
पर्साको वीरगञ्ज महानगरपालिकाले फोहर व्यवस्थापनका लागि वार्षिक ५ करोड रुपैयाँ विनियोजन गरेको छ तर सरसफाइ हुन सकेको छैन । महानगरले सरसफाइमा ध्यान नदिँदा गर्मीयाम शुरू भएसँगै लामखुट्टेको टोकाइबाट लाग्ने रोगको जोखिम बढेको छ ।
महानगरले ‘स्वच्छ सफा हराभरा वीरगञ्ज शहर’ नारा राखे पनि व्यवहारमा काम नहुँदा सुन्दर शहरको सपना अस्तव्यस्त हुनुका साथै शहर दुर्गन्धित रहेको छ ।
महानगरले व्यवस्थित किसिमले नियमित सरसफाइ र उचित ढल निकासको व्यवस्था नगर्दा महानगरकै कार्यालय छेउछाउ समेत फोहरबाट अछुतो रहन सकेको छैन ।
वडा नम्बर ४ आदर्शनगरका स्थानीय विनोदकुमार गुप्ताले महानगरले फोहर व्यवस्थापनमा खास चासो नदिएको बताए । उनले भने, ‘गर्मीयाम शुरू भयो, साँझ परेपछि लामखुट्टेको टोकाइ धेरै हुने गरेको छ, महानगरले अहिलेसम्म लामखुट्टेको टोकाइबाट लाग्नसक्ने रोगको न्युनीकरणमा खासै ध्यान दिएको छैन ।’ अघिल्ला वर्षहरू जस्तै यस वर्ष पनि डेंगु, मलेरिया जस्ता रोगको जोखिम बढिरहेको उनले बताए ।
वडा नम्बर ५ गण्डकका स्थानीय लालबाबु प्रसादले महानगरका अधिकांश क्षेत्रमा ढलमा फोहर जमेर बसेको, फोहर पानीमा लामखुट्टे धेरै भएर साँझपख टोकेर हैरान गरेको उनले बताए । होटल, लज, रेस्टुराँ, कर्पोरेट अफिस, बैंकबाट निस्केका फोहरलाई महानगरले उचित व्यवस्थापन नगर्दा शहर नै दुर्गन्धित हुने गरेको उनले बताए ।

वडा नम्बर १० आदर्शनगरकी स्थानीय वर्षा श्रीवास्तवले गर्मी शुरू भएसँगै लामखुट्टे आउन थालेका बताइन् । ‘घरमा २ साना छोराछोरी छन्, हामी त जसोतसो गरेर लामखुट्टे भगाउला तर साना छोराछोरीलाई केही होला कि भन्ने डर धेरै लाग्छ,’ उनले भनिन्, ‘वीरगञ्ज अन्य ठाउँभन्दा जाडो समयमा चिसो र गर्मीयाममा धेरै गर्मी हुने ठाउँ हो ।’ प्रदेश सरकार र स्थानीय सरकार भएको अनुभूति गर्न नपाएको उनले बताइन् ।
वीरगञ्ज महानगरपालिका २ नम्बर प्रदेशको एक मात्र महानगर हो । महानगरले फोहर व्यवस्थापनका लागि वार्षिक ५ करोड रुपैयाँ बजेट विनियोजन गर्ने गरेको बजेट शाखा प्रमुख हरिशंखर कुर्मीले बताए । उनले भने, ‘महानगरले फोहर संकलनबाट वार्षिक ५०–६० लाख रुपैयाँ राजस्व प्राप्त गर्र्ने गरेको छ ।’ फोहर संकलनबाट सोचेअनुरूप राजस्व प्राप्त गर्न नसके पनि महानगर फोहर व्यवस्थापनका निम्ति लागिरहेको उनले बताए ।
महानगरका सरसफाइ शाखा प्रमुख सरफुडीन मियाले महानगरले पहिलेको तुलनामा फोहर व्यवस्थापनमा विशेष ध्यान दिएर विभिन्न कार्यक्रम गरिरहेको बताए ।
उनले भने, ‘महानगरले ल्यान्डफिल साइड व्यवस्थापन, फोहर प्रशोधन केन्द्र सञ्चालन लगायत विविध कार्य गरिरहेको छ ।’ मियाले व्यवस्थित ढल निकासका निम्ति पनि कार्यहरू गरिरहेको बताए ।

उनले भने, ‘ढल निकास र ढलको बीच भागमा जमेर बसेको फोहर निकाल्न शुरू गरिएको छ तर आज निकाल्यो, भोलि त्यही ठाउँमा सर्वसाधारणले बोत्तल, प्लास्टिक लगायत फाल्दा समस्या भइरहेको छ ।’ ठोस फोहर जमेर बस्ने र ढल सहज रूपमा बग्न नपाउँदा दुर्गन्धित हुने गरेको उनले बताए ।
गर्मीयाममा जमेर बसेको पानीमा लामखुट्टे धेरै बस्नुका साथै लामखुट्टेको टोकाइबाट रोग लाग्नसक्ने भन्दै उनले ढलको सरसफाइ र महानगरभित्र लामखुट्टे बढी हुने ठाउँमा विषादी छर्कन मेयरबाट निर्देशन भइसकेको बताए ।