३० जेठ २०८३, शनिबार
परिकार

मुडेको आलु र कोइरालोको अचार कसरी बनाउने ?

फागुन २१, २०७८
मुडेको आलु र कोइरालोको अचार कसरी बनाउने ?

विश्वमा २०० थरिका आलु पाइन्छन् र नेपालमा मात्र ३० थरिका आलु उपलब्ध छन् । आलु सम्बन्धी अनुसन्धान गरिरहेकी फ्रान्सेली नागरिक मथिल्डे भन्छिन्, ‘पहाडी र हिमाली आलु राम्रो हुन्छ ।’

मुडेको आलु र पश्चिम दार्चुलाको आलु उत्तम रहेको उनको भनाइ छ । आलु उत्पादन गर्न जति समय लगायो, उति राम्रो हुने उनको अनुसन्धानले बताउँछ ।

मध्यम एउटा आलुमा ११२ क्यालोरी ऊर्जा हुन्छ । आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ ।

सय ग्राम आलुको खानयोग्य भागमा २२.९ प्रतिशत कार्बोहाइड्रेट, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम बोसो, ०.६ ग्राम मिनरल्स, .०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस हुन्छ । यस्तै प्रतिसय ग्राम आलुमा भिटामिन ‘ए’ ४० आईयू र फलाम ०.७ मिलिग्राम समेत पाइन्छ । 

राजधानी नजिक साली नदी आसपासमा उत्पादन हुने आलु पनि राम्रो मानिन्छ । रामेछापको थान्सिङ र सिन्धुपाल्चोक मुडेको आलुलाई पनि उत्तम आलु मानिएको छ । सोलुखुम्बुमा पनि आलु त्यतिकै प्रसिद्ध छ ।

कोइरालोलाई संस्कृतमा कोविदार भनिन्छ र यो फूल फुल्ने वर्गमा पर्ने एक वनस्पति हो । यो वनस्पति दक्षिणी चीनदेखि दक्षिण एसियाका राष्ट्रहरू पाकिस्तान, भारत तथा नेपालको रैथाने प्रजाति हो । यो पतझड वर्गको वनस्पति हो । यसलाई डालेघाँसको रूपमा हांगा प्रयोग गरिन्छ भने फूल अचार तथा तरकारीको रूपमा प्रयोग गरिन्छ । 

कोइरालो र आलुको अचार निकै पुरानो रैथाने परिकार हो, जुन पूजाआजा हुँदा या श्राद्धमा बनाइने चलन छ । होटल–रेस्टुरेन्ट र घरको भान्सा आलु विना अधुरो रहन्छ । विश्वमा सबैभन्दा धेरै परिकार बनाउन मिल्ने पनि आलुकै हो । नेपाली मौलिक खानामा पनि आलुका धेरै परिकार छन् । 

यहाँ हामीले हाम्रो मौलिक मुडेको आलु र कोइरालोको अचारका विषयमा पूर्ण चर्चा गरेका छौं ।

मुडेको आलु र कोइरालोको अचार बनाउन चाहिने सामग्री :

मुडेको रातो आलु आधा किलो, कोइरालोको फूल ३०० ग्राम, नून स्वादअनुसार, कागतीको रस या चुक अमिलो ३ चिया चम्चा, मेथी १ चिया चम्चा, तिल या सिलमको छोप ५ टेबल चम्चा, हरियो खुर्सानी ६ पिस, प्याज २ पिस, हरियो छ्यापी आधा मुठा, तोरीको तेल ३ चिया चम्चा, हरियो धनिया आधा मुठा, खुर्सानीको धुलो आधा चिया चम्चा, बेसार आधा चिया चम्चा ।

मुडेको आलु र कोइरालोको अचार बनाउने विधि :

आलु उसिनेर चिस्याउने र डाइसमा काट्ने, कोइरालोको फूललाई बफ्याएर चिस्याउने । 

माथि उल्लेखित सामग्री हालेर मोल्ने र अन्त्यमा तोरीको तेल तताएर मेथि फुराइ बेसार, चिरेको हरियो खुर्सानी हालेर झान्ने । हरियो धनिया छ्यापी काटेर माथिबाट छर्कने र सर्भ गर्ने । यो अचार खाजाको रूपमा चिउरासँग, स्न्याक्सको रूपमा या भुजासँग पनि लिन सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्