
सुक्ष्म खाना दीर्घ जीवन अर्थात् किस्ता–किस्ताको खाना नै स्वास्थ्यवद्र्धक मानिन्छ । नेवारी पाककलाको आफ्नै पहिचान छ ।
नेवारी पकवानको इतिहास पनि पुरानो छ । नेवारहरू खानाका निकै सौखिन पनि हुन्छन् ।
सयौं नेवारी परिकारमध्ये च्वःहि पनि एक दुर्लभ खानामा पर्छ र स्वास्थ्यका हिसाबले पनि राम्रो मानिएको छ । च्वःहि राँगाको रगतमा मिसिएको सेतो रगतलाई हाडेमासीमा मिसाएर पकाउने लोकप्रिय परिकार हो । यो परिकार बच्चादेखि बूढापाकालाई निकै मन पर्छ ।
च्वःहि बनाउन चाहिने सामग्रीः
राँगाको रक्तको सेतोभाग (स्वेत रक्त) १ लिटर, तोरीको तेल ३० एमएल, अन्डा २ पिस, अदुवा लसुनको पेस्ट १ र आधा चिया चम्चा, राँगाको हाडेमासी (बोन म्यारो) १५० ग्राम, जिराको धुलो आधा चिया चम्चा, खुर्सानीको धुलो आधा चिया चम्चा, धनियाँको धुलो आधा चिया चम्चा, नून स्वादअनुसार, गरम मसलाको धुलो आधा चिया चम्चा, बेसार पिन्च ।
च्वःहि बनाउने विधिः
च्वःहि बनाउन एउटा स्टिलको सफा बाटामा राँगाको सेतो रगत हाल्ने । (ताजा राँगाको रगतलाई केहीबेर रेस्ट गरेर राख्नासाथ रातो जम्छ भने सेतो भाग पिधमा छुट्टिएर बसेको हुन्छ) ।
दुवै अन्डा फुटाएर हाल्ने र दिएका सम्पूर्ण धुलो मसला र नून हाल्दिने । अदुवा लसुनको पेस्ट पनि हालेर राम्ररी चलाउने र स्लाइस गरेको बोन म्यारोलाई सबैतिर पर्ने गरी टपिङ गर्ने ।
भुटेको तोरीको तेललाई सबैतिर पर्ने गरी चम्चाले छरिदिने र लेबल मिलाएर बाटाको वरिपरि पुछ्ने । मःम बफ्याउने स्टिमरमा बाटालाई नहल्लाइ राख्ने र छोपेर १२–१५ मिनेट मज्जाले बफ्याउने ।
राम्ररी पाकेपछि बाटालाई घोप्ट्याएर च्वःहिलाई प्लेटमा खन्याउने । अब आफ्नो इच्छाअनुसार सेभमा काटेर तातोतातो सर्भ गर्ने । राँगाको रगतको च्वःहि बनाएजस्तै सीको सेतो रगतको या बंगुरको सेतो रगतको पनि च्वःहि यही विधिअनुसार बनाउन सकिन्छ ।