
संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीहरूले भेटवार्ता गरेका छन् ।
काउन्सिलका अध्यक्ष डा. असिफ अली सिद्दिकी नेतृत्वमा नेपाली व्यवसायीहरूले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विदेशमा नेपाली उत्पादन र सेवाको बजार विस्तार गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।
वैदेशिक रोजगारमा जाने अदक्ष श्रमिकहरूले विभिन्न समस्या झेल्दै आएको भन्दै उनले आवश्यक सीप-दक्षताको विकासमा पनि सरकारले ध्यान दिनुपर्ने बताए ।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित र सुरक्षित गर्न आफू प्रयत्नशील रहेको बताए । मन्त्री श्रेष्ठले विदेशमा नेपालीले आर्जेको सीप र पुँजी नेपाल भित्र्याउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
नीतिगत र व्यवहारिक पक्षमा लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
व्यवसायीहरूले यूएईमा भिजिट भिसाबाट सिर्जित समस्याको उपचारमात्र होइन, निर्मुल नै पार्नुपर्ने बताएका थिए ।
भिजिट भिसासम्बन्धी समस्या समाधानका लागि यूएई सरकारसँग मिलेर काम गर्ने बताउँदै मन्त्री श्रेष्ठले सकेसम्म यूएई मै रोजगारी, ओभरस्टे भएर धेरै शुल्क बुझाउनुपर्ने भएकाहरूलाई मिनाहा गर्न र नेपाल लैजानैपर्नेहरूलाई उद्धारमा सहयोग गर्ने प्रतिबद्धता यूएई सरकारले जनाएको बताए ।
नेपाली बिजनेस काउन्सिलका पदाधिकारीहरूले यूएईमा व्यापारको राम्रो अवसरका साथसाथै यसका चुनौतीका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।
नेपाली बिजनेस काउन्सिल यूएईको दुबईमा व्यापार गरिरहेका नेपाली व्यवसायीहरूको सरकारी निकायमा दर्ता भएको व्यापारिक संस्था हो ।