१९ असार २०८३, शुक्रबार

सबस्टेशन बन्द

फागुन २०, २०७८
सबस्टेशन बन्द

बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ । 

विद्युत्को भार थेग्न नसकेपछि सो सबस्टेशनमा जडान भएको एकमात्र तीन एमबिए क्षमताको ट्रान्सफर्मर २०७८ जेठमा जलेको थियो । यहाँबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा केन्द्रीय लाइनको विद्युत् वितरण हुँदै आएको थियो । दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना बन्द भएपछि १३.६ मेगावाट क्षमताको थापाखोला र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ३३÷११ केभीमा सिङ्क्रोलाइज (आन्तरिकीकरण) गरी घरापबाट राष्ट्रिय प्रसारणमा जोडिएको थियो । थापाखोलाको विद्युत्लाई चोखोपानी सबस्टेशनमा चार्ज गरिएको छ । घलेम्दीको बिजुलीलाई दानास्थित सबस्टेशनमा लगिएको छ ।

तातोपानी साना जलविद्युत् र सबस्टेशनका प्रमुख शिवप्रसाद नेपालले वैकल्पिक सबस्टेशनबाट विद्युत् वितरण गर्नुपरेको बताए। “लामो समयको प्रयासपछि ६.८ एमबिए क्षमताको ट्रान्सफर्मर ल्याए पनि क्रेन नहुँदा त्यसलाई उचालेर चौकामा राखी जडान गर्न सकेका छैनौँ”, उनले भने, “दानाको २२०÷१३२ केभिए सबस्टेशनको ३३÷११ केभिए सबलाइनबाट पर्वतको मिलनचोक सबस्टेशनबाट विद्युत् वितरण गरिएको छ ।”

पुराना र जीर्ण ३३÷११ केभिए ट्रान्सफर्मर र प्रसारण लाइनमा बढी क्षमताको विद्युत् पठाइएकाले भार थेग्न नसकी ट्रिप (सबस्टेशनमा विद्युत् काटिने) समस्या थियो । सबस्टेशन बन्द भएपछि लामो दूरीमा वितरण गर्दा विद्युत् आपूर्ति अनियमित हुन थालेको अन्नपूर्ण–३ दानाका गङ्गा पुनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्