काठमाडौं, २४ असार— हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको तालिका नजिकिँदै छ । महिलाले महत्वका साथ मनाउने तीज विशेष हुने गरेको छ ।
तीजमा आफ्ना पतिको सुस्वास्थ, दीर्घायुको कामना गर्ने र अविवाहितहरुले राम्रो पतिको कामना गर्दै व्रत पूजा गर्ने धार्मिक व्यवस्था छ । तर यो सँगसँगै तीज सांस्कृतिक पर्व पनि हो । महिलाहरुले आफूले भोगेका पीडाहरुलाई गीतको माध्यमबाट समेत नाच गान गरेकार मनाउँने गरेका छन् ।
शुरुमा महिलाले मात्र तीजका गीत गाउने प्रचलन रहेपनि अहिले भने तीजका गीतलाई पुरुषले पनि गाउने गरेको पाइन्छ ।
पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा जस्ता गायक तीजका गीत गाएर सधै चर्चामा रहे । तीजलाई पनि दोहोरी गीत बनाएर गाउने प्रवृत्ति विकाश भयो र त्यसलाई जनताले रुचाए पनि । अहिले भने ती गीतले उठान गरेको बिम्ब पनि फरक हुन थालेको छ ।
इतिहास हेर्ने हो भने बुहारीले आफ्ना पीडालाई पोख्ने माध्यमका रुपमा लिइन्थ्यो तीजलाई ।
अहिले भने यसको रूप पनि पृथक हुँदै गएको छ । केही वर्षअघिदेखि युवा स्वर पनि सुनिन थालेका तीज गीतमा गीतकै माध्यमबाट युवाले आफ्ना पीडालाई पनि प्रस्तुत गर्न थाले ।
पत्नी हेपिएका, छोराले विदेशमा गएर भोग्नुपरेका पीडासमेत तीज गीत मार्फत आउन थालेका थिए कुनै बेला । आजभोलि भने तीजका गीतमा विरहका भाका कमै सुनिन पाइन्छन् । ठट्यौली भने धेरै सुन्न पाइन्छन् ।
तीज गीतमा प्रेमका कुरा मात्र हुन थालेको छैन । पहिले तीज धार्मिक अर्थले मनाइन्थ्यो भने अहिले मनोरञ्जनका लागि लागि मनाइन्छ भन्ने आरोप पनि लाग्ने गरेको छ महिलावर्गलाई । महिनौं अघिदेखि दर खाने प्रचलनलाई कसैले तीजको माध्यमबाट महिला वर्गको मित्रतालाई अझै गहिरो बनाएको छ भन्ने धारणा एकथरीको छ भने अर्काथरी यसलाई विकृतिका रुपमा पनि लिन्छन् ।
चर्चित लोकगायक पुरुषोत्तम न्यौपानेले अब आफू तीजका गीतमा त्यति सक्रिय नहुने बताउँछन् । किन त ? न्यौपानेको बुझाइमा पछिल्लो समय तीज गीतमा समेत विकृति भित्रिएको छ । तीजको जुन भावना र संस्कृति थियो, त्यो नै ओझेलमा परेको उनको धारणा छ । अब उनका तीजे गीत त्यति आउने छैनन् ।
लोकगीतमा पनि चटपटे गीत गाउने पशुपति शर्माका तीजे गीत पनि उस्तै चटपटे नै छन् । उनका गीतमा विरह भेटिन्न, बरु समाजप्रतिको व्यङ्ग्य भने पक्कै भेटिन्छ । यो वर्ष बजारमा आउन लागेका तीजका गीतमा उनले समाजप्रतिको व्यङ्ग्य प्रस्तुत गरेका छन् । यस वर्ष बजारमा आएका केही गीतमध्ये भविष्यवाणी, मेरो छोरो दुई नम्बरी जस्ता गीत अहिले नै चर्चामा आइसकेका छन् ।
अहिलेका तीज गीतमा विदेशका पीडालाई मुख्य विषय बनाइएको छ । धेरैजसो गीतमा श्रीमतीका विलासिता र श्रीमानका पीडालाई समेत तीजको भाव बनाइएको छ । यस्ता गीत गाउनेमा देवी घर्ती, मञ्जु विक पनि देखिएका छन् ।
अर्का गायक डिल्लीराम रेग्मीले आफ्नो तीजको गीतमार्फत परिवारको पीडालाई तीजको गीत मार्फत प्रस्तुत गरेका छन् । उनका गीतले गीतमार्फत आफ्ना बा–आमालाई सधै सम्मान गर्नुपर्ने भाव व्यक्त गरेका छन् ।
रेडियो नेपालको जागिर र राजनीतिले भन्दा धेरै कोमल ओलीलाई उनका गीतले सधै चर्चामा ल्याइरहन्छ । ‘पोइल जान पाम्’ भन्दै गीत गाएर खुबै चर्चामा आएकी ओलीले राजनीतिमा लागेकै कारण आफूलाई पोइ (पति) नचाहिएको भन्दै तीज गीत बजारमा ल्याएकी छिन् । उनको गीत यतिबेला युट्युबमा हिट छ । उनको गीत युट्युबमा हिट छ । त्यस्तै प्रज्ञा ओलीसँगको गीत ‘म त नाच्दिन के रे’ पनि चर्चामा छ ।
अहिलेसम्म तीजका गीतमा पहिलेको जस्तै अश्लीलता भने कमै भेटिएको छ । त्यसो त तीज नजिकिँदै गर्दा धेरै गीत बजारमा आउन बाँकी नै छन् । अहिलेसम्मको स्थिति हेर्दा भने त्यति धेरै अश्लीलता गीतमा भेटिन्न । लोकगायकको समूहले यस्ता गीत नगाउने योजना पनि बनाएको छ ।
तीज गीतमा प्रेमका कुरा मात्र अटाएका छैनन् । गीतमा मुग्लिनको धूलोसमेत गीतमा अटाएका छन् । माइती भन्छन् किन आइती बोलको गीतमा पशुपति शर्मा र जुना श्रीस मगरले विहे पछि माइतीले किन आइ भन्ने खालको भावना राखेका छन् आफ्नो गीतमा ।
केही गीतमा घरभित्रका समस्यालाई कथा बनाइएको छ । बुढीको व्यवहार बदलिएको, पत्नीलाई अर्कैलाई आँखा लाएको कुरा पनि तीजका गीतमा अटाएका छन् ।
तीजका गीत हेर्दा यस्तो लाग्छ, कुनै बेला सासूले बुहारीलाई गरेको दमनका गीत बन्थे भने आजभोलि बुहारीले सासूलाई हेपेका गीत बन्न थालेका छन् । सासूले बुहारीलाई हेपेका गीत विरलै सुनिन थालेका छन् ।