखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले केन्द्रको सयुंक्त रूपमा उद्घाटन गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखा मनहरी र हेटौंडा सामुदायिक आँखा अस्पतालको समन्वयमा साप्तााहिक रूपमा सञ्चालित आँखा केन्द्रलाई गाउँपालिकाको समन्वयमा दैनिक रूपमा सञ्चालन गर्न लागिएको छ ।
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले आँखा स्वास्थ्यको क्षेत्रमा विकास गर्न मनहरी गाउँपालिका सहयोग गर्न तत्पर रहेको बताए ।

नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठले तिलगंगा सदैव अन्धोपन निवारणका लागि लागिपरिरहेको र मकवानपुरमा पहिलो पटक आँखा स्वास्थ्यको सेवा मनहरीबाट शुरू गरेको बताए ।
श्रेष्ठले आफ्ना बुवाको स्मृतिमा स्थापित संस्था पञ्च सिद्धि फाउन्डेसनमार्फत २५ जना विपन्न बिरामीलाई निःशुल्क मोतिविन्दुको शल्यक्रिया गर्न सहयोग गर्ने बताए । तिलगंगा आँखा कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, बाह्य कार्यक्रम प्रबन्धक डा. मोहनकृष्ण श्रेष्ठ, मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष ठाकुर तितुगं लगायतले मन्तव्य व्यक्त गरेका थिए ।