१२ साउन २०८३, मंगलबार

विराटनगरको मेयर बन्न केन्द्रीय नेता, प्रदेश सांसददेखि र मन्त्रीसम्म लाइनमा !

चैत ६, २०७८
विराटनगरको मेयर बन्न केन्द्रीय नेता, प्रदेश सांसददेखि र मन्त्रीसम्म लाइनमा !

स्थानीय तहको चुनाव नजिकिँदै जाँदा उम्मेदवार बन्न होडबाजी चलेको छ ।

अधिकांश स्थानमा बहालवाला जनप्रतिनिधि र पहिलेका उम्मेदवारहरूले दोहोरिन बल गरिरहे पनि केन्द्रीय नेतादेखि नयाँ अनुहार समेत टिकट पक्का गर्न दौडधूपमा लागेका छन् ।

आकांक्षीहरूलाई अहिले टिकटका लागि नेतालाई खुशी पार्न र जनताकोमा जान भ्याइनभ्याइ छ ।

मोरङमा विशेष गरी विराटनगर महानगरपालिका र विकासोन्मुख नगरपालिकाहरूमा उम्मेदवारीका लागि धेरै दाबेदार देखिएका छन् ।

राजनीतिको उर्बरभूमि विराटनगर गिरिजाप्रसाद कोइरालादेखि मनमोहन अधिकारीसम्मका नेताले राजनीति गरेको थलो हो ।

विराटनगरको मेयर बन्न मन्त्री, केन्द्रीय नेतादेखि प्रदेश सांसदसम्म दौडमा छन् ।

कोइराला परिवारको राजनीतिक विरासत जोडिएको विराटनगरलाई कांग्रेसभित्र विशेष महत्त्वका साथ हेर्ने गरिएको छ ।

यसपटक विराटनगर महानगरमा मेयरको टिकट कसलाई दिने भन्ने निर्णय लिन कांग्रेसलाई मुस्किल छ । कांग्रेस महाधिवेशनमा सर्वाधिक मत पाएर केन्द्रीय सदस्य भएकी डिला संग्रौला यसपटक विराटनगरको मेयरको आकांक्षी देखिएकी छन् ।

‘विराटनगरबासीले यसपटक तपाईं मेयर बन्नुपर्छ भन्नुभएको छ,’ प्रतिनिधि सभा सदस्य समेत रहेकी संग्रौलाले भनिन् ।

कांग्रेसबाट बहालवाला मेयर भीम पराजुली र नागेश कोइरालाको पनि मेयरको उम्मेदवारका रूपमा चर्चामा छ । दुवैजना टिकट पक्का गर्न दौडधूपमा छन् ।

एमालेबाट पूर्व सामाजिक विकास मन्त्री समेत रहेका नेता जीवन घिमिरेको नाम चर्चामा छ ।

पार्टीले निर्णय गरेमा आफू मेयर बन्नका लागि सक्षम रहेको घिमिरे बताउँछन् ।

एमाले मोरङका एक नेताका अनुसार विराटनगरमा उम्मेदवार बनाउन एमालेभित्र सफ्ट लाइनर (नरम स्वभावको) नेताको खोजी भइरहेको छ ।

अघिल्लोपटक उम्मेदवार बनेका विनोद ढकाल अलि कडा स्वभावका छन् ।

उनकै कडा स्वभावका कारण नरम स्वभावका उम्मेदवारको खोजी भइरहेको ती नेताले बताए ।

घिमिरे नरम स्वभावका नेता मानिन्छन् ।

जनता समाजवादी पार्टी (जसपा) का नेता तथा १ नम्बर प्रदेशका स्वास्थ्यमन्त्री जयराम यादवको नाम पनि मेयरको उम्मेदवारका रूपमा चर्चामा छ ।

यादव आफू मेयरको बलियो प्रतिस्पर्धी भएको बताउँछन् ।

संविधान सभा सदस्य समेत रहिसकेका उनी गत चुनावमा प्रदेश सभा सदस्य चुनिएका थिए ।

अहिले उनी सामाजिक विकासमन्त्री हुँदै स्वास्थ्यमन्त्री बनेका छन् ।

गत चुनावमा तेस्रो स्थानमा रहेको जसपा (तत्कालीन संघीय समाजवादी) ले कांग्रेस महाधिवेशनको असर तलसम्म पुगेको र एमाले विभाजित भएको कारण देखाउँदै माओवादी एवं एकीकृत समाजवादीको सहयोगमा चुनाव जित्ने दाबी गर्दै आएको छ ।

जसपामा मेयरका आकांक्षी अन्य नेता पनि छन् ।

माओवादी र समाजवादीले भने चुनावी तालमेलमा अन्य दललाई नै सघाउनुपर्ने सम्भावनाका नेताहरूमा उम्मेदवारको त्यति धेरै चर्चा सुनिन्न ।

सुन्दरहरैँचामा एमालेलाई तनाव

मोरङमा विराटनगरपछि विकासोन्मुख शहरका रूपमा रहेको सुन्दरहरैँचामा पनि चुनावी माहोल रोचक छ ।

पूर्व राज्यमन्त्री समेत रहिसकेका राजकुमार ओझा एमालेबाट मेयरको उम्मेदवार बन्ने दौडमा छन् ।

नगर कमिटीको बैठकमा आफू नउठ्ने संकेत गरे पनि उनले पूर्व मुख्यमन्त्री भीम आचार्यलाई भेटेर टिकटका लागि पहल गरिदिन भनिसकेको नगर कमिटीका एक पदाधिकारीले दाबी गरे ।

नगर कमिटीमा ओझाले आफू उठ्दा पूर्व सांसद चन्द्र गुरुङ हराउन लाग्ने भएकाले चुनाव नउठ्ने बताएका थिए । तर, अहिले टिकटका लागि लबिङ शुरू गरेपछि एमालेभित्र खैलाबैला छ ।

गुरुङ भने अहिले एकीकृत समाजवादीमा लागेका छन् ।

गत चुनावमा आफूले टिकट नपाएपछि असन्तुष्ट बनेका ओझाले एमाले उम्मेदवार केदार गुरागाईंलाई खुलेर सहयोग नगरेको चर्चा हुने गर्छ ।

ओलीले प्रदेश सभाको टिकट दिने आश्वासन दिए पनि ओझा निष्क्रिय बसेका थिए ।

परिणाम स्वरूप आफ्नो गढ दाबी गर्दै आएको सुन्दरहरैँचामा एमाले पराजित भएको थियो ।

अहिले त्यहाँ अर्जुनराज अधिकारी, अजम्बर राई, नागेश पोखरेल, केदार गुरागाईं, सुरेन्द्रबहादुर थापा लगायतका पनि मेयरका लागि आकांक्षी छन् ।

salt training

कमेन्ट गर्नुहोस्