१२ असार २०८३, शुक्रबार

नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा

फागुन २८, २०७८
नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा

सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए ।  

 त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए । आठ जना नेपाली विद्यार्थीलाई पढाइमा कुनै दुःख नहोस् भनेर उनीहरुको साथमा १७ जना सुसारे पनि जापान पठाइएको थियो । उनीहरुको गाइडका रुपमा स्वामी पुरानन्द गिरी पनि साथमा थिए । यसरी पहिलोपटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरुमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इञ्जिनीयरिङ, देव नरसिंह राणा र बालनरसिंह रायमाझी खनिज, दीप नरसिंह राणा कृषि, हेमबहादुर राजभण्डारी मेकानिकल इञ्जिनिरिङ, रुद्रलाल सिंह व्यावहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स (माटोको भाँडा, पछि रेशम खेती) बारे थिए ।

नेपाली विद्यार्थी जापानमा उच्च शिक्षा पढ्न जान थालेको १२० वर्ष पुगेको अवसरमा जापानमा उच्च शिक्षा पढेर फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जुआन’ले आज राजधानीमा अन्तरक्रियाको आयोजना ग¥यो । कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल र जापानबीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै कोरोना महामारीका कारण विगत दुई वर्षदेखि जापानमा पढ्न जान नपाएका नेपाली विद्यार्थीहरुका लागि सोमबार १४ मार्चदेखि राजदूतावासले सहज बनाउने बताए । पछिल्लो समय नेपाली युवा विद्यार्थीहरु अध्ययनको लागि जापानमा आर्कषित हुन थालेको राजदूत किकुताको भनाई थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्