२८ असार २०८३, आइतबार

मिथिलामा ३ दिनसम्म होली मनाइँदै

मिथिलामा ३ दिनसम्म होली मनाइँदै
फाइल फोटो

मधेश प्रदेशमा यसपालि लगातार ३ दिन ‘होली’ पर्व मनाइने भएको छ ।

तिथि र मध्यमा परिक्रमाका कारण गर्दा यसपालि लगातार ३ दिन पर्वको तयारी देखिएको हो ।

मधेशका पर्वते समुदायले बिहीवार पूर्णिमाका दिन ‘होली’ मनाइरहेका छन् भने मधेश प्रदेशका मूल मधेशीले पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन् ।

मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने अर्को परम्परा छ ।

यसअनुसार बिहीवार जनकपुरधाम आइपुगेको  परिक्रमा शुक्रवार अन्तर्गृह परिक्रमा गरेर शनिवार होली मनाउने तयारीमा छ ।

छाड्दो पूर्णिमा तिथिमा पर्वते समुदायले र मधेशी समुदायले उदाउँदो पूर्णिमा अर्थात् चैत कृष्ण प्रतिपदाका तिथिमा होली मनाउने परम्परा भए पनि जनकपुर क्षेत्रमा अन्तर्गृह परिक्रमाको भोलिपल्ट पर्व मनाइने गरिन्छ । यसअनुसार शनिवार पनि होली खेलिने भएको छ ।

‘माध्यमिकी परिक्रमाका यात्री डोलासहित बिहीवार जनकपुर आए, अब भोलि अन्तर्गृह परिक्रमा हुनेछ, त्यसैले यहाँ शनिवार होली मनाइने छ,’ मोफसलका  पत्रकार वीरेन्द्र रमणले भने । 

परिक्रमासँग सम्बन्धित भएर जनकपुर क्षेत्रमा पर्वको निर्धारण गरिन्छ भने अन्य क्षेत्रका आम मधेशी पूर्णिमाको भोलिपल्टै ‘होली’ मनाउँछन् । ‘आज पूर्णिमाका दिन पर्वते समुदायका मधेशी पर्व मनाउँदैछन्, हामी मूल मधेशी भोलि (शुक्रवार) मनाउँछौं,’ स्थानीय भङ्गाहा–४ का जवाहर महतोले भने ।

तिथि घटबढ र परिक्रमा परम्पराले पर्व लगातार ३ दिन परे पनि यहाँ सांस्कृतिक घुलमिलले सबै ‘होली’ मा मिसिन्छन् । मधेश बिहीवारदेखि नै होलीको रंगमा रंगिँदो छ । यो क्रम अब शनिवारसम्म रहनेछ ।

पर्वलाई सभ्य र शालीन ढंगले मनाउन प्रशासनिक निकाय र सामाजिक संघसंस्थाले आग्रह गरेका छन् । ‘होली’ सत्य र अहिंसाको प्रतीक पर्व भएकाले जबरजस्ती रंग हाल्ने, लोला हान्ने र अरुलाई बाधा पर्ने गरी मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पक्षलाई निरुत्साहित गर्न पर्ने सबै निकायले आग्रह गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्